संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

अतुल मिश्र

काठमाडौँ — भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।

कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले बताइन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।

भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्घि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । ‘जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा हामीकहाँ बढी जटिल अवस्था देखिएको छ,’ डा. श्रेष्ठले भनिन्, ‘दैनिक नयाँ कोभिड संक्रमितको संख्या प्रति १० लाख जनसंख्यामा भारतमा २४० छ भने नेपालमा ३०४ ।’

यस्तै, दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ । कोभिड परीक्षण पोजिटिभ देखिने दरसमेत भारतको दाँजोमा नेपालमा दोब्बर देखिन्छ । हाल प्रति १० लाख जनसंख्यामा नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा मात्र २२.६ प्रतिशत छ । जनसंख्याको आधारमा गत वर्षसमेत नेपालमा पोजिटिभ दर भारतभन्दा बढी थियो । ‘सञ्चारमाध्यममा भारतको तथ्यांक हेर्दा अत्यन्त अत्यासलाग्दो देखिन्छ, त्यहाँभन्दा हामीकहाँ कोभिड बढी क्षति पुर्‍याउने गरी फैलिरहेको छ,’ डा. श्रेष्ठले भनिन्, ‘पोजिटिभ दर पनि भारतभन्दा हामीकहाँ दोब्बर छ ।’

प्रति १० लाख जनसंख्यामा कोभिडले गर्दा हुने मृत्युदरमा नेपाल विश्वमै १६ औं स्थानमा छ भने भारत ३८ औं स्थानमा छ । पहिलो स्थानमा बोस्निया हर्जगोविना छ । दैनिक संक्रमण दरमा नेपाल विश्वमा १५ औं स्थानमा देखिएको छ भने भारत २१ औं स्थानमा छ । कोभिड परीक्षणमा त नेपालको अवस्था अत्यन्त दयनीय छ । विश्वमा कोभिड परीक्षणअन्तर्गत नेपाल ७९ र भारत ६३ औं स्थानमा छ । नेपालमा प्रतिहजार जनसंख्यामा ०.६४ परीक्षण भएको छ भने भारतमा प्रतिहजार जनसंख्यामा १.२७ परीक्षण भएको छ ।

देशभर १६८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोभिडका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । २० हजार ७ सय ८६ नमुनाको परीक्षण गर्दा ४४.७६ प्रतिशत अर्थात् ९ हजार ३ सय ५ जना संक्रमित देखिएका छन् । हाल देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित छन् ।

देशभरका कुल सक्रिय संक्रमितमध्ये ४१.२४ प्रतिशत काठमाडौं उपत्यकामा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । हाल आईसीयूमा १ हजार २ सय ४१ जना र २ सय ८५ जना भेन्टिलेटरमा छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?