चार्टर उडानमा महँगो भाडा असुलिएपछि भारतीय दूतावासले लेख्यो सरकारलाई पत्र- समाचार - कान्तिपुर समाचार

चार्टर उडानमा महँगो भाडा असुलिएपछि भारतीय दूतावासले लेख्यो सरकारलाई पत्र

सुरज कुँवर

काठमाडौँ — नेपालको हवाई बाटो भएर साउदी र दमाम जान निषेधाज्ञाअघि काठमाडौं आइ अलपत्र परेका कम्तीमा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइएपछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै गुहार मागेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले सोमबार नेपाल सरकारलाई लेखेको पत्रमा टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्य ट्राभल एजेन्टले टिकटमा अत्यधिक कमिशन शुल्क लिइरहेकाले हस्तक्षेप गर्न अनुरोध गरेको छ । यी भारतीय नागरिकलाई साउदी अरबको दमाम र रियादसम्म चार्टर उडानबाट पुर्‍याउन नेपाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई केही दिनअघि अनुमति दिएको थियो ।

काठमाडौं हब भएका यी दुवै वायुसेवाका लागि टिकट बिक्री गर्ने एजेन्टले चर्को भाडा उठाएपछि भारतीय नागरिकहरुले दूतावासमा गुनासो गरेको उच्च स्रोतले उपलब्ध गराएको पत्रमा लेखिएको छ । पत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारले वैशाख १६ देखि लागू गरेको निषेधाज्ञाका कारण साउदी अरेबियाका विभिन्न श्रम गन्तव्यमा जान काठमाडौं आइ फसेका आफ्ना नागरिकका लागि वैशाख २९ गते चार्टर उडान खुलाइदिन दूतावासले नेपाल सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको थियो ।

दूतावासको अनुरोध प्राप्त भएको भोलिपल्ट वैशाख ३० गते नै नेपाल सरकारले दूतावासको अनुरोधलाई अुनमोदन गरिदिएको थियो ।‘नेपाल सरकारले नेपालमा रहेका नेपाल वायुसेवा र हिमालय एयरलायन्समार्फत भारतीय नागरिकहरुले नेपाल टुर एण्ड ट्राभल एजेन्ट नाट्टाका सदस्यमार्फत टिकट खरिद गर्न सक्ने बाटो खुला गरिदिएको’ दूतावासको पत्रमा छ ।

यसैअनुसार मंगलबारदेखि भारतीय यात्रुहरुका लागि चार्टर उडान सुरु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, मंगलबार भारतीय नागरिकका लागि हिमालय एयरलायन्सले तीनवटा दमाम र नेपाल वायुसेवा निगमले एउटा दमाम र अर्को रियादका लागि चार्टर उडान गर्दै छ ।

दूतावासले भारतीय यात्रुहरुबाट महँगो भाडाबारे गुनासाहरु आइरहेको उल्लेख गर्दै ‘घरबाट टाढा आएर अलपत्र परेका आफ्ना नागरिकहरुलाई महामारीका बेला यसले थप व्यक्तिगत र वित्तीय कठिनाई’ निम्त्याएको पर्यटन सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई लेखिएको पत्रमा उल्लेख छ ।

दूतावासले नेपाल सरकार र तालुक निकाय पर्यटन मन्त्रालयलाई यस विषयमा तत्काल हस्तक्षेप गरेर तोकिएअनुसार लाग्ने हवाई भाडादर लागू गर्न अनुरोध गरेको छ । पर्यटन मन्त्रालयका दुई जना अधिकारीहरुले सचिव कोइरालासमक्ष दूतावासको पत्र आइनपुगेको जानकारी दिए ।

टिकट बिक्री गर्ने नाट्टाका कार्यवहाक अध्यक्ष बिनय बस्नेतले दूतावासले नाट्टालाई पनि यस विषयमा जानकारी गराएको बताए । ‘दूतावासले हामीलाई फोन र इमेलबाट यस विषयमा जानकारी दिएको छ,’ बस्नेतले कान्तिपुरसँग भने, ‘यस विषयमा हामीले कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकायमा जानकारी गराएका छौं ।’ उनले पर्यटन मन्त्रालयले पारदर्शी तरिकाले उडानबारे गरेका निर्णय बेलैमा सार्वजनिक नगरेका कारण केही एजेन्टले बदमासी गरेको हुन सक्ने बताए ।

गत वर्ष पनि चार्टर उडानमा अत्यधिक भ्रष्टचार, कालाबजारी लगायतका विकृति फैलिएकाले नियमित उडान सुचारु गर्न पर्यटन सचिव यादव कोइरालालाई ज्ञापन दिएको बताउँदै बस्नेतले बुधबार नाट्टाका पदाधिकारी र सचिवबीच भेट गर्ने कार्यक्रम तय भएको बताए ।

नाट्टाले कुनै पनि वायुसेवा कम्पनीलाई चार्टर उडान अनुमति नदिन, प्राथमकितामा रहेका गन्तव्यमा नेपाल वायुसेवा निगमको उडान सुचारु गर्न, जेठ ११ देखि स्वास्थ्य मापदण्डको पालना गर्दै अन्तर्राष्ट्रिय उडान नियमित सुचारु गर्न सकारलाई ज्ञापनमार्फत माग गरेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट आउनेलाई क्‍वारेन्टाइन राख्‍न ८ वटा होटल

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ललितपुर, भक्तपुर र काठमाडौंका ८ वटा होटललाई क्‍वारेन्टाइन तोकेको छ ।

भारत–नेपाल उडानबाट आउने यात्रुका लागि ललितपुरको गोदावरीमा रहेको होटल भ्यु भृकुटी, भक्तपुरको जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट, काठमाडौंको गुहेश्वरीमा रहेको माधव होटल, गौशालाको आमादब्लम र रिडर्स इन होटल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एयरपोर्ट होटललाई क्‍वारेन्टाइन तोकिएको हो । सरकारले बिहीबार मध्यरातिदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान ८ दिन स्थगन गरे पनि ‘एयर बबल’ अवधारणाअनुरूप नेपाल–भारत उडान सातामा दुई दिन हुनेछ ।

भारतबाट आउने यात्रुले १० दिन क्‍वारेन्टाइनमा बस्नुपर्नेछ । होटलले यात्रुसँग प्रतिदिन मूल्य अभिवृद्धि कर र सेवा शुल्कसहित ३ हजार रुपैयाँ लिई शाकाहारी खाना र कोठा उपलब्ध गराउनेछन् । होटल क्‍वारेन्टाइनमा १० दिन बस्दा ३० हजार रुपैयाँ तिर्नुपर्नेछ । गत वर्ष महामारीका बेला काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले २ सयवटा होटल छानेको थियो । जसमा साना मझौलादेखि ५ तारेहोटलसम्म सूचीकृत गरिएका थिए । त्यसबेला न्यूनतम प्रतिदिन प्रतिव्यक्ति शुल्क १५ सय थियो भने अधिकतम पाँचतारे होटलको प्रतिदिन क्‍वारेन्टाइन बसाइ शुल्क ९ हजार रुपैयाँसम्म तोकिएको थियो ।

होटलले यात्रुलाई विमानस्थलबाट आफ्नै सवारीसाधनमा ल्याउनुपर्नेछ । नेपाल पर्यटन बोर्डले नेपाल र भारत दुवै देशका सरकारी ध्वजावाहक वायुसेवा नेपाल एयरलायन्स र एयर इन्डियासँग समन्वय गरी यात्रुको विवरण लिनुपर्ने र होटल तोकिदिनुपर्नेछ । पर्यटन विभाग, बोर्ड र प्रहरी सम्मिलित टोलीले यात्रु होटलमा बसे नबसेको अनुगमन गर्दै हरेक दिन सीसीएमसी, गृह मन्त्रालय र पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

८ वटा होटलको सूची सार्वजनिक गर्नुअघि नेपाल पर्यटन बोर्डले ६० वटा होटलको नाम दिएको थियो । छनोटमा संलग्न एक सदस्यका अनुसार बोर्डले ३० वटा होटल संघ नेपाल (हान) र ३० वटा नेपाल होटल व्यवसायी महासंघअन्तर्गतका गरी ६० वटा होटलको नाम पठाएको थियो । मन्त्रालयले यात्रुको संख्या वृद्धि भए होटलको सूची थपिने जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ २२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×