कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : कांग्रेस

काठमाडौँ — प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएको छ । 

राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका हुन् ।

‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु भनेको संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो,’ पौडेलको प्रतिक्रिया छ ।

सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भए पनि २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र रहेको पौडेलको भनाई छ ।

राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी छिन् । वरिष्ठ नेता पौडेलले सम्पूर्ण राजनीतिक दलहरुलाई संविधान जोगाउने प्रयासमा लाग्न अपिलसमेत गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नका लागि सुनियोजित रुपमा कदम चालेको प्रतिक्रिया दिए ।

‘राष्ट्रपति, प्रधानमन्त्री, हामी सबैले संविधान ऐन, कानुन, विधि मान्नु पर्छ । भर्खरै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अन्र्तगत प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको बाध्यात्मक धारा हो,’ खाँडले भने, ‘उहाँले विश्वासको मत नलिकन राजीनामा पनि दिनु भएको छैन । प्रतिनिधिसभा विघटन गर्नका लागि सुनियोजित रुपमा त्यो खालको विज्ञप्ती राष्ट्रपतिबाट प्रधानमन्त्रीले दिलाउनु भएको छ । संवैधानिक हिसावले यो गंभिर आपत्तिजनक छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक भएको बताएका छन् ।

‘रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल ‘विधा भण्डारी’ बस्नुहुन्छ ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ?,’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ !’

प्रकाशित : जेष्ठ ६, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?