कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपाल छाड्दै विदेशी

दुई यात्रु र केही राहत सामग्री लिएर आएको कतार एयरवेजको विमान २५४ जना लिएर फर्कियो
सुरज कुँवर

काठमाडौँ — कोरोना महामारीका कारण राजधानीमै अक्सिजन अभावले संक्रमितको मृत्युका घटना बढेपछि अमेरिकालगायतका विभिन्न मुलुकका नागरिक आफ्ना कूटनीतिक नियोगमार्फत स्वदेश फर्किन थालेका छन् ।

नेपाल छाड्दै विदेशी

नेपाल सरकारले लगाएको निषेधाज्ञाका कारण काठमाडौंसँगै देशका विभिन्न भागमा अलपत्र परेका अमेरिकी र युरोपियन मुलुकका २ सय ५४ जना नागरिक आइतबार राति कतार एयरवेजको विमानबाट स्वदेश फर्किए । निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको नवौं दिनमा अमेरिका र युरोपका लागि भएको यो पहिलो रिपार्टेसन (स्वदेश फिर्ती) उडान पहिलो हो ।

कतार एयरवेजको काठमाडौं कार्यालयका अनुसार आइतबार साँझ ८ बजे दोहाबाट काठमाडौं आइपुगेको बोइङ ड्रिमलाइनर विमान राति नै २ सय ५४ जना लिएर फर्केको हो । ती यात्रु दोहाबाट नियमित व्यावसायिक उडानबाट आफ्ना गन्तव्यमा जानेछन् । ‘आजको रिपार्टेसन फ्लाइटमा ९० प्रतिशत अमेरिकी नागरिक छन् । तीमध्ये करिब ६० प्रतिशत कूटनीतिक नियोगमा आबद्ध हुन् । बाँकी १० प्रतिशत बेलायत, नर्वे, फ्रान्स, जर्मनी र इटालीका नागरिक छन्,’ उडानसम्बद्ध एक अधिकारीले कान्तिपुरसँग भने ।

दोहाबाट उक्त विमानले अमेरिकी दूतावासका सहचारी सन अलन सिंह र नेपाली कर्मचारी उत्तम लामा गरी दुई जना र केही राहत सामग्री लिएर आएको थियो । कोरोना संक्रमणले अन्तर्राष्ट्रिय उडान स्थगन भएका कारण सिंह दुबई र लामा अमेरिकामा रोकिन पुगेकाले दूतावासको अनुरोधमा नेपालले दुवैलाई निषेधाज्ञामा पनि प्रवेश अनुमति दिएको थियो । यसअघि सोमबार हिमालय एयरलाइन्सले नेपालमा रहेका ५२ बंगलादेशीलाई ढाका पुर्‍याएको थियो ।

महामारी बढेपछि अमेरिकालगायत विभिन्न मुलुकका नागरिक आफ्ना कूटनीतिक नियोगमार्फत नेपालबाट स्वदेश फर्किन चाहिरहेका छन् । नेपालमा पर्यटक ल्याउने टर्किस र कतारले बुकिङमा चाप भएकाले थप उद्धार उडानका लागि अनुमति मागेको नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार टर्किस एयरलाइन्सले अमेरिकी दूतावाससँगको सहकार्यमा सोमबार इस्तानबुल–काठमाडौं–इस्तानबुल चार्टर उडान गर्न पहल गरेको छ । एयरलाइन्सका नेपाल प्रमुख अब्दुल्लाह टुनेजर केजीजीले स्वदेश फर्किन चाहने विदेशीहरूको सोधपुछ आएकाले जेठ ८ र १३ गतेका लागि अनुमति माग्दै टर्कीबाट इमेल लेखेका छन् । यसबारे प्राधिकरणले निर्णय भने नगरिसकेको उपप्रबन्धक भुलले बताए । त्यस्तै कतारले जेठ ८ गते जर्मन र जेठ ११ गते अमेरिकी नागरिकका लागि उद्धार उडान गर्दै छ । त्यसपछि युरोपका लागि पुनः दुइटा उडान गर्ने कतारले जनाएको छ ।

त्यस्तै, काठमाडौंस्थित रुसी दूतावासले पनि नेपालमा अलपत्र परेका कम्तीमा १ सय २० नागरिकलाई स्वदेश लैजान आफ्नो विमानका लागि अनुमति मागेको छ । तर विमान अवतरण हुने मिति भने तय भइसकेको छैन ।

यसैबीच, नेपालमा अलपत्र परेका भारतीयलाई तीन वटा उडानबाट साउदी अरेबिया पुर्‍याउन हिमालय एयरलाइन्सले पनि अनुमति मागेको छ । प्राधिकरणले अनुमति दिइसकेको छैन । ‘अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयलाई आफ्ना नागरिकलाई स्वदेश फर्काउन नोट लेखेर दिएकाले टर्किस एयरलाइन्स र कतार एयरवेजले उसको पत्रका आधारमा रिपार्टेसन (स्वदेश फिर्ती) उडानको अनुमति पाएका छन्,’ यी उडानमा संलग्न अधिकारीले भने ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का कार्यवाहक अध्यक्ष विनय बस्नेतका अनुसार अहिले करिब ३ हजार विदेशी नेपालमा अड्किएका छन् । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार उद्धार उडानमा संलग्न वायुसेवालाई हाल अनुमति दिइएका उद्धार उडान कूटनीतिक नियोग र सम्बन्धित मुलुकका नागरिकका लागि तोकिएकाले भिसा (विद्यार्थी–पर्यटक) वाहक नेपाली तथा अन्यलाई टिकट बिक्री नगर्न सचेत गराएको छ ।

‘दूतावासहरूको अनुरोधमा हुन लागेका यस पटकका चार्टर उडानमा चर्को भाडा नअसुल्न तथा जसलाई नियमअनुसार उद्धारको आवश्यकता छ तीबाहेक अन्य नेपाली लगायतलाई जथाभावी टिकट नबेच्न मन्त्रालय, प्राधिकरण, पर्यटन विभागलगायतका तर्फबाट संयुक्त रूपमा चार्टर उडानमा संलग्न कतार र टर्किसलाई आइतबार इमेलबाट निर्देशन दिइएको छ,’ उपप्रबन्धक भुलले कान्तिपुरसँग भने, ‘वायुसेवाका टिकट बेच्ने एजेन्टले यात्रुबाट भाडा बढी लिएको गुनासो आए उद्धार उडानको अनुमति रोक्का गर्नेछौं । वायुसेवालाई पनि कारबाही गरिनेछ ।’

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार टर्किस एयरले पनि काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका कर्मचारी, अमेरिकी नागरिक, उक्त मुलुकका सरकारी कर्मचारी र कानुनी रूपमा स्थायी बसोबासको प्रमाण भएका तथा अन्य विदेशी नागरिकका लागि इस्तानबुल फर्केको छ । टर्किसको वाइडबडी विमानले २ सय ८५ यात्रु लिएर फर्केको हो ।

युरोपेली मुलुक जाने यात्रुलाई १ हजार २ सय र अमेरिका जानेलाई १ हजार ५ सय ५० डलरभन्दा बढीमा टिकट बिक्री नगरिएको टर्किस एयरलाइन्सले जनाएको छ । त्यस्तै कतारले युरोपका लागि १ हजार ३ सय र अमेरिकाका लागि १ हजार ६ सय डलरमा एकतर्फी टिकट बिक्री गरिएको जनाएको छ । तर, अमेरिकाको सियाटल, फिलाडेल्फिया र डालस जाने यात्रुबाट १ हजार ८ सय ९५ लिइएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । कतारले चार्टर उडानको टिकट बिक्री गर्ने एजेन्सीलाई सर्भिस चार्ज मात्रै दिइने भएकाले तोकिएको भन्दा महँगो नहुने भनेको छ ।

नाट्टाका एक पदाधिकारीले केही एजेन्टले वायुसेवाले तोकेको भन्दा मनोमानीमा टिकट बिक्री भइरहेको गुनासो यात्रुबाट सुनिएको बताएका छन् । ‘चार्टर उडानमा गत वर्ष जस्तै बदनामी र कालोबजारी नहोस् भनेर मंगलबार पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी र पर्यटन सचिव यादवप्रसाद कोइरालालाई संस्थागत ज्ञापन बुझाइसकेका छौं । मन्त्रालयको निर्णयको पर्खाइमा छौं,’ ती पदाधिकारीले कान्तिपुरसँग भने ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?