राष्ट्रपतिलाई महाभियोग लगाऔं, विपक्षीहरू एकजुट भई सरकार बनाऔं : विवेकशील साझा


काठमाडौँ — विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाएर विपक्षी दलहरू एकजुट भई नयाँ सरकार गठन गर्नुपर्ने जनाएको छ ।


प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेमा बिहीबार साँझ राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको ठहर गर्दै पार्टीले प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले रबर स्ट्याम्पसरह सदर गरेको आरोप लगाएको छ ।
‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ,’ पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता रहेको पार्टीले औंल्याएको छ ।
‘संविधानत: प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्नेजस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला,’ पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध रहेको पनि पार्टीले जनाएको छ ।
प्रकाशित : जेष्ठ ७, २०७८ ०९:४७