महामारी जित्न सघाउँदै मनकारीहरू- समाचार - कान्तिपुर समाचार

महामारी जित्न सघाउँदै मनकारीहरू

संक्रमितलाई प्लाज्माको जोहो, अस्पतालमै २० रूपैयाँमा खाना, सिलिन्डर जुटाइदिँदै  
खाद्यान्न अभाव हुन नदिन ‘फुड बैंक’, अस्पताललाई पीपीई, मास्क र ग्लोब्स, बिहे खर्चको रकम संक्रमितको उपचारमा 
रुपा गहतराज, सन्जु पौडेल, दुर्गालाल केसी, मनोज पौडेल

नेपालगन्ज, रुपन्देही, दाङ, कपिलवस्तु — आफ्नो जिल्ला कोरोना संक्रमण प्रभावित भएपछि उनको प्राथमिकता फेरिएको छ । दिनरात फुर्सद छैन । बाँकेको डुडुवा–६ स्थित सरस्वती माविकी शिक्षिका ४९ वर्षीया माधवी साहलाई संक्रमितको उपचारका लागि प्लाज्मा जुटाउन भ्याइनभ्याइ छ ।

कोरोना संक्रमितलाई विभिन्न सहयोग जुटाइरहेका दाङ, नेपालगन्ज र रुपन्देहीका मनकारीहरू

निषेधाज्ञाले पठनपाठन बन्द भयो । त्यसपछि नेपालगन्ज–१२ कोरियनपुरकी साहले प्लाज्मा जुटाउन थालेकी हुन् ।

गत वर्ष कोरोना संक्रमण भएपछि असर नजिकबाट महसुस गरिन् । त्यसबेला बहिनीको उपचारका लागि एक महिना काठमाडौंमा बसिन् । त्यहीं संक्रमण भयो । पखाला चल्यो । औषधिले निको भएन । सास फेर्न गाह्रो भयो । अस्पताल भर्ना गरियो । दुई साताको उपचारपछि संक्रमणमुक्त भएर घर त फर्किन् तर उनले अस्पताल बसाइका क्रममा प्लाज्माका लागि आफन्तले बिलौना गरेको देखेकी थिइन् । त्यसैले निको भएको २८ दिनपछि प्लाज्मा दान गर्न आफैं अस्पताल पुगिन् । तर, उनले प्लाज्मा दान गर्न नमिल्ने चिकित्सकले बताए ।

प्लाज्मा दान गरिरहेकासँग नेपालगन्जकी अभियन्ता माधवी साह

त्यसपछि संक्रमणमुक्त व्यक्ति खोजेर प्लाज्मा जुटाउन थालिन् । ‘मैले प्लाज्मा दिन पाइनँ, खल्लो महसुस भयो,’ उनले भनिन्, ‘त्यसपछि अरू व्यक्ति खोजेर प्लाज्मा जुटाउन लागें ।’ अहिले प्लाज्मा जुटाउन दिनरात खटिने गरेको उनले बताइन् । संक्रमितका आफन्तले उनलाई फोन गर्छन् । ‘एकछिन फोन व्यस्त भए पनि आत्तिन्छु,’ उनले भनिन्, ‘एकछिन पनि फोन टाढा राख्दिनँ ।’

साहले संक्रमणमुक्त व्यक्तिको सम्पर्क नम्बर डायरीमा टिपेकी छन् । डायरीमा संक्रमितको रक्त समूहको रेकर्ड छ । कसैले फोन गरे भने त्यही डायरी पल्टाउँछिन् । ‘धेरैले सुरुमा गाली गर्नुभयो, बल्लतल्ल निको भएको मान्छेले कसरी प्लाज्मा दिनु भनेर फोन काट्नुभयो,’ उनले भनिन्, ‘सम्झाएपछि प्लाज्मा दिन सहमत हुनुभयो ।’ दुई छोरी र एक छोराकी आमा साह अहिले संक्रमितका आफन्तसित धेरै समय बिताउँछिन् । हौसला दिने काम गर्छिन् ।

‘एउटा मान्छेको प्लाज्मा दानले अर्को मान्छे बाँचेको हुन्छ,’ उनले भनिन्, ‘त्यही खुसीका लागि खटिएकी छु ।’ काठमाडौंदेखि दाङसम्मका बिरामीलाई प्लाज्मा जुटाएकी छन् । कोरोनाको दोस्रो लहरमा जिल्लाका ४२ संक्रमितका लागि प्लाज्मा जुटाइसकेकी उनले गत वर्ष १ सय ६० जनाका लागि प्लाज्मा जुटाएको बताइन् । उनका अनुसार प्लाज्मा दानका लागि संक्रमण भएको २८ दिन पुगेको र पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ । १८ देखि ४५ वर्ष समूहका व्यक्तिलाई प्राथमिकतामा राख्ने गरेको उनले बताइन् । यहाँस्थित रक्तदान केन्द्रमा दान गरेको रगत प्लाज्मा केन्द्रमा संकलन गरिन्छ ।

बिरामी र कुरुवाका लागि भेरी अस्पताल परिसरमा एक वर्षदेखि २० रुपैयाँ प्रतिछाक खाना उपलब्ध गराइएको छ । निषेधाज्ञाले होटल बन्द रहेका बेला यस्तो खानाले सहज भएको छ । दैनिक साढे तीन सयले यहाँ खाना खान्छन् ।

‘मनकारीको सहयोगमा सस्तोमा खाना खुवाउन सम्भव भएको हो,’ भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालले भने, ‘विपत्का बेला ठूलो राहत मिलेको छ ।’ बागेश्वरी मन्दिर नजिकैको हनुमान गढी सुन्दरकाण्ड मित्र मण्डलले सस्तो खानाको सुरुवात गरेको हो । त्यसबेला नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ मण्डललाई सहयोग गरेको थियो । मण्डलका संरक्षक विजय गुप्ताले सर्वसाधारण आर्थिक संकटबाट गुज्रिरहेकाले २० रुपैयाँमा पेटभरि खाना अभियान सुरु गरेको बताए ।

‘दैनिक साढे ३ सय जनालाई खान खुवाउने काम सहज होइन । ५० हजार रुपैयाँले पुग्दैन पनि । विभिन्न व्यक्तिसँग सहयोग मागेर यो अभियानलाई चलाएका हौं,’ गुप्ताले भने, ‘सबैको सहयोग नभएको भए एक वर्षसम्म यो अभियानले निरन्तरता पाउने थिएन ।’ पछिल्लो पटक हनुमानगढीकै शाखा अञ्जनी माता रसोईले अभियानलाई निरन्तरता दिएको छ । त्यसका लागि उपमहानगरले मासिक १ लाख ५० हजार रुपैयाँ सहयोग गरिरहेको छ । रसोईका अध्यक्ष विनोद राठीले विभिन्न व्यक्तिसित आर्थिक सहयोग मागेर खाना खुवाइरहेको जनाए । पानी निःशुल्क दिने गरेको उनले बताए । ‘बिरामी र कुरुवालाई खाना खुवाइरहेका छौं,’ उनले भने । बिरामीको संख्या बढेपछि रसोईले साँझमा भने छाकको ८० रुपैयाँ बनाएको छ ।

भैरहवाका युवा व्यवसायी सोमबार भीम अस्पतालमा संक्रमित र कुरुवालाई खाना दिँदै

रूपन्देहीमा विभिन्न व्यक्ति र संस्थाले मानवीय सेवालाई निरन्तरता दिइरहेका छन् । जिल्लामा संक्रमण व्यापक भएकाले अस्पतालमा शय्या खाली छैनन् । अक्सिजन अभाव छ । निषेधाज्ञाले सर्वसाधारणलाई छाक जुटाउन समस्या परिरहेको छ । यस्ता समस्यामा सघाउन बुटवलमा युवाको समूह सक्रिय छ । ‘घरघरमा हामी’ अभियान एक वर्षअघि सुरु गरिएको थियो । पहिलो लहरमा मानवीय सेवा गरेको यो समूह अहिले पनि दिनरात खटिरहेको छ । यो अभियानमा शिव डुम्रेको संयोजकत्वमा नौ युवा खटिएका छन् । ‘यो अभियान कोरोनाले जन्माएको हो,’ डुम्रेले भने, ‘बिरामी र विपन्नको मुहारमा हाँसो फर्काउन डटिरहेका छौं ।’

सामाजिक सञ्जाल फेसबुकमा पेज रहेको र त्यसमै आह्वान गरी सहयोग संकलन गरेर वितरण गरिरहेको उनले बताए । गत वर्ष यहाँबाट समन्वय गरेर मुलुकभरका दीर्घरोगलगायतका बिरामीलाई औषधि पठाउने काम गरेको उनले बताए । नौ दिनसम्म फुड बैंक सञ्चालन गरेर निःशुल्क खाद्य सामग्री वितरण गरेको उनले बताए । ‘प्लाज्मा संकलन गरेर काठमाडौंसम्म पठायौं,’ उनले भने, ‘संक्रमणमा कमी आएपछि रक्तदान, वृक्षरोपण कार्य गरिरहेका थियौं ।’ दोस्रो लहरमा उनीहरूले अक्सिजन आपूर्तिलाई ध्यान दिएका छन् ।

रूपन्देहीमा ‘घरघरमा हामी’ अभियानका युवा विपन्न बिरामीको घरमै पुगेर राहत वितरण गर्दै

अहिले अभियानका नाममा १३ वटा अक्सिजन सिलिन्डर छन् । ती सिलिन्डर घर र अस्पतालमा गम्भीर अवस्थामा रहेका बिरामीलाई उपलब्ध गराइरहेको डुम्रेले बताए । ‘चौबीसै घण्टा फोनमार्फत जिल्लाका कुन अस्पतालमा कति बेड छन्, कतिमा बिरामी छन्, नयाँ बिरामीले भर्ना पाउन कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी दिने गरेका छौं,’ उनले भने, ‘तीन दिनयता सडकमा बस्नेलाई खाना खुवाउने, ड्युटीमा खटिएका प्रहरीलाई पानी वितरण गरिरहेका छौं ।’

आफूहरूले आह्वान गरेपछि खाद्यान्न, जिन्सी, नगद सहयोग जुटिरहेको उनले बताए । बेलहिया हुँदै मुलुक प्रवेश गर्नेलाई ग्लोबल ह्युमनिटेरियन एड क्यानडाको सहयोगमा स्वयंसेवकले बिस्कुट, पानी र स्वास्थ्य सामग्री वितरण गरिरहेको जिल्ला संयोजक डा. सरस्वती भट्टराईले बताइन् । ‘बिहान ७ देखि १० बजेसम्म सर्वसाधारणको लर्को आउँछ,’ उनले भनिन्, ‘दैनिक १ सय ५० जनासम्मलाई वितरण गरिरहेका छौं ।’ फ्रन्टलाइनमा खटिने प्रहरी, सेना लगायत प्रशासनिक कर्मचारीलाई समेत पानी, खाजा र स्वास्थ्य सामग्री दिने गरेको उनले बताइन् । गत वर्ष सपोर्टिङ ह्यान्ड नामक संस्थामार्फत स्थानीय तहमा पीपीईसहितका स्वास्थ्य सामग्री, पानी वितरण गरेको उनले बताइन् । अहिले नाकामा हरेक दिन १० हजार बराबरका दरले सामग्री प्रदान गरिरहेको उनले बताइन् ।

सिद्धार्थनगरमा रहेको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवा, लुम्बिनी र फोन सम्पर्कमार्फत सहयोग माग्ने जिल्लाका विभिन्न स्थानमा खाद्य सामग्री सहयोग गर्ने गरी फुड बैंक सञ्चालन गरेको छ । एक सातादेखि चलिरहेको बैंकले प्रतिदिन १३ परिवारलाई १० दिनसम्म पुग्ने गरी खाद्यान्न प्याकेज उपलब्ध गराइरहेको क्लबका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । क्लबका सदस्यले अनिवार्य पैसा संकलन गर्ने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेल अभियान जारी राख्ने उनले बताए ।

लायन्स क्लब अफ बुटवल खस्यौलीले १ सय ४० वटा अक्सिजन सिलिन्डर चितवनबाट रिफिल गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदान गरेको क्लबका संस्थापक अध्यक्ष मुक्तिप्रसाद श्रेष्ठले बताए । ‘प्रतिसिलिन्डर ७ सय रुपैयाँका दरले भरेर ल्यायौं,’ उनले भने, ‘खाली सिलिन्डर पुनः रिफिलका लागि तयार छौं ।’ रोटरी क्लब अफ रूपन्देहीले तिलोत्तमास्थित कोभिड आइसोलेसन अस्पताललाई १० थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । तिलोत्तमा क्षेत्र तथा तिलोत्तमा आइसोलेसन अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीलाई निको पार्न मद्दत पुगोस् भन्ने उद्देश्यले क्लबले सहयोग गरेको अध्यक्ष गौतम भुसालले बताए ।

दाङको तुलसीपुर अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोखरेललाई रातदिन फोन आइरहन्छ, जसरी पनि अक्सिजनको व्यवस्था गरिदिन अनुरोध गर्छन् । उनी घडी हेर्दैनन् । जतिखेरै बिरामीको घरसम्म अक्सिजन पुर्‍याइदिन्छन् । सिलिन्डर खोज्न दौडिन्छन् । ‘ज्यान बचाउने अभियानमा छु,’ उनले भने, ‘मैले निद्रा पूरा गर्न नपाए पनि कसैको ज्यान बचाउन पाउँदा आत्मसन्तुष्टि छ ।’ घोराहीका युवा डा. गिररोदन महरा संक्रमितको अवस्था बुझ्न घरदैलो गरिरहेका छन् । घरमै स्वास्थ्य जाँचेर औषधि लेख्छन् । होम आइसोलेसनमा बसेकालाई मध्यनजर गरेर घरदैलोमा पुगेर निःशुल्क सेवा गरिरहेको उनले बताए । दिनमा १२ जनाको घरमै पुगेर उपचार र ६३ जनालाई फोनबाट काउन्सिलिङ गरिरहेको उनले बताए ।

दाङ तुलसीपुरमा अक्सिजन सिलिन्डर जुटाउँदै अभियानकर्मी

जिल्लामा दैनिक मृत्यु बढिरहेको छ । घाटमा मलामी र दाउरा छैनन् । दाउरा संकटले कतिपय शव आधा जलेको अवस्थामा देखिए । यो दृश्य देखेपछि बबई किनारमा व्यवसाय गर्दै आएका शीतलपुरका देवीराम कुसारीको मनले मानेन । त्यसपछि उनी घाट व्यवस्थापन तथा दाउरा व्यवस्थापन समिति बनाएर दाउरा जुटाउने अभियानमा लागे । अहिले घाटमा दाउरा अभाव छैन । घोराहीका वीरु खत्री एक वर्षदेखि मास्क बाँड्दै हिँडिरहेका छन् ।

घोराहीका युवाले संक्रमितलाई पौष्टिक आहार वितरण गरिरहेका छन् । कोरोना अस्पतालमा पुगेर उनीहरूले बिरामी र स्वास्थ्यकर्मीलाई नियमित रूपमा अन्डा, चनालगायत पौष्टिक आहार तयार पारेर वितरण गरिरहेका हुन् । तुलसीपुरको शीतलपुरस्थित कोरोना संक्रमितलाई दाहसंस्कार गर्ने ठाउँमा दाउरा संकलन गर्न पनि उनीहरू खटे । अन्य गाउँपालिकामा पनि युवाहरू यसैगरी पौष्टिक आहार खुवाउने अभियानमा जुटेका छन् ।

तुलसीपुरको शीतलपुरस्थित शवदाह स्थलमा दाउरा जुटाउँदै युवा

घोराहीको एक नवविवाहित जोडीले कोरोनाको संकटमा अक्सिजन खरिद गर्न विवाह खर्च कटाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ सहयोग गर्‍यो । कोरोनाको महामारीमा विवाह गरेका घोराही–१८ नवलपुरका अविनाश राना र सिर्जना राना कवरले अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि सहयोग गरेका हुन् ।

समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न यस कार्यले सबैलाई हौसला थपेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । अक्सिजन अभावमा बिरामीको उपचार गर्न समस्या भइरहेका बेला उक्त रकमले धेरै सहयोग पुग्ने उनले बताइन् । निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष बलिभद्र रानाले प्रतिष्ठानलाई २५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराए । गोर्खा ग्रुप प्रालि घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानाई अक्सिजन प्लान्ट सञ्चालनका लागि २ लाख १ हजार र अक्सिजन रिफिल गर्न ३६ हजार रुपैयाँ उपलब्ध गराएको छ । अक्सिजन अभाव भएकाले प्लान्ट जडानका लागि सहयोग गरेको गोर्खा ग्रुपका सीईओ नवलसिंह जीएमले बताए ।

अस्पताललाई सहयोग

कपिलवस्तु जिल्ला अस्पतालमा पीपीई, मास्क र ग्लोब्स अभाव थियो । ती सामग्री धोएर पुनः प्रयोग गर्नुपर्ने अवस्था आयो । अक्सिजन सिलिन्डर अभाव भयो । बिरामीको छटपटी देखेर डा. गणेश क्षत्रीले फेसबुक स्टाटस लेखे– ‘अवस्था बेहाल छ, सहयोग गर्नूस् । डाक्टरलाई उत्प्रेरणा दिनूस् ।’

कान्तिपुर दैनिकमा यो समाचार प्रकाशन भएपछि मनकारीले सहयोग बढाए । पछिल्लो १० दिनमा अस्पतालका लागि २९ लाख रुपैयाँ नगद जुटेको छ । १५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री संकलन भएको छ । सुरुमा तौलिहवा चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले सहयोग अभियान चलाए । ‘१५ थान सिलिन्डरका लागि अभियान चलाएँ,’ उनले भने, ‘शनिबार र आइतबार मात्र ३० वटा अक्सिजन सिलिन्डरका लागि रकम जम्मा भयो ।’ उनले तीन दिनमा ९ लाख रुपैयाँ बढी संकलन गरे । त्यसबाट ३० वटा अक्सिजन भरिएको सिलिन्डर खरिद गरेर अस्पताललाई प्रदान गरे । उनीसँग १ लाख ८० हजार रुपैयाँ अझै बाँकी छ । मायादेवी गाउँपालिकाले अस्पताललाई २ लाख सहयोग गरेको छ ।

तौलिहवा चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले सहयोग अभियान चलाएर उठाएको रकमले खरिद गरेर ल्याइएको अक्सिजन सिलिन्डर कपिलवस्तु जिल्ला अस्पताल परिसरमा

महाराजगन्ज नगरपालिकाले ५ लाख, विजयनगर गाउँपालिकाले ५ लाख, बुद्धभूमि नगरपालिकाले ३ लाख, यशोधरा गाउँपालिकाले ३ लाख, तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिले ५ लाख, सनसाइन सामाजिक विकास संस्थाले १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै २० जनाले अस्पतालको खातामा १ हजारदेखि १ लाख रुपैयाँसम्म सहयोग पठाएका छन् । ‘स्थानीयले गरेको सहयोगबाट उत्साहित छौं,’ डा. क्षत्रीले भने, ‘अब मेडिकल इक्युपमेन्टको अभाव रहेन ।’ अन्य एक दर्जन संस्थाले नगद र स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

महामारीमा पनि संघ–प्रदेश टकराव

सम्पादकीय

कोभिड–१९ महामारीको प्रतिकार्यमा समेत स्थानीय, संघ र प्रदेश सरकारबीच टकराव देखिनु अस्वाभाविक मात्र होइन, घातक पनि छ । आपत्कालीन अवस्थामा नागरिकको जीवन–मरणसित जोडिएको सवालमा पनि विभिन्न तहका सरकारबीच मनोमालिन्य देखिनुलाई कसैगरी सामान्य मान्न मिल्दैन ।

जनशक्ति र अक्सिजन अभावले सञ्चालन हुन नसकेको कैलालीको गेटा मेडिकल कलेजको आइसोलेसन (बायाँ) र सेती प्रादेशिक अस्पताल परिसरमा पाल टाँगेर बनाइएको उपचार कक्ष । फाइल तस्बिर

गत वर्षदेखि नै यस्ता गुनासा आइरहेका छन् । खासगरी, पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आपसी टकरावकै कारण स्थानीय, प्रदेश र संघीय सरकार अलग–अलग बाटो हिँड्दा महामारी नियन्त्रण कार्य प्रभावित भैरहेको विषय गम्भीर छ । संक्रमितको चापका कारण स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त छ, तर संकट व्यवस्थापनको दायित्व भएका विभिन्न तहका सरकारबीच समन्वय र सहकार्यको बिलकुल अभाव देखिन्छ । अवस्था कतिसम्म छ भने जिम्मेवार कतिपय प्रतिनिधिहरूबीच त बोलचालसमेत छैन । यस्तो शैलीले कसरी प्रभावकारी ढंगबाट महामारी नियन्त्रणमा आउन सक्ला, सम्बन्धित सबैले विचार पुर्‍याउनुपर्छ ।

विश्वव्याधिसित जुध्न राज्यका सम्पूर्ण संयन्त्रहरूले युद्धस्तरमा काम गर्नुपर्ने बेला हो यो । लडाइँमा जसरी काम गर्नु भन्नुको अर्थ प्रतिकार्यको रफ्तार तीव्र बनाउनु मात्र होइन, सम्बन्धित सबै पदाधिकारी तथा निकायहरूले योजनाबद्ध र सुस्पष्टताका साथ आ–आफ्नो मोर्चा सम्हाल्नु पनि हो । र, यस क्रममा कहीँ–कतै तालमेल बिग्रने परिस्थिति आउन नदिई आपसी समन्वयमा सहकार्य गर्नु हो । कुनै एक पक्षले त्रुटि गर्दा मात्रै पनि महामारी नियन्त्रण असम्भव हुने भएकाले त्यस्तो अवस्था आउन नदिन जिम्मेवार अधिकारी तथा निकायले बेलैमा ध्यान दिनु आवश्यक हुन्छ । यतिबेला तालमेलविहीनता तथा अन्योलको अवस्था जति लामो अवधि रहन्छ, महामारीलाई नियन्त्रणमा लिन त्यति नै सकस हुन्छ । त्यसैले, तीनै तहका सरकारले आपसी अहम् र तेरो–मेरोभन्दा माथि उठेर महामारीलाई नियन्त्रणमा लिने प्रयास गर्नुपर्छ । त्यसका निम्ति सबैले आ–आफ्नो परिभाषित भूमिकाअनुसार कार्य गर्नुपर्छ । कहीँ–कतै बाधा देखिए सहमतिमा फुकाउनुपर्छ । संघ सरकार र संकट व्यवस्थापन केन्द्रले अलि ठूलो छाती देखाउँदै गाँठो फुकाउने अग्रसरता लिनुपर्छ । र, सामूहिक प्रयत्नबाट मात्रै सही व्यवस्थापन हुन सक्ने हेक्का सबैले राख्नुपर्छ ।

जानकारहरूका अनुसार संक्रमित र अन्य बिरामी सँगैसँगै भएकैले धनगढीमा यतिबेला कोरोनाको सन्त्रास बढी छ । सेती प्रादेशिक अस्पतालमा मात्रै दैनिक सरदर ८ जनाको मृत्यु हुने गरेको छ । अस्पतालको आकस्मिक कक्ष मात्र होइन, बरन्डा र अस्पतालबाहिर टाँगिएको पालसमेत खचाखच भरिँदा पनि सरकारले वैकल्पिक व्यवस्था गर्न सकेको छैन । उता, जनशक्ति र अक्सिजन अभावकै कारण कैलालीको गेटा मेडिकल कलेजको आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन ।

गेटाको आइसोलेसन कक्ष निर्माणको आफ्नै कथा छ, जसले संघ र प्रदेशबीचको तनाव प्रस्टै झल्काउँछ । दुई साताअघि संघ सरकारले गेटा मेडिकल कलेजको निर्माणाधीन भवनमा २ हजार शय्याको आइसोलेसन निर्माण गर्ने निर्णय गर्‍यो । महामारी नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न संघ सरकारले प्रतिनिधि तोकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट धनगढी पुगेर विभिन्न निकायका प्रतिनिधिसँगै मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश सरकारसँग छलफल गर्न खोजे । तर उनले बोलाएको बैठकमा मुख्यमन्त्री मात्रै होइन, प्रदेश सरकारमा स्वास्थ्य क्षेत्र हेर्ने विभागीय मन्त्री कृष्णराज सुवेदीसमेत गएनन् । त्यसपछि मन्त्री भट्टले कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायलाई परिचालन गरी गेटामा आइसोलेसन कक्ष बनाए । गेटामै आइसोलेसन कक्षका निम्ति भवन उपलब्ध गराइदिन पहिल्यै संघलाई पत्राचार गरिसकेको प्रदेश सरकारले भने त्यसपछि थप आइसोलेसन वार्ड सञ्चालन गर्न धनगढीमै निजी भवन भाडामा लिएर काम थाल्यो । अहिलेसम्म दुवै कक्ष सञ्चालनमा आएका छैनन्, र यसको मारमा संक्रमितहरू परिरहेका छन् ।

तसर्थ, संघ र प्रदेशको यो अनावश्यक जुँगाको लडाइँ तुरुन्त रोकिनुपर्छ । महामारी नियन्त्रण साझा सवाल भएकाले यस कार्यमा उनीहरूबीच उचित समन्वय हुनुपर्छ । प्रदेशको अनुरोध संघले नसुन्ने र संघको अग्रसरतामा प्रदेशले साथ नदिने हुनु हुँदैन । महामारी नियन्त्रणलाई खास सरकार वा निकायको जस–अपजसको प्रश्नभन्दा पनि राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिइनुपर्छ । खासगरी, महामारी नियन्त्रणमा कार्यक्षेत्रमै भिडिरहेका स्थानीय र प्रदेशको अस्तित्वलाई नस्विकार्ने भूल संघले गर्नु हुँदैन । संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सुदूरपश्चिममा कोरोना संक्रमित बिरामीको उपचार तथा अन्य व्यवस्थापनमा केही गर्नुपरे मन्त्री भट्ट वा आफूलाई सीधै खबर गर्नू भन्ने निर्देशन दिएपछि प्रदेश सरकारका प्रतिनिधिहरूको मनमा चिसो पस्नु स्वाभाविक हो ।

अवश्य पनि प्रमुख जिल्ला अधिकारीले संघ सरकारसित सम्पर्क गर्नु अन्यथा होइन, तर प्रदेश सरकार आफैं पनि खटिइरहेको अवस्थामा उसको भूमिकालाई अनावश्यक उपेक्षा गर्ने काम कदापि गर्नु हुँदैन । तहगत सरकारहरूबीच उचित समन्वय र विश्वासको वातावरण भएर त्यहीअनुसार प्रतिकार्य हुन सकेमा मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सजिलो हुन्छ । त्यसैले यो विषयमा सकेसम्म संघ–प्रदेशबीचको मनोमालिन्य हुनु नै हुँदैन, भैहालेछ भने पनि बेमेलको हिसाब पछि हुँदै गर्छ, नागरिकको जीवन बचाउने सवालमा जस्तै अविश्वासका बीच एकले अर्कोलाई सघाउनबाट कोही पनि पछि हट्नु हुँदैन ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×