ओलीलाई ठाकुर र महतोले दिए बधाई, एमालेले बहुमतको सरकारमा दाबी नगर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई ठाकुर र महतोले दिए बधाई, एमालेले बहुमतको सरकारमा दाबी नगर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई दिएका छन् । प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुगेका ठाकुर र महतोले आफ्ना मागबारे छलफल गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । 'उहाँहरू आउनुभएको थियो । उहाँहरूका जुन मागहरू छन् त्यसै सन्दर्भमा कुराकानी भयो । उहाँहरूले प्रधानमन्त्रीलाई बधाई दिनभुयो, प्रधानमन्त्रीले धन्यवाद दिनुभयो,' नेम्वाङले भने, 'मागहरूबारेमा थप छलफल गर्दै अगाडि बढ्ने कुरा भयो ।'

ठाकुर र महतोले अन्य दलहरूसँग पनि आफ्ना मागबारे नै छलफल गरेको र एमालेसँग पनि सोही विषयमा छलफल गर्न आएको नेम्वाङको भनाइ थियो । 'उहाँहरू मागकै बारेमा अडानमा हुनुहुन्छ । त्यसैबारेमा कांग्रेस, माओवादीसँग पनि कुरा गरेका थियौं भन्नुभयो । सोही मागमा रहेर अडिग रह्यौं भन्ने उहाँहरूको भनाइ थियो,' भेटमा सहभागी नेम्वाङले भने ।

प्रधानमन्त्रीले बहुमतको सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्न चाहेका छन् ।

'प्रधानमन्त्रीले जारी प्रक्रियालाई पर्खिइराख्नुभएको छ । अब ९ बजेपछि अर्को प्रक्रिया सुरु हुन्छ,' नेम्वाङले भने, 'संविधानको धारा ७६ उपधारा २ तिर जाइँदैन । ९ बजेपछि सायद ९:५, ९:७ तिर अहिलेको अर्को प्रक्रिया घोषणा हुन्छ होला ।'

नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री ओलीले जसपा नेताहरूसँग आग्रह नगरेको बताए । 'सत्ता समीकरणबारे जसपाका नेताहरूसँग कुरा भएको छैन,' उनले भने ।

राष्ट्रपतिले दिएको तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिने भएका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

अक्सिजन सिलिन्डर उपलब्ध गराउन गृह मन्त्रालयको अपील

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले अस्पतालबाहेक अन्य प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर नजिकका स्थानीय प्रशासन वा स्थानीय निकायमा उपलब्ध गराउन अपील गरेको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड संक्रमितको उपचारको लागि अक्सिजन अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सिलिन्डर उपलब्ध गराइदिन विशेष अपील गरेका हुन् । 'यस विषय परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा गृहमन्त्रालयले समन्वयकारी भूमिका निर्वा गरिरहेको हुँदा कोभिड उपचारको लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पताल बाहेक अन्य प्रयोजनमा विभिन्‍न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, CTEVT का तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर स्वत:स्फूर्त रुपमा नजिकको स्थानीय प्रशासन वा सुरक्षा निकायमा उपलब्ध गराई,' विज्ञप्तिमा लेखिएको छ ,'कोभिड उपचारजस्तो मानवीय कार्यमा योगदान दिनुभई नेपाल सकारको कोभिड १९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिताका लागि गृहमन्त्रालय सबैमा विशेष अपील गर्दछ ।'

मन्त्रालयकै पहलमा बिहीमात्रै नेपाली सेनाको स्काईट्रक प्रयोग गरी ६० सिलिन्डर काठमाडौं ल्याइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ २०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×