कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

संसद् सचिवालयमा महतोको पत्र पुग्‍नु पहिल्यै अध्यक्ष यादवले पठाएका थिए इमेल

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालमा संसदीय दलको नेता निर्वाचित भएको भन्ने विषयले विवाद उत्पन्न गरेको छ । जसपामा विवाद उत्कर्षमा रहेको र सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीनदिने समय वैशाख ३० गते घर्किनु पहिले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता निर्वाचित गरेको थियो । 

संसद् सचिवालयमा महतोको पत्र पुग्‍नु पहिल्यै अध्यक्ष यादवले पठाएका थिए इमेल

संसदीय दलको नेता निर्वाचित भएको पाँच दिनपछि महतोले आफ्ना सहयोगीमार्फत पत्रसहितको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।

महतोले त्यतिबेला उक्त जानकारी गराएका थिए जतिबेला पार्टीको समस्या समाधान गर्न अध्यक्ष ठकुर र उपेन्द्र यादवले ८ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिरहेका थिए । पार्टीका समस्या छलफलबाट समाधान गर्नेदेखि लिएर राष्ट्रिय सरकार वा आफ्नो नेतृत्वमा सरकार गठन भएमात्रै सरकारमा सहभागी हुने र नभए प्रतिपक्षमा बस्ने उक्त पत्रमा उल्लेख थियो । यो जानकारी पाएका महतोले एकतर्फी रूपमा गरिएको निर्णयको पत्र दिएर आफ्ना सहयोगीलाई संसद् सचिवालयमा पठाएको ठाकुर र यादव पक्षका सांसदहरूले बताएका छन् ।

अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतो र उनी निकट सांसदलाई आफ्नो पक्षमा पार्नका लागि गत ३० गते नै संसदीय दलको नेता बनाउने निर्णय गरेको यादवलाई जानकारी थियो । उक्त जानकारीपछि एकल निर्णय कार्यान्वयन नगर्नु भन्दै यादवले जेठ २ गते नै संघीय संसद् सचिवालयलाई पत्र पठाएका थिए ।

'संसदीय दलको नेतामा महतो निर्वाचित भएको हल्ला भएपछि हामीले संसद् सचिवालयलाई पत्र पठाएका हौं,' यादव पक्षका एक सांसदले भने ।

यादव पक्षले संसद् सचिवालयका पदाधिकारीलाई इमेल पठाएर त्यस्तो निर्णय कार्यान्वयन नगर्न भन्दै जानकारी प्राप्त भएको सचिवालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार जेठ २ गते नै अध्यक्ष यादवले इमेलमार्फत सभामुख अग्निप्रसाद सापकोटा, महासचिव भरतकुमार गौतम, प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र सचिवालय सचिवहरूलाई इमेलमार्फत पत्र पठाएर एउटामात्रै अध्यक्षको हस्ताक्षर भएर आएको पत्र दर्ता नगर्न भनेर सूचित गराएका थिए ।

त्यसरी पठाएको पत्रमा पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि निर्णय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको हस्ताक्षरले मात्रै आधिकारिकता पाउने उल्लेख गरिएको संसद् सचिवालयले ती अधिकारीले जानकारी दिए ।

मुख्यकुरा पार्टीमा विवाद मिलाउनुपर्ने र संसद् सचिवालयलाई दिएको जानकारी पत्रले केही फरक नपर्ने ती अधिकारीको भनाइ थियो । 'तत्कालीन नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले दाहाललाई संसदीय दलको नेता निर्वाचित गरेको पत्र पनि त दर्ता भएको थियो । त्यसले के अर्थ राख्यो र ? यो पत्र पनि त्यस्तै हो,' ती अधिकारीले भने ।

महतोले ३० गते भएको निर्णयको पत्र दुई अध्यक्षबीच विवाद समाधान गर्ने समझदारी हुँदै गर्दा दर्ता गराएपछि जसपामा भने विवाद उत्पन्न भएको छ ।

सम्बन्धित समाचारः


प्रकाशित : जेष्ठ ४, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?