कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रहरी र सिकारी समूहबीच गोली हानाहान

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बाँके जंगलमा प्रहरी र सिकारी समूहबीच बिहीबार अपरान्ह दोहोरो भिडन्त भएको छ । प्रहरीले एक बन्दुकधारीसँगै तीन थान भरुवा बन्दुक र एक मृत निलगाई नियन्त्रणमा लिएको छ ।

प्रहरी र सिकारी समूहबीच गोली हानाहान

इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट खटिएको प्रहरी गस्ती टोली जंगलमा पुग्दा दुईवटा मोटरसाइकल देखेपछि शंका लागेर जंगलभित्र पस्दा चार जनाको हतियारधारी समूहले फायर खोलेपछि जवाफी कारबाहीमा दोहोरो भिडन्त भएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए । उनले हतियारधारी समूहकातर्फबाट दुई राउण्ड र प्रहरीकोतर्फबाट पनि दुई राउण्ड गोली प्रहार भएको जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट कुनै मानवीय क्षति भने भएको छैन ।

‘बाँके जंगलमा हतियारधारी समूहले अचानक फायर खोलेपछि प्रहरीसँग दोहोरो भिडन्त भयो, एक जना हतियारधारीसहित बन्दुक र मृत निलगाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘थप तीन जना फरार छन्, उनीहरुको खोजी भइरहेको छ ।’

प्रहरीले फायर खोल्दै अघि बढेपछि हतियारधारी समूह भाग्न थालेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–४ का ४० वर्षका रणबहादुर गोले रहेका छन् । प्रहरीले घटनास्थलबाट तीन थान भरुवा बन्दुक, बारुद र फलामको काँटी बरामद गरेको छ । हतियारधारी समूहले चढेको बीआर ३०यु४६७७ भारतीय नम्बरको मोटरसाइकल र प्रदेश २, ०३२ प २५२२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

सर्लाही र महोत्तरीबीचमा २० किलोमिटर लामो जंगल छ । त्यस क्षेत्रमा घटना हुनथालेपछि जंगलकोबीचमा सशस्त्र प्रहरीको एक पोष्ट खडा गरिएको थियो । पोष्ट रहुञ्जेल अपराधिक घटना नियन्त्रणमा आएको थियो । पोष्ट हटेपछि भने फेरि अपराधिक घटना हुनथालेको प्रहरी उपरीक्षक राठौरको भनाइ छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?