रुकुम हत्याकाण्डको एक वर्ष, न्यायको पर्खाइमा पीडित परिवार

‘ठूला नेताहरु हत्यारालाई बचाउन लागिपरेका छन्, हामी दलितका लागि को लडिदेला ?’

जाजरकोट र रुकुम पश्चिम — रुकुम हत्याकाण्ड भएको एक बर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन् । एक वर्षदेखि न्यायको लागि जिल्ला अदालत (पश्चिम रुकुम) देखि सर्वोच्च अदालतसम्म धाएका उनीहरु न्याय पाउनेमा अझै विश्वस्त छैनन् ।

रुकुम हत्याकाण्डको एक वर्ष, न्यायको पर्खाइमा पीडित परिवार

भेरी नगरपालिका–४, रानागाउँका नवराज बिकसहित ६ जना युवाको २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा सामूहिक हत्या भएको थियो । घटनामा संलग्नमाथि सजायको सुनाई हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनलाल बिकले बताए । हत्यामा संलग्न ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने भन्दै सोमबार भेरी नदी किनारमा लाखबत्ति बालेर पूजा गरिएको उनले बताए । ‘हत्यारालाई जन्मकैदको सजाय भएको भए छोराको आत्माले शान्ति पाउने थियो,’ उनले भने, ‘हेर्दाहेर्दै एक वर्ष बित्यो, शक्ति र पहुँचको कारण न्याय पाउन ढिलाइ भइरहेको छ ।’

सोमबार नवराजका साथै अन्य मृतकहरु सन्जु बिक, गणेश बुढा, लोकेन्द सुनारका बुवा–आमाले छोराहरुको सम्झनामा लाखबत्ति पूजा गरे । लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘हाम्रो कामनाले हत्यारालाई जन्मकैद होस् ।’

पीडित परिवारका सदस्यहरु न्यायको लागि ४ पटक रुकुम जिल्ला अदालत, ४ पटक उच्च अदालत सुर्खेत र २ पटक सर्वोच्च अदालत पुगेका छन् । घटनाको मुख्य योजनाकार दावी गरिएका प्रकाशी मल्ल समेत ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको मुनलालले बताए । एकपछि अर्को छुट्दै जाँदा पीडितले न्याय पाउने विश्वास पनि घट्दै गएको उनको भनाइ छ ।

छोरा गुमाएको एक वर्ष बित्दासमेत सोमबार नवराजकी आमा उर्मिलाका आँखा रसाएका देखिन्थे । जातभातकै कारण एकमात्र छोरा गुमाउनु परेको उनले बताइन् । ‘ठूला नेताहरु हत्यारालाई बचाउन लागिपरेका छन्, हामी दलितका लागि को लडिदेला ?’ उनले भनिन् ।

रुकुम हत्याकाण्डको एक वर्ष पुगेको दिन सोमबार मृतक छोराहरुको सम्झनामा घटनास्थल भेरी नदी किनारमा लाखबत्ती बाल्दै पीडित परिवार। तस्बीर : भीमबहादुर सिंह/कान्तिपुर ।

कारागारमा २३ आरोपी

हत्या काण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो । तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको छ । ११ जना तारेखमा छोडिएका छन् । अदालतले सुरु थुनछेक आदेशबाट वारदात गर्न षडयन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई १ लाख धरौटीमा, घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो । बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिकालाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो ।

त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर वुढालाई पनि साधारण तारिखमै छाडेको थियो । हत्यामा संग्लग्न मानिसहरु अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशासमेत मरेको मृतक सञ्जु विकका वुवा बलराम विकले बताए ।

अदालती प्रक्रियामा ढिलाइ

जिल्ला अदालत रुकुमपछि उच्च अदालत सुर्खेत हुँदै सर्वोच्च अदालत पुगेको यो मुद्दाको फाइल फेरि रुकुम जिल्ला अदालत आइपुगेको छ । गत वैशाख १९ गते यो मुद्दाको फाइल जिल्ला अदालत आइपुगेको हो । जिल्ला अदालतका निमित्त स्रेष्तेदार लक्ष्मण विकले जिल्ला अदालतमा सक्कल मिसिल आइपुगेको र आदेश अनुसारका अरु काम बाँकी रहेको बताए । जिल्लामा निषेधाज्ञा सुरु भएकै दिन सर्वोच्चबाट मिसिल आएको र थप प्रमाण बुझ्ने तथा साक्षीको काम हुन सकेको छैन । निषेधाज्ञा खुलेपछि यो प्राथमिकतामै रहेको उनले बताए । उच्च अदालतमा न्यायाधीशबीच राय बाझिएपछि मुद्दा सर्वोच्च पुगेको र ढिलाइ भएको उनको भनाइ छ । मुद्दाको फैसला भैसक्नुपर्ने समय भइसकेको भए पनि यो मुद्दा फैसला हुनुमा ढिलाई भएको बताउँछन् अधिवक्ता यक्कबहादुर पाण्डे । जिल्ला अदालतको आदेशविरुद्ध प्रतिवाद उच्च अदालत जानु, उच्च अदालतको राय बाझिएपछि सक्कल मिशिल सर्वोच्चमा पठाउदा प्रक्रिया ढिला भएको उनले बताए ।

यस्तो थियो हत्याकाण्ड

२०७७ जेठ १० गते भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजना बनाए । ४/५ दिनअघि प्रेमिकाले बिहे गरेर लिन आउन भनी फोन गरेको भन्दै नवराजले आफ्ना मन मिल्ने साथीहरुलाई सोती पुगेर केटी भगाउन सहयोग गर्न आग्रह गरेका थिए । नवराजको आग्रहमा उनीसहित १९ जना युवाको टोली सोतीतर्फ गयो ।

भेरी नदीबाट साढे ३ बजे उकालो लागेको उक्त टोली बेलुकी ५ बजे सोतीस्थित प्रेमिकाको घरको ३० मीटर तल पुग्यो । युवाहरुको केटीसँग देखभेट हुन पाएन । युवाहरुलाई तलको बाटोमा आएको देख्न बित्तिकै केटीको आमा प्रकाशी मल्ल गाली गलौजमा उत्रिन् । प्रकाशीले वडा अध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गाउले वोलाउन पनि लगाइन् ।

प्रकाशीको गालीगलौजका साथै गाउँले आउने थाहा पाएपछि युवाहरुको टोली केटीको घरमा नपुगेरै केही नबोली खलंगातर्फ फर्कने क्रममा मध्यपहाडी लोकमार्ग नजिक पुग्न नपाउँदै एक्कासी ६०/७० जनाको समूहले घेरा हालेर नवराजको टोलीमाथि ढुंगामुढा बर्सायो । ज्यान जोगाउन भागाभाग गरेका युवाहरुलाई ढुंगामुढा, हँसिया, चिरपटले प्रहार गर्दै भेरी नदी किनारासम्म लखेटेर चारैतिर घेरा हाले । युवाहरु सोतीगाउँदेखि करिब ३ किलोमिटर तल आएपछि गाउँलेको आक्रमणमा परे । ज्यान जोगाउन भाग्दै गरेका युवाहरुलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटे । गाउँलेहरुको कुटपिट तथा लखेट्याइमा परेका १९ युवामध्ये १ जना फुत्किएर घर आउन सफल भए । कुट्पिटबाट १२ जना घाइते भए । उनीहरु भेरी नदीमा हाम फालेर ज्यान जोगाउन सफल भए । यो हत्याकाण्डमा नवराज बिक, सन्जु बिक, गणेश बुढा, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको हत्या भयो ।

प्रकाशित : जेष्ठ १०, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?