१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पदाधिकारीलाई देउवाको ब्रिफिङ : 'महन्थले सहयोग गर्न सक्दिनँ भने'

काठमाडौँ — बहुमतको सरकार गठनका लागि सक्रिय कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई भेटी सरकार गठनमा आफूलाई सहयोग गर्न आग्रह गरे । तर, ठाकुर र महतोले सहयोग गर्न नसकिने जवाफ दिएको उनले साँझ आफ्नै निवासमा बोलाएको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । 

पदाधिकारीलाई देउवाको ब्रिफिङ : 'महन्थले सहयोग गर्न सक्दिनँ भने'

बैठकमा सहभागी एक नेताका अनुसार ठाकुरले ओलीले आफ्नो पार्टीका माग पूरा गरिरहेकाले पनि आफूहरुले वैकल्पिक सरकार गठनमा सहयोग गर्न नसकिने बताएका हुन् । देउवासँग बैठक सकेलगत्तै ठाकुर महतोले आफ्नो पक्षका १३ सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेका छन् । उनीहरु पक्षका दुई सांसद भने कोरोना संक्रमित छन् ।

ठाकुर महतोसँगको वार्तापछि देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि वार्ता गरेका थिए । जसपाका उपेन्द्र यादव पक्ष भने कांग्रेस र माओवादीसँग मिलेर वैकल्पिक सरकार बनाउने पक्षमा छ । तर, जसपा एक ठाउँमा आउन नसक्ने भएपछि कांग्रेस र माओवादीले सरकार बनाउने सम्भावना टरेको निष्कर्षमा दुवै पार्टीका नेताहरु पुगेका छन् । सरकार गठनका सम्भावनाबारे छलफल गर्न माओवादीको पनि स्थायी कमिटी बैठक बसिरहेको छ ।

जसपा नेता जीतेन्द्र सोनलले पनि ठाकुर र महतोले देउवालाई वैकल्पिक सरकारमा आफूहरु सहभागी नहुने र सहयोग पनि गर्न नसक्ने बताएको जानकारी दिए । 'उहाँहरुले दुवै अध्यक्षको हस्ताक्षर बिना एकजनाको मात्रै हस्ताक्षरमा तपाईंले राष्ट्रपतिलाई पत्र बुझाउनु भयो भने त्यो मान्ने हुनेछैन भनेर पनि भन्नु भएको छ,' सोनलले भने ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज राती ९ बजे सकिँदैछ ।

प्रकाशित : वैशाख ३०, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?