राष्ट्रपति निवासमा बिहीबार राति चिया खानमात्रै गएको थिएँ : ठाकुर

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गरेका छन् ।

राष्ट्रपति निवासमा बिहीबार राति चिया खानमात्रै गएको थिएँ : ठाकुर

शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबार अबेर राति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

ठाकुरले भेटघाट भएको स्वीकार गर्दै भने, 'भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो. ठीक छ भनेँ । अहिले कोरोनाकै चिन्ता छ ।'

त्यस्तै ठाकुरले उपेन्द्र यादव समूहसँग पनि छलफल भइरहेको बताए । 'छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,' उनले भने । ठाकुरले आफूलाई अहिलेसम्म कतैबाट प्रधानमन्त्रीको प्रस्ताव नआएको पनि बताए । उनले अहिलेको सरकारले नागरितासम्बन्धी अध्यादेश, संविधान संशोधन गर्न कार्यदल गठन गरेर आफूहरुको माग पूरा गरिरहेको पनि बताए ।

अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?