देउवालाई प्रधानमन्त्री बनाउन एमाले सांसदले गरेका हस्ताक्षर दलको निर्णय विपरीत हो भनेर राष्ट्रपतिलाई पत्र पठाएका छौं : ज्ञवाली

काठमाडौँ — नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका सांसदहरूले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरितको भएको जानकारी गराइएको बताएका छन् । 

देउवालाई प्रधानमन्त्री बनाउन एमाले सांसदले गरेका हस्ताक्षर दलको निर्णय विपरीत हो भनेर राष्ट्रपतिलाई पत्र पठाएका छौं : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेर राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर छ । उक्त घटनापछि पार्टीले राष्ट्रपति कार्यालयलाई पत्र पठाएर त्यस्ता कार्य पार्टी विपरीत भएको जानकारी गराएको ज्ञवालीले बताए ।

'उहाँहरूलाई कारबाही गरिसकिएको छैन । उहाँहरूले हस्ताक्षर सच्याउनु भएन भने कारबाही त हुने भयो । आफ्नो सरकार ढालेर विपक्षी दललाई सहयोग गर्ने कुरा त कदापी स्वीकार्य हुँदैन,' ज्ञवालीले भने, 'त्यसरी आएको हस्ताक्षर हाम्रो दलको निर्णय विपरीत हो भनेर पत्र पठाएका छौं । त्यस्ता विषयहरू कारबाहीका विषय हुन् भनेका छौं ।'

कारबाही गर्ने कुरा पार्टीको आन्तरिक भए पनि राष्ट्रपतिलाई जानकारी गराइएको ज्ञवालीको भनाइ छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीलाई दलकै समर्थन चाहिने भएकाले त्यसरी सांसदहरूले दिएको हस्ताक्षरको अर्थ नहुने ज्ञवालीको भनाइ छ । सांसद प्रधानमन्त्रीको उम्मेदवार हुन सक्ने तर राष्ट्रपतिले नियुक्त गरेपछि दलहरूले नै संसद्मा विश्साको मत दिनुपर्ने उनले बताए ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका सांसदहरूलाई के कारबाही हुने भन्नेबारे अहिले नै तय भइनसकेको ज्ञवालीले बताए । 'कारबाहीको विषयमा निष्कर्षमा पुगिसकेका छैनौं । थुप्रैले हाम्रो हस्ताक्षर दुरुपयोग भयो भनेर वक्तव्य दिइरहनुभएको छ । पहिला 'क्लियारिटी' होस्, त्यसपछि कारबाही अघि बढ्छ,' उनले भने ।

पार्टीले कुनै सांसदलाई कारबाही गर्न नचाहेको तर कम्युनिस्ट पार्टीमा फ्लोर क्रसदेखि पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षीसँग मिलेका घटनाले गम्भीर बनाएको उनको भनाइ थियो । केही सांसदहरूले प्रतिनिधिसभा बचाउनका लागि हस्ताक्षर गरेको तर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन होइन भनेर प्रष्टिकरण दिइरहेको ज्ञवालीले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?