नेपाललाई सहायता पठाउने अन्तिम गृहकार्यमा बेलायत र स्विस सरकार 

नवीन पोखरेल

लन्डन — नेपालमा कोरोना भाइरसको दोश्रो लहरले विकराल रुप लिइरहँदा बेलायत र स्विस सरकार नेपाललाई सहायता पठाउन अन्तिम गृहकार्य गरिरहेको सम्बन्धित देशका राजदूतले जानकारी दिएका छन् ।

नेपाललाई सहायता पठाउने अन्तिम गृहकार्यमा बेलायत र स्विस सरकार 

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल सरकारको निर्देशनअनुसार खोपसहितका अन्य अत्यावश्यक सहयोगका लागि बेलायत सरकारसँग सहयोग माग गरिएको जानकारी दिए ।

‘नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायतसमक्ष विशेष सहयोग माग गरिएको छ’ उनले भने, ‘हाम्रो आग्रहमा बेलायतको उच्च सरकारी तहबाट सकारात्मक ‘रेस्पोन्स’ प्राप्त भएको छ, हामी छिट्टै सहायता जानेमा विश्वस्त छौं ।’ दूतावासले अक्सिजन कन्सन्ट्रेटर मेसिनलगायत स्वास्थ्य सामग्रीमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

स्विस सहयोग एक साताभित्र

स्विजरल्याण्डका लागि नेपाली राजदूत मणि भट्टराईले स्विस सरकारले एक साताभित्र स्वास्थ्य सामग्री पठाउने तयारी गरेको जनाए । मंगलबार विदेश मामिलासम्बन्धी संघीय विभाग (एफडीएफए स्विजरल्याण्ड) को एसिया प्यासिफिक डिभिजनका प्रमुखसँगको भेटमा सो प्रतिबद्धता आएको उनले जानकारी दिए ।

राजदूत भट्टराईले काठमाडौंस्थित स्वीस दूतावासले स्विस मेडिकल सामग्री पारवहनका लागि नेपालको परराष्ट्र मन्त्रालयका युरोप अमेरिका डिभिजनसँग समन्वय गरिरहेको पनि बताएका छन् । उनले विश्व स्वास्थ्य संगठन र जेनेभास्थित अन्तर्राष्ट्रिय रेडक्रस महासंघसँग पनि अत्यावश्यक मेडिकल सामग्री आपूर्तिका लागि पहल भइरहेको बताए ।

संघसंस्थाको पहल जारी

लन्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले आफ्नो क्षेत्रका सांसद डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिस सरकारसँग सहयोगका लागि पहल गरिदिन आग्रह गरेपछि सोको गृहकार्य भइरहेको जवाफ पाएको बताए ।

एनआरएनए यूकेले बुधबार साँझ लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपाली मूलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिहरुबीच छलफल गरि सहायता पठाउन पहल सुरु गरेको छ ।

यसअघि कोभिड–१९ विरुद्ध नेपालको लडाइँमा युरोपेली संघ (ईयू) ले २० लाख युरो बराबरको मानवीय सहायता दिने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?