२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ओलीको विकल्प खोज्नैपर्छ, सबैले आत्मसमीक्षा गरौं : डा. भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । प्रतिपक्षी दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको उक्त प्रतिक्रिया आएको हो । 

ओलीको विकल्प खोज्नैपर्छ, सबैले आत्मसमीक्षा गरौं : डा. भट्टराई

भट्टराईले बिहीबार समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ।'

प्रतिपक्षी दलहरूबीच वैकल्पिक सरकार गठनका लागि एकता हुन नसक्नु र ओलीको विकल्पमा सरकार गठन हुन नसक्ने अवस्था बन्नुलाई भट्टराईले बिडम्बना भनेका छन् ।

'जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,' भट्टराईले लेखेका छन्, 'सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् ।'

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्मका लागि संविधानको धारा ७६ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी थिइन् । तर, प्रतिपक्षी दलहरूमा समझदारी हुन नसक्दा वैकल्पिक सरकार बन्न सकेन ।

अब संविधानको धारा ७६ उपधारा ३ अनुसारको संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको तयारी भइरहेको छ । उक्त व्यवस्थाअनुसार ओली पुनः प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित : वैशाख ३०, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?