प्रधानमन्त्री ओली भन्छन्- आफूले सरकार बनाउन नसक्नु र अरुले सरकार बनाउनु प्रतिगमन !

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताएका छन् । तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ‌ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताए । 

प्रधानमन्त्री ओली भन्छन्- आफूले सरकार बनाउन नसक्नु र अरुले सरकार बनाउनु प्रतिगमन !

राष्ट्रपति कार्यालयमा शुक्रबार शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि बोल्दै प्रधानमन्त्रीले मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको बताएका हुन् । 'यतिबेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन्,' प्रधानमन्त्री ओलीले भने, 'आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्, मुलुकमा प्रतिगमन भएको छ ।'

वर्तमान सरकारलाई प्रतिगमनमा गएको देख्नेहरूले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कोरोना महामारीका बेला सबै राजनीतिक दलहरू एकजुट भएर त्यसको नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

प्रकाशित : वैशाख ३१, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?