कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा तोडफोड- समाचार - कान्तिपुर समाचार

कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा तोडफोड

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् । 

सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तोडफोड गरेका थिए । नगरप्रमुख श्रेष्ठको घर तोडपफोड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । आगजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन अश्रुग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ ।

घर तोडफोड रोकिएपनि अहिले कटारी बजार तनावग्रस्त रहेको स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछानेले बताए । स्थानीयले घर तोडफोड गर्दा पूर्णरुपले क्षति पुगेको नगरप्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार स्थानीयको तोडफोडका कारण चारै जनाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

आक्रोसित स्थानीयले इलाका प्रशासन कार्यलाय रहेको वडाध्यक्ष दनुवारको घर समेत तोडफोड गर्दै कार्यालयमा समेत असर परेको छ ।

कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाको मौका छोपेर जहडीमा रातारात घर बनाएपछि त्यसलाई रोक्न नगरपालिको स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भत्काएको सूचना अधिकारी मिश्रले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय उदयपुरले जहडीको जग्गा संरक्षण गर्न भनी निर्देशन दिएको र नगर कार्यपालिकाले समेत संरक्षण गर्ने निर्णय गरेको मिश्रले बताए ।

अख्तियार, जिल्ला प्रसाशन र कार्यपालिकाले समेत संरक्षण गर्नु भनिएको जग्गामा कोरोना संक्रमणको मौका छोपी रातारात घर बनाएपछि रोक्नका लागि सन्तबहादुर लगायत ४/५ वटा घर सांकेतिक रुपमा भत्काइएको नगरपालिकाले जनाएको छ । जहडी कटारी बजारभित्र पर्ने स्थान हो ।

प्रकाशित : जेष्ठ ५, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा कोरोनाबाट थप २० जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये बुधबार २० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार १५ जनाको मृत्यु भएको थियो । 

कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवनको मुख्य बजार क्षेत्र भरतपुर नारायणगढ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।  

मृतक २० मध्ये ६ जना चितवनका हुन् । अरु १४ जना उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका चितवन बाहिरका संक्रमितहरु हुन् ।

चितवन स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा सातजनाको मृत्यु भएको छ । सो अस्पतालमा चितवनका तीन, नवलपरासीका दुईजना र कपिलवस्तु तथा धनुषाका एक एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पाँचजना र पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पनि पाँचजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोरोना उपचार केन्द्रमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये ५१ जना डिस्चार्ज भएर घर गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भरतपुरका विभिन्न ठुला अस्पतालमा ५२१ जना संक्रमितको उपचार भइरहेको छ ।

संक्रमितमध्ये २६० जना आईसीयूमा, ५९ जना भेन्टिलेटरमा र ९६ जना एचडीयूमा छन् । भरतपुरका अस्पतालहरुमा चितवनकाभन्दा चितवन बाहिरका धेरै संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म चितवनमा निको हुन बाँकी संक्रिय संक्रमित चार हजार ३८९ जना छन् । तीमध्ये २१३ जना मात्रै अस्पताल भर्ना भएका छन् । चितवनका संक्रमितमध्ये हालसम्म १८२ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ ५, २०७८ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×