पुटिनलाई एर्दोआनको फोन : अन्तर्राष्ट्रिय समुदायले इजरायललाई कडा पाठ सिकाउन आवश्यक


काठमाडौँ — इजरायल र प्यालेस्टाइनबीच तनाव चर्किइरहेका बेला टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्षहरुसँग कुराकानी गरिरहेका छन् ।



बुधबार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । पुटिनसँग भएको टेलिफोन कुराकानीमा इजरायललाई कडा पाठ सिकाउन आवश्यक रहेको एर्दोआनले बताएका छन् । एर्दोआनले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अन्तर्राष्ट्रिय सुरक्षा बल पठाउन आवश्यक रहेको पनि बताएका छन् । इजरायल–प्यालेस्टाइन विवाद अन्त्य नभएसम्म समाधानका लागि आफूले पहल जारी राख्ने पनि उनको भनाइ छ ।
इजरायल–प्यालेस्टाइन मामिलामा संयुक्त राष्ट्र संघमा रुस र टर्की मिलेर अघि बढ्नुपर्नेमा पनि एर्दोआनले जोड दिएका छन् । परिस्थिति नियन्त्रणबाहिर जानुभन्दा पहिले नै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले हस्तक्षेप गर्नुपर्ने पनि उनको भनाइ छ । राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यका अनुसार एर्दोआनले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई कडा पाठ सिकाएर द्वन्द्व समाधान गर्नुपर्ने बताएका छन् ।
President @RTErdogan spoke by phone with President Vladimir Putin of Russia. pic.twitter.com/RqbcsAiGlE
— Turkish Presidency (@trpresidency) May 12, 2021
त्यस्तै एर्दोआनले मध्यपूर्वमा देखिएको पछिल्लो अवस्थाका बारेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि कुरा गरेका छन् । कुराकानीमा दुवै रमजानको पवित्र महिनामा अल अक्सा मस्जिदमा नमाज पढिरहेका व्यक्तिमाथि आक्रमण गर्नु जघन्य अपराध र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् ।
टर्कीको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा अनुसार प्यालेस्टिनी नागरिकको समस्या सम्बोधनका लागि पाकिस्तान र टर्की एकजुट भएर लाग्ने बताइएको छ । यस विषयलाई अन्तर्राष्ट्रिय समथर्न जुटाउनका लागि दुवै देशका विदेशमन्त्री एकसाथ अघि बढ्ने पनि जनाइएको छ ।
इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्
राष्ट्रपति एर्दोआनले यसअघि कतारका शेख तमिम बिन हमाद अल थानी, मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग पनि छुट्टाछुट्टै कुराकानी गरेका थिए ।
इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । हमासले जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै हजारभन्दा रकेट प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले ८ सय ५० वटा रकेट आफ्नो भूमिमा खसेको र प्रतिरक्षा प्रणालीले करिब २ सय रकेट गाजामै खसालिदिएको पनि बताएको छ । हमासले जेरुसेलममा रहेको अक्सा मस्जिदमा इजरायलका तर्फबाट आफूहरुलाई उक्साउने काम भएको र त्यो अहिले गाजासम्म आइपुगेको बताएको छ ।इजरायली सेनाको हवाई आक्रमणपछि गाजा क्षेत्रमा देखिएको धूवाँको मुस्लो तस्बिर : रोयटर्स
बीबीसीका अनुसार बुधबार इजरायली सेनाको कारबाहीमा हमासका एक जना वरिष्ठ कमान्डर मारिएका छन् । कमान्डर मारिएपछि हमासले इजरायलतर्फ आक्रमण तीव्र बनाएको छ । अहिलेसम्म प्यालेस्टाइनतर्फ १४ बालबालिकासहित ६५ जना र इजरायलतर्फ ७ जनाको मृत्यु भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसअघि मंगलबार हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका थिए । । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।
पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।
प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।
हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।
सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।
यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।
सम्बन्धित समाचार
इजरायल-प्यालेस्टाइन द्वन्द्व झन् चर्कियो
इजरायली सेना र हमासबीच आक्रमण जारी
इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो : ९ बालबालिकासहित कम्तीमा २० जना मारिए
प्रकाशित : वैशाख ३०, २०७८ १०:११