२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जसपा संसदीय दलको नेतामा महतो निर्वाचित भएको पत्र संसद् सचिवालयमा दर्ता, यादव पक्षको विरोध

काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएको दिन मंगलबार महतो संसदीय दलको नेता चयन भएको जानकारी संसद् सचिवालयलाई गरिएको हो । 

जसपा संसदीय दलको नेतामा महतो निर्वाचित भएको पत्र संसद् सचिवालयमा दर्ता, यादव पक्षको विरोध

संसद् सचिवालयमा दर्ता भएको पत्रमा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ । '२०७८-०१-३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा मा. श्री राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ । संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको छ,' पत्रमा भनिएको छ ।

संसदीय दलको नेतामा एकपक्षीय ढंगले महतोलाई निर्वाचित गरिएको भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षले भने विरोध जनाएको छ । यादव पक्षका सांसदले मोहम्मद इस्तियाक राईले अध्यक्षद्वयबीच एकता भएपछि त्यस्तो पत्र संसद् सचिवालयमा दर्ता गराउनुले पार्टी एकता भाँड्ने शक्ति लागेको भन्ने देखिएको बताए । 'पार्टी विधान विपरीत भएको त्यो निर्णय कुनै पनि हालतमा मान्य छैन । सहमतिअनुसार दुई अध्यक्षको सहमतिअनुसार दलको नेता चयन हुने हो,' राईले भने, 'एकता भाँड्ने शक्तिहरू सक्रिय भएर आजको सहमतिभन्दा पहिला तयार भएको पत्रलाई केरमेट गरेर संसद् सचिवालयमा दर्ता गराएका हुन् ।' संसद् सचिवालयमा दर्ता गरिएको पत्रको मितिमा टिपेक्स लगाएर सच्याइएको स्पष्टै देखिएको पनि उनको भनाइ छ ।

पार्टीभित्र पछिल्लो समय देखिएको सहमति भाँड्न लागेका व्यक्तिहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने यादव पक्षको माग छ ।

यसअघि अध्यक्ष ठाकुरले आफ्नो पक्षमा सांसदहरूको संख्या कम भएपछि सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय पहिल्यै महतोलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पारेका थिए । सोही आश्वासन अनुसार वैशाख ३० गते ठाकुर पक्षका सांसदहरू बसेर महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका थिए । ठाकुर पक्षले आफूलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएर निर्णय गरेपछि मात्रै महतोले उनको पक्षमा लागेका थिए । तर, यसबीचमा उक्त पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको थिएन । उक्त पत्र मंगलबार मात्रै संसद् सचिवालयमा दर्ता भएको हो ।

प्रकाशित : जेष्ठ ४, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?