सरकारको लापरबाहीले कोरोना संक्रमितहरुले ज्यान गुमाउनु पर्‍यो : सर्वोच्च बार

काठमाडौँ — सर्वोच्च अदालत बार एसोसिएसनले सरकारको हेलचेक्र्याइँ र लापरबाहीका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाउनुपरेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले आइतबार विज्ञप्ति जारी गरी सरकारले उच्च सतर्कता नअपनाएका कारण संक्रमितहरुको मृत्यु भएको निष्कर्ष निकालेको हो ।

‘महामारीको समयमा संविधान, कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेका गरेको सिद्धान्तको परिपालना नगरी सरकारले समयमा उच्च सतर्कता नअपनाएर लापरवाहीपूर्ण क्रियाकलाप गरेका कारण नागरिकले मृत्युवरण गरेकाले’ सर्वोच्च अदालत बारको विज्ञप्तिमा भनिएको छ, ‘महामारीको संक्रमणबाट हालसम्म ज्यान गुमाउन पुगेका ४ हजार ८ सय ५६ व्यक्तिमध्ये अधिकांश सरकारकै अकर्मण्यताका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ ।’

सर्वोच्च अदालत बार एसोसिएसन सर्वोच्च अदालतमा बहस पैरवी गर्ने कानुन व्यवसायीहरुको छाता संगठन हो ।

सर्वोच्च अदालत बारले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरेर कोरोना महामारी नियन्त्रणका लागि विशेष कानुन जारी गर्न माग गरेको छ । उसले राज्यको सबै शक्ति कोरोना नियन्त्रण र रोकथामका लागि केन्द्रित गर्न अनि सहरी क्षेत्रमा र कतिपय ग्रामीण भेगमा अस्पताल निर्माणमा जोड दिएको छ ।

खोप अभियान प्रभावकारी बनाउन भन्दै सर्वोच्च बारले पहिलो चरणमा कोभिसिल्डको खोप लगाएर दोस्रो चरणमा लगाउन नपाएकाहरुका लागि खोप लगाउन माग गरेको छ । अनि खोपका लागि अन्तर्राष्ट्रिय समूदायसमक्ष पनि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले हरेक अस्पतालमा अक्सिजनको व्यवस्थ गर्न भनेको छ । रेम्डेसिभिर इन्जेक्सन, खाद्यान्न लगायतका सामग्रीको कालोबजार गर्नेमाथि कडा कारवाही गर्न पनि सर्वोच्च अदालत बार एसोसिएसनको माग छ ।



प्रकाशित : जेष्ठ २, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?