जेठ २ मा फर्किन सहमत भए ओली 

काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् ।

जेठ २ मा फर्किन सहमत भए ओली 

सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए । एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टीर् कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने बताउँदै आएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा जेठ २ आसपासबाट पार्टीलाई अघि बढाउने सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो । त्यही विषयमा थप छलफल गर्न दोस्रो पुस्ताका नेताहरूसमेतको बैठक सिंहदरबारमा करिब चार घण्टा बसेको थियो । बैठक सकारात्मक रूपमा अघि बढेको र बाँकी विषयमा शनिबार कार्यदल बनाएर छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । ‘कुराकानी सौहार्दपूर्ण तरिकाले सकारात्मक रूपमा अघि बढेको छ,’ नेम्वाङले भने, ‘बाँकी सहमतिका लागि कार्यदलमा छलफल हुन्छ ।’

छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।

ओलीले सम्हाले कार्यभार

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो कार्यकालका लागि पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

चार दिनअघि प्रतिनिधिसभाको विश्वास गुमाएका ओली राष्ट्रपतिले दिएको समयसीमाभित्र अन्य दलले बहुमतसहित प्रधानमन्त्री दाबी गर्न नसकेपछि ठूलो दलको नेताका हैसियतमा पुनः प्रधानमन्त्री बनेका हुन् । उनले शुक्रबारै आफ्नो पुरानै मन्त्रिपरिषद्का सदस्यलाई यथावत् जिम्मेवारी दिँदै मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरूले पनि शुक्रबारै शपथग्रहण गरी जिम्मेवारी सम्हालेका छन् ।

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहसँग पार्टीभित्र मिलेर जाने सहमति भएपछि ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । उनले मन्त्रिपरिषद्मा शुक्रबार खनाल–नेपाल पक्षका नेतालाई समेटेनन् । खनाल–नेपाल पक्षसँग पार्टीभित्रका विवादका विषयमा प्याकेजमा सहमति खोज्ने प्रयास भइरहेकाले तत्काल पुरानैलाई निरन्तरता दिएका हुन् ।

‘जेठमै प्रतिनिधिसभा विघटन हुन सक्छ’

प्रधानमन्त्री ओलीले जेठभित्रै प्रतिनिधिसभा विघटन गरी मंसिरमा निर्वाचन हुने गरी मिति तोक्न सक्ने अनुमान विपक्षी गठबन्धनले गरेको छ । संविधानको धारा ७६ (२) अनुसार गठबन्धनको सरकार बनाउन नसकेको विषयमा समीक्षा गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले मध्यावधि निर्वाचनको आकलन गरेको हो ।

कांग्रेसका एक नेताका अनुसार राजनीतिका सम्भावित घटनाक्रमको समीक्षा गर्दै निर्वाचनमा जाने परिस्थिति बने विपक्षी गठबन्धन बनाएरै अघि बढ्ने कि भन्नेबारेमा छलफल भएको छ ।

सबै तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित : जेष्ठ १, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?