सगरमाथा आरोहणका क्रममा अमेरिकी र स्विस नागरिकको मृत्यु

सुरज कुँवर

काठमाडौँ — यस सिजनका लागि आरोहण खुलेको छैटौं दिनमा बुधबार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीहरुको सगरमाथामा मृत्यु भएको छ ।

सगरमाथा आरोहणका क्रममा अमेरिकी र स्विस नागरिकको मृत्यु

यी आरोहीहरुको व्यवस्थापनको जिम्मा लिएको सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको हो । निर्देशक शेर्पाले सामाजिक सञ्जालमार्फत स्विस आरोही वाराइचको निधन साउथ समिट नजिकै निधन भएको जानकारी दिएका छन् ।

उनी थकानले ग्रसित भएको पनि उनले उल्लेख गरेका छन् । ‘अब्दुल सफलतापूर्वक शिखरमा पुगे तर उनले समस्या सामना गर्न सकेनन । खाना र अक्सिजनसहित दुई शेर्पालाई पनि पठायौं तर उनलाई शेर्पाहरुले जोगाउन सकेनन,’ छाङ दावाले आफ्नो फेसबुक पेजमा लेखेका छन् । काठमाडौंस्थित सेभन समिटका अध्यक्ष मिङ्मा शेर्पाले अब्दुलको निधन बुधबार बेलुकी ८ बजे भएको बताए ।

त्यसैगरी सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको पनि बुधबार राति १२ बजे निधन भएको छ । उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो क्याम्पमा भएको हो । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूले थकान र स्नो–ब्लाइन्डनेस (हिउँका कारण हुने अन्धोपना) को सामना गर्नु परेको थियो । आरोही लियू आवश्यकताभन्दा बढी अक्सिजन र अतिरिक्त शेर्पाका साथ साउथ कोलसम्म पुगेका थिए । उनलाई अप्ठ्यारो भएपछि चौथो क्याम्पमा झारिएको थियो । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले अहिले सगरमाथाको मौसम बिग्रेकाले दुवै शवलाई आधार शिविरसम्म झार्न समय लाग्ने बताए ।

यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जस्मा ९२ महिला र ३ सय १५ पुरुष छन् । यीमध्ये १२ वटा आरोहण दलका १ सय ३० जना सेभन समिटमार्फत त्यता गएका छन् ।

यस सिजनमा नेपालका १६ वटा हिमालका लागि ८४ वटा आरोहण दलका ७४० जनाले अनुमति पाएका छन् । आरोहणमा सघाउने शेर्पासहितको संख्या करिब ३ हजार हाराहारी रहेको छ । जसमध्ये यतिबेला सगरमाथामा मात्रै विदेशी र नेपाली गरी २ हजार छन् । यस वर्ष सगरमाथाका लागि आरोहण सञ्चालन गर्नेमा सर्वाधिक आरोही व्यवस्थापनको जिम्मा सेभेन समिटको रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?