१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

झलनाथ भन्छन्, 'केपीले किन अमानवीय व्यवहार देखाउँछन्, मलाई आश्चर्य लागेको छ' 

‘देशका निम्ति लड्ने कम्युनिष्ट साथीहरुमाथि भएको कारबाही केपीको हिटलरी हर्कत हो, यिनको कारबाहीले रौं पनि हल्लिँदैन ।'
बबिता शर्मा

काठमाडौँ — नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले आफूहरुमाथि कारबाही गरेर केपी ओलीले हिटलरी हर्कत देखाएको बताएका छन् । सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरेको छ ।

झलनाथ भन्छन्, 'केपीले किन अमानवीय व्यवहार देखाउँछन्, मलाई आश्चर्य लागेको छ' 

त्यसलगत्तै कान्तिपुरसँगको कुराकानीमा नेता खनालले देशका निम्ति लड्ने कम्युनिष्ट साथीहरुमाथिको कारबाहीलाई ओलीको हिटलरी र अमानवीय हर्कत भएको बताए ।

‘अहिले केपी ओलीको कुनै खुर्सानी बारी मैले फाँडेको थिइनँ । उनले किन कारबाही गर्नुपर्‍यो ? उनी आफैं अपराध गर्ने, कम्युनिष्ट आन्दोलनलाई ध्यवस्त पार्ने, एकतालाई ध्वस्त पार्ने, राष्ट्रलाई ध्वस्त पार्ने, विदेशीहरुको एजेन्ट भएर हिँड्ने तर देशभक्त, कम्युनिष्ट योद्धाहरु, देशका निम्ति लड्ने साथीहरुलाई कारबाही गर्ने हिटलरी हर्कत हो । अमानवीय र क्रुर हर्कत हो,’ खनालले भने । तर, त्यस्ता कारबाहीको कुनै अर्थ नभएको खनालको भनाई छ ।

खनालको भनाई जस्ताको तस्तैः

म करीब एक महिनादेखि बिरामी छु, सुतिराखेको छु । मलाई देशको पछिल्लो राजनीति बारेमा पनि त्यति थाहा पनि छैन । तर, यो देशको प्रधानमन्त्री जुन प्रकारको क्रुरता, अमानवीयता, हिटलरीपन देखाईरहेका छन्, यो बडो आश्चर्यजनक कुरा भएको छ ।

अहिले केपी ओलीको कुनै खुर्सानी बारी मैले फाँडेको थिइनँ । उनले किन कारबाही गर्नुपर्‍यो ? उनी आफैं अपराध गर्ने, कम्युनिष्ट आन्दोलनलाई ध्यवस्त पार्ने, एकतालाई ध्वस्त पार्ने, राष्ट्रलाई ध्वस्त पार्ने, विदेशीहरुको एजेन्ट भएर हिँड्ने । देशभक्त साथीहरु, कम्युनिष्ट योद्धाहरु, देशका निम्ति लड्ने साथीहरुलाई कारबाही गर्ने हिटलरी हर्कत हो । अमानवीय र क्रुर हर्कत हो ।

म २०२० सालदेखि देशको कम्युनिष्ट आन्दोलनमा निरन्तर लागेर आएको छु । मैले देश, जनता, राष्ट्रको निम्ति जे–जस्ता काम गरेको छु, ती सबै छर्लङ्ग छन् । केपी ओली जस्ता अपराधीले कुनै कारबाही गर्दैमा, अहिले सिकिस्त बिमारी भएर सुतिरहेको अवस्थामा पनि मेरो एउटा रौं पनि हल्लिँदैन । तिनले किन त्यस्ता कारबाही गर्छन्, किन अमानवीय व्यवहार देखाउँछन्, मलाई आश्चर्य लागेको छ । बाँकी कुरा देशले समाल्दै जान्छ । सारा कमरेडहरु हुनुहुन्छ, उहाँहरुले अगाडि बढाउँदै लानुहुन्छ । कम्युनिष्ट आन्दोलन आफ्नै ढंगले दृढतापूर्वक अगाडि बढ्छ ।

मलाई विभाजन शब्द मन पर्दैन । तर, केपी ओलीजस्ता विघटनकारी र दक्षिणपन्थीले पार्टी कब्जा गरेको हुँदा देशको कम्युनिष्ट आन्दोलन एकीकृत भएर पनि फेरि विभाजनतर्फ जान विवश भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?