राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेसको प्रदर्शन- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेसको प्रदर्शन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेस नेपालले प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै युथ कांग्रेसले प्रदर्शन गरेको हो ।

प्रहरीले प्रदर्शनमा उत्रिएका ३ जनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नलिनु, आफूले मार्गप्रशस्त गरिसकेपछि पुनः प्रधानमन्त्रीका लागि दाबी लैजानु, प्रधानमन्त्रीको दाबी परिसकेपछि राष्ट्रपतिले इन्कार गर्नु र ओलीलाई प्रधानमन्त्री कायम राखेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधान उल्लंघन गर्दै राजीनामासमेत नदिई धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन सिफारिस गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदै छ ।

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाटै तटस्थ स्थल कुवेत प्रस्थान गर्नेछ । त्यसका लागि नेपाली फुटबल टोलीमा धेरै परिवर्ततन हुँदा टोलीमा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही पाका खेलाडीले आरम पाएका छन् । दीर्घकालीन सोच राखेर टोलीको संयोजन गरेको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए ।

तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । इराकसँगको खेलपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । इराकसँग नै खेलेको टोली उतैबाट छनोट खेल्न जाने तालिका छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ खेलाडीको घोषणा गरेसँगै धेरै प्रतिक्रिया आएको भन्दै प्रशिक्षक अलमुताइरीले बिहीबारको पत्रकार सम्मेलनमा खण्डन गरे ।

पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियन सिप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नयाँ र पुराना खेलाडीको संयोजन गरे भन्दै उनले पत्रकार सम्मेलनमा आएका प्रतिक्रियाको खण्डन गरेका हुन् ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । उक्त छनोट खेल खेले पछि टोली जेठ २९ फर्किने तालिका रहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७८ १९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×