कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

राष्ट्रियसभा उपनिर्वाचन : बहुमत मतदाता एमालेका तर ढुक्क छैनन् गृहमन्त्री थापा !

माधव नेपालले पूर्ण सहयोग हुने बताउनु भएको छ : थापाको सचिवालय
मतदातालाई स्वविवेक प्रयोग गर्न दिनेमा सहमत हो तर कुनै सहमति भएको छैन : नेपालको सचिवालय
बबिता शर्मा

काठमाडौँ — बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा वागमती प्रदेशमा बहुमत मतदाता एमालेका छन् । तर, पार्टीभित्रको अन्तरविरोधले एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापाको जितबारे उनकै पार्टीका नेताहरु ढुक्क भने छैनन् ।

राष्ट्रियसभा उपनिर्वाचन : बहुमत मतदाता एमालेका तर ढुक्क छैनन् गृहमन्त्री थापा !

खास गरेर एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले थापालाई मतदान गर्न नसक्ने संकेत दिएपछि पार्टीको बहुमत हुँदाहुँदै पनि उनको जित अनिश्चित बनेको विश्लेषण गरिएको छ ।

एमालेको आन्तरिक विवाद हल गर्न दुवैपक्षले १० सदस्यीय वार्ता टोली बनाएपछि थापालाई केही राहत भए पनि ढुक्क हुने अवस्था भने नबनेको एमाले स्रोतको भनाई छ । गृहमन्त्री थापा राष्ट्रियसभाको उपनिर्वाचनमा जितलाई लिएर अझै आश्वस्त छैनन् । उनले एमालेका सबै मत सुरक्षित गर्ने कोसिस थालेका छन् । यसै सिलसिलामा मंगलबार उनले एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट गरे । तर, नेपाललाई भेटे पनि परिस्थिति उनको पक्षमा अझै अनुकूल देखिएको छैन् ।

जितमा ढुक्क नभएका गृहमन्त्री थापा मंगलबार नेता नेपाललाई भेटन उनकै निवासमा पुगेका थिए । एमालेको आन्तरिक विवादमा नेपाल र थापाबीचको यो पहिलो भेट हो । सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि ब्युँतिएको एमालेमा ओलीले थापासहित पूर्वमाओवादीका नेताहरुलाई एकतर्फी जिम्मेवारी दिएपछि खनाल–नेपाल समूह असन्तुष्ट छ ।

थापाले आफ्नोपक्षमा मतदान गर्न आग्रह गरे पनि नेपालले मतदातालाई स्वविवेक प्रयोग गर्न भनेको बताएका छन् ।

‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ नेता नेपालका स्वकिय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

थापाका प्रेस सल्लाहकारले भने थापाले नेपाललाई भेटी सहयोगको आग्रह गरेको र नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको दावी गरेका थिए । थापाको सचिवालयलबाट सहमतिको विज्ञप्ति आएपछि नेता नेपालको सचिवालयले खण्डन गरेको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने नेपालको भनाईले प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनको अंकगणित नै प्रभावित हुने अवस्था छ । विपक्षी गठबन्धनका नेताहरूले पनि राष्ट्रिय सभा उपचुनावमा पनि खनाल–नेपाल समूहको भूमिका निर्णायक हुने बताइरहेका छन् । हुन पनि प्रदेशमा बहुमत मतदाता एमालेका भए पनि निर्णायक खनाल–नेपाल समूहका छन् ।

वागमती प्रदेश सभामा एक सय १० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधि (प्रमुख–उपप्रमुख) मतदाता छन् । एमाले र कांग्रेस–माओवादीबीच १ हजार एक सय २ मतभारको फरक छ । यस्तोमा खनाल–नेपाल समूहका १३ प्रदेश सभा सांसदले फ्लोरक्रस गरे थापालाई कठिन हुनसक्छ । स्थानीय तहका एक सय ३३ मतदातामा पनि आफूहरुको राम्रो पकड रहेको खनाल–नेपाल समूहका नेताहरुको दावी छ ।

मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । अर्थात् एक सय १० प्रदेश सांसदको ५ हजार दुई सय ८० र दुई सय ३८ स्थायीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी मतभार छ । यसरी हेर्दा प्रदेशमा ९ हजार ५ सय ६४ मतभार छ ।

कोरोनाका कारण एमालेका एक प्रदेश सांसद पशुपति चौलागाईंको निधनपछि एमालेका ५६ सांसद र स्थानीय तहका एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन्, जसको यसको कुल मतभार पाँच हजार ८२ हुन्छ । अर्थात् एमालेका सबै मत थापाको पक्षमा मत खसे उनको जित सुनिश्चत हुन्छ । प्रदेशमा पार्टीका कुल मतमा झन्डै आधा मत आफ्नो पक्षमा रहेको खनाल–नेपाल समूहको दावी छ । यी भोट तलमाथि भए थापा जोखिममा हुन्छन् । यद्यपि स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको राप्रपाले थापालाई सहयोग गर्ने बताएको छ ।

प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी कांग्रेसका ९० जना मतदाता छन्, जसको कुल मतभार २ हजार २ सय ८० हुन्छ । त्यस्तै, माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाताको कुल मतभार १ हजार ६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको मतभार ३ हजार ९ सय ७८ छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीपक्षबाट थापाको जित सुनिश्चत गर्न महासचिव इश्वर पोखरेलले सोमबार निर्देशन जारी गरेका थिए । निर्देशन एमालेको आधिकारिक उमेद्वार थापा भएको भन्दै उनलाई मतदान गर्न भनिएको छ । ‘वागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ पत्रमा छ, ‘हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु ।’

एमालेकै खनाल–नेपाल समूहकै आग्रहमा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा थापासँग खिमलाल देवकोटा मैदानमा छन् । विपक्षीले अगाडि सारे पनि देवकोटाले चाहिँ आफूलाई स्वतन्त्र उम्मेद्वार भनेका छन् । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूहको समेत उनलाई समर्थन छ । कांग्रेस र माओवादीले देवकोटाको पक्षमा मतदान गर्ने बताइसकेका छन् । माओवादीले त थापा ‘प्रतिगमनको मतियार’ भएकाले उनलाई हराउनुपर्ने विज्ञप्ति नै निकालेको छ । खनाल–नेपाल समूहका सांसदको राजीनामा नआएपछि केन्द्रमा वैकल्पिक सरकार बनाउने कांग्रेस, माओवादी र जसपाको भट्टराई–यादव समूहको गठबन्धन असफल भएको थियो ।

उम्मेदवारी दर्ता गर्ने दिन गृहमन्त्री थापाले आफू एमालेको आधिकारिक उम्मेदवार भएको र जित सुनिश्चित रहेको दाबी गरेका थिए । देवकोटाले संघीयता र स्थानीय तहको अधिकारको पक्षमा निरन्तर बोल्दै–लेख्दै आएकाले आफ्नो जित निश्चित रहेको बताउँदै आएका छन् । ओली समूहका नेताहरुले पार्टी निर्णयविरुद्ध जानेमाथि कारबाही हुने बताइरहेका छन् । नेमकिपाले भने कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?