कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठाकुर र यादवबीच समझदारी- राष्ट्रिय सरकार वा आफ्नै नेतृत्वमा सरकार बन्ने भए जसपा अघि बढ्ने

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै पार्टीको सरकार गठन गर्ने अवसर आए वा राष्ट्रिय सहमतिको सरकार गठन हुने भए अघि बढ्ने नभए प्रतिपक्षमा नै रहने सहमति भएको छ । 

ठाकुर र यादवबीच समझदारी- राष्ट्रिय सरकार वा आफ्नै नेतृत्वमा सरकार बन्ने भए जसपा अघि बढ्ने

अध्यक्षद्वय ठाकुर र यादवबीच मंगलबार भएको ८ बुँदे समझदारी पत्रमा यसअघि सरकारमा नजाने निर्णय यथावत रहेको र आगामी दिनमा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए वा राष्ट्रिय सरकार बन्ने अवस्था सिर्जना भए मात्रै अघि बढ्ने समझदारी भएको हो ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ,’ ठाकुर र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ ।

त्यस्तै, पार्टीभित्र देखिएका समस्याको विधानअनुसार नै छलफल गरेर समाधान गर्ने समझदारी पनि दुवैबीच भएको छ ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच भएको एकताले तल्लो तहमा पूर्णता नपाइसकेको अवस्थामा आगामी दिनमा ती काम सम्पन्न गर्ने पनि उनीहरूबीच समझदारी भएको छ । 'समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन/ भ्रातृ संगठनलगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशीघ्र सम्पन्न गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नु पर्दछ,' दुवैको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावको विरुद्धमा मतदान दिएका र तटस्थ बसेका जसपाका दुई पक्षबीच पछिल्लो समय सार्वजनिक रूपमा नै विवाद देखिएको थियो । उक्त कुरा पार्टी निर्णयअनुसार नै भए पनि केही नेताहरूले त्यसलाई दुरुपयोग गरेको भन्दै ठाकुर र यादवले आगामी दिनमा मिलेर अघि बढ्ने समझदारी गरेका छन् ।

'पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने, गुट उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ,' दुवैले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?