ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने - समाचार - कान्तिपुर समाचार

ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर । तस्बिर : बिजु महर्जन/कान्तिपुर

यादवको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ‘विधानले दुवै अध्यक्षको उपस्थितिमा भएका निर्णयलाई मात्रै मान्छ । उहाँहरू (यादव पक्ष) को बैठक नै वैधानिक छैन भने स्पष्टीकरण दिने कुरै आउँदैन,’ नेता शरतसिंह भण्डारीले भने ।

अध्यक्ष ठाकुरसहितको पूर्वराजपा धार प्रधानमन्त्री ओलीतिर छ । यो पक्षको संसदीय दलमा बहुमत भए पनि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अल्पमत छ । ठाकुर पक्षको आइतबार बबरमहलस्थित कार्यालयमा बसेको बैठकले दुई अध्यक्षबिनाको निर्णय वैधानिक नहुने निर्णय लिएको छ । ‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वराजपा धारले आफूहरूले उठाएका माग पूरा भए सरकारमै सहभागी हुने जनाएको छ । प्रधानमन्त्री ओलीले ठाकुर पक्षको साथ लिन मधेस र थरुहट आन्दोलनका क्रममा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गरेका छन् । नागरिकतासम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ । संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रक्रियामा छन् । ‘यी विषयसमेत सम्बोधन भएपछि सरकारमा जाने नजाने पार्टीले निर्णय गर्छ,’ भण्डारीले भने ।

यता जसपाको यादव पक्षको आइतबार सम्पन्न कार्यकारिणी समिति बैठकले ओली सरकारमा सहभागी भए ठाकुर पक्षलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कोही सदस्य सामेल भए स्वतः निष्काशित हुने प्रस्ट गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा छ । यादव पक्षको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने र पार्टीको निर्णय प्रमाणीकरण गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाविरुद्धको पहिलो वान डेमा बंगलादेश विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो वान डे आइतबार ३३ रनले जितेको छ । खराब सुरुवात गरे पनि खेलमा फर्कन सफल बंगलादेशले पहिले ब्याटिङ गर्दै ६ विकेटमा २ सय ५७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउन अगाडि २ सय २४ रन मात्र बनाउन सक्यो ।

तस्बिर : टाइगर क्रिकेट डट कम

टिमले ९९ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको बंगलादेशका लागि मुसफिकर रहिम र महमुदुलाहले शतकीय साझेदारी गरे र टिमलाई मबजुत स्कोर खडा गर्न मदत गरे । रहिमले सर्वाधिक ८४ रन बनाए भने महमुदुलाहले ५४ रनको योगदान दिए । नियमित अन्तरमा विकेट गुमाएको श्रीलंकाले बलियो जवाफ पेस गर्न सकेन् ।

उसका लागि वानिन्डु हसरंगाले सर्वाधिक ७४ रन बनाए, तर उनलाई कसैले पनि बलियो साथ दिएनन् । बंगलादेशी बलरमध्ये मेहदी हसन घातक सावित भए र उले ३० रनमा चार विकेट लिए । यसअघि खेल सुरु हुन अगाडि भ्रमणकारी श्रीलंकाली टिमका तीन सदस्य कोभिड-१९ बाट संक्रमित भएको पुष्टि भएको थियो ।

यससँगै पहिलो वान डे रद्द हुने डर उत्पन्न भएको थियो । तर अन्यमा खेल हुने निर्णय गरिएको थियो । संक्रमित पाइएमा दुई खेलाडी र एक प्रशिक्षक रहेको बताइएको छ । बंगलादेशी मिडियाले संक्रमित पाइएकामा बलिङ प्रशिक्षक चामिन्दा भास र खेलाडी इसुरु उडान र सिरन फनान्डो रहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×