अक्सिजनको हाहाकार हुनुको दोषी सीसीएमसीको निर्णय हो : एमाले सांसद श्रेष्ठ

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले कोरोना संक्रमित राखिएका अस्पतालहरूमा पछिल्लो हप्ता भएको अक्सिजनको हाहाकारको दोषी उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को एक निर्णय भएको बताएका छन् । 

अक्सिजनको हाहाकार हुनुको दोषी सीसीएमसीको निर्णय हो : एमाले सांसद श्रेष्ठ

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सांसद श्रेष्ठले सीसीएमसीले अस्पतालहरूलाई कोटा तोक्ने निर्णय गरेर अस्पतालहरूमा अक्सिजनको हाहाकार अवस्था ल्याएको बताएका हुन् ।

'अहिले अस्पतालमा अक्सिनजको हाहाकार हुनुको दोषी सीसीएमसीको निर्णय छ,' समितिले कोरोनासम्बन्धमा अध्ययन र अनुगमन गर्न गठित उपसमितिका संयोजकसमेत रहेका सांसद श्रेष्ठले भने, 'सीसीएमसीले फलानो अस्पतालाई यति र अर्कोलाई यति भनेर जुन कोटा तोक्ने काम गर्‍यो त्यसपछि यो हाहाकार सुरु भएको हो । सीसीएमसीले कुन अक्सिजन प्लान्टमा कति उत्पादन हुन्छ भन्ने पनि नहेरी त्यस्तो निर्णय गरियो । कति ठाउँमा अक्सिजन प्लान्टको क्षमताभन्दा बढी कोटा तोकिदियो ।'

यसअघि नियमित रूपमा अक्सिजन लिइरहेका अस्पताललाई अर्कै अक्सिजन प्लान्ट तोकिदिनाले पनि समस्या आएको सांसद श्रेष्ठको भनाइ थियो । त्यस कारणले अस्पतालले अक्सिजन प्राप्त गर्न नसकेको र अक्सिजन आपूर्ति प्रणाली भत्किँदा पनि हाहाकारको अवस्था आई बिरामीको मृत्यु भएको उनले बताए ।

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको सीसीएमसी भीरमा फलेको फर्सीजस्तो भएको भन्दै सांसद श्रेष्ठले कोरोना नियन्त्रणको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने पनि माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको कोटा नियन्त्रणको जिम्मेवारी फिर्ता पाएको बताए । उनले अहिले काठमाडौं उपत्यकामा मागको आधा मात्रै अक्सिजन उपलब्ध भइरहेको बताए । आगामी दिनमा अक्सिजन प्लान्ट तयार गरेर भए पनि त्यसको आवश्यकता पूर्ति गर्नुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?