कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खडेरीले भोकको पीर

उत्पादन शून्य भएपछि चामल खोज्दै सदरमुकाम
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–६ का रंग मल्लको झन्डै पाँच हेक्टर जग्गामा लगाएको पाखोबारीमा यो वर्ष गहुँबाली नै भएन । खडेरीका कारण उत्पादन शून्य भएपछि उनी चामल खोज्दै सदरमुकाम आइपुगेका छन् । नाथर्पुका डबल बुमीलाई पनि यो वर्ष भोकमरीको चिन्ताले सताएको छ । 

खडेरीले भोकको पीर

खडेरीका कारण अन्नबाली उत्पादन नभएपछि सोरुका भीई, नाथर्पु, जिमा, पुरुमुरु, सोरुकोट, नार्थपु, बन्जाहालगायत गाउँका बासिन्दालाई खाद्यान्न जुटाउन समस्या भएको छ । गाउँपालिकाका अधिकांश गाउँ वर्षौंदेखि सिँचाइ सुविधाविहीन छन् ।

मल्लले यसअघि बर्सेनि झन्डै ७ क्विन्टल गहुँ उत्पादन गर्थे । ‘बीउ पनि बाँकी रहेन, सबै खडेरीले खायो,’ उनले भने, ‘एकातिर रोगको डर छ, अर्कोतिर भोकले मरिने चिन्ता ।’ बीउसमेत नआउने देखेपछि उनले बारीको गहुँसमेत काटेनन् । गहुँबारीमा गाईभैंसी चराएर चामल खोज्न सदरमुकाम आएको उनले गुनासो गरे ।

बुमीले पनि १२ हल गोरु लाग्ने पाखोबारीमा यो वर्ष गहुँ उत्पादन भएन । ‘अन्नै फलेन, कसरी परिवार पाल्ने ?,’ उनले भने, ‘भारत जान पनि नाका बन्द छ, अरू रोजगारी छैन, यसपालि भोकैले मरिने भइयो ।’ पाँच वर्षअघि पनि खडेरीले गहुँबाली सुक्दा उत्पादन शून्य भएको थियो । कात्तिके बाली नपाक्दासम्म जीविकोपार्जन गर्न समस्या हुने उनको भनाइ छ ।

खडेरीका कारण गहुँबाली उत्पादन नभएपछि पुरुमुरुका झन्डै ६ सय घरधुरीमा खाद्यान्न समस्या भएको छ । मंसिरमा लगाएको गहुँबाली जेठमा पाकेर टिप्ने गरे पनि यो वर्ष खडेरीले बारी नै उजाड बनाएको पुरुमुरुका चित्रबहादुर कार्कीले बताए । ‘यो पटक गहुँ नटिपेर बारीमा गोरु चराउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘एक महिनाभित्र खाद्यान्न ढुवानी नभए गाउँभरि भोकमरी सुरु हुने जोखिम छ ।’

उत्पादन नभएपछि स्थानीय ऋण लिएर खाद्यान्न खरिद गर्न सोरुकोट, तारापानी र गमगढी पुग्न थालेका छन् । ‘यो वर्ष यार्चा पनि खुलेन, विकास निर्माण पनि ठप्प छन्,’ कार्कीले भने, ‘अब कसरी चुलो बाल्ने ?’ मुगुका अधिकांश गाउँका बासिन्दाले यार्चा टिपेर वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् । कोरोना महामारीका कारण यो वर्ष मुगमकार्मारोङ गाउँपालिकाले यार्चा संकलन बन्द गर्ने निर्णय गरेको छ । गत वर्ष पनि कोरोनाकै कारण यार्चा संकलनमा प्रतिबन्ध लगाइएको थियो ।

ग्रामीण क्षेत्रका बासिन्दा चामल खरिद गर्न सदरमुकाम आउन थालेपछि मौज्दात सकिँदै गएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । ग्रामीण क्षेत्रका खाद्य गोदामहरू लामो समयदेखि रित्तिएका छन् । सदरमुकाम गमगढीमा झन्डै २५ सय क्विन्टल चामल मौज्दात रहेकोमा दैनिक करिब २५ क्विन्टल चामल बिक्री भइरहेको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए ।

कम्पनीका गोदाममा चामल नभएपछि स्थानीयवासी महँगो मूल्यमा बजारको चामल खरिद गरी उपभोग गर्न बाध्य छन् । अहिले गमगढीमा २५ केजी चामलको मूल्य झन्डै २ हजार रुपैयाँ पुगेको छ । गहुँबाली भित्र्याउने बेलामै खाद्यान्नको अभाव भएको सोरु–६ का वडासदस्य कुवेरजंग शाहीले बताए । उनका अनुसार खडेरीका कारण २, १, ६, ७ र ३ नम्बर वडामा उत्पादन न्यून भएको छ । जग्गा धेरै भएका किसान नै खाद्यान्न अभावको चपेटामा परेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?