कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थापालाई भोट माग्दै मौन अवधिमा प्रधानमन्त्रीको अपिल

उजुरी परेमा आयोगले जाँचबुझ तथा अनुगमन संयन्त्र गठन गर्नेछ : आयोग

काठमाडौँ — राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापलाई जिताउन प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल जारी गरेका छन् । बुधबार उनले यस्तो अपिल जारी गरेका हुन् । जबकि मंगलबार मात्रै निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको जनाएको थियो ।

थापालाई भोट माग्दै मौन अवधिमा प्रधानमन्त्रीको अपिल

आयोगले मंगलबार ४ गते राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागु हुने भन्दै यसअवधिमा चुनाव प्रचार प्रसार गर्न र मत माग्न नपाइने, तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाइएको छ ।

प्रधानमन्त्रीले जारी गरेको अपिलमा भने थापाको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने भन्दै उनलाई मत दिन आग्रह गरिएको छ ।

‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले जारी गरेको अपिलमा छ, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।’

निर्वाचन आचारसंहिता २०७२ मा पनि मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदामा 'निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने' भनिएको छ । साथै आचारसंहितामा नेपाल र प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नहुने भनिएको छ । आचार संहिताको ६ नम्बर दफामा यस्तो व्यवस्था गरिएको छ । यसमा त्यस्ता व्यक्ति उम्मेदवार नै बनेको खण्डमा भने आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न पाइने भनिएको छ ।

निर्वाचन आयोगको कानुन हेर्ने उपसचिव लक्ष्मी शर्मा प्रधानमन्त्रीले यस्तो अपिल जारी गर्नुलाई आचार संहिता उल्लंघन हो कि होइन भन्नलाई आयोगले जाँचबुझ गर्नु पर्ने बताउँछन् । 'आयोगको प्रक्रिया अनुसार आचारसंहिता उल्लंघनमा उजुरी परेमा आयोगले जाँचबुझ तथा अनुगमन संयन्त्र्र गठन गर्नेछ । त्यसरी गठन गरिएको संयन्त्रले आचारसंहिता उलंघन गरेको पाएमा १ लाखसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ' उपसचिव शर्माले भने ।

उपनिर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । विपक्षीले अगाडि सारे पनि देवकोटाले चाहिँ आफूलाई स्वतन्त्र उम्मेद्वार भनेका छन् । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूह र एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको समेत उनलाई समर्थन रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?