ईयूद्वारा २० लाख यूरोको मानवीय सहयोग

काठमाडौँ — यूरोपियन यूनियन (ईयू) ले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि २० लाख यूरोको मावनीय सहयोग प्रदान गर्ने वाचा गरेको छ ।

ईयूद्वारा २० लाख यूरोको मानवीय सहयोग

ईयूको आधिकारिक वेवसाइटमा बुधबार जारी भएको सहयोगको सूचना अनुसार नेपाललाई घरमै आइसोलेसनमा बस्दा समेत अनुगमन गर्न सक्ने टेली–हेल्थ, टेली–औषधि सेवा र अस्पतालको लागि छिटो रिभर गर्ने प्रविधिको सहयोग गर्न लागेको हो ।

यस्तै, राष्ट्रिय आपतकालीन मेडिकल टिमहरु प्रयोग र अन्तर्राष्ट्रिय आपतकालीन मेडिकल टिमहरुको परिचालन सुविधा तथा नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक उपकरणहरुको खरिद र आपूर्तिको गर्ने पनि ईयूले जनाएको छ ।

मुख्य उपकरणहरुमा अक्सिजन उपकरण हुनेछन् । जसमा अक्सिजन ग्यास सिलिन्डरहरु, अक्सिजन कन्सन्ट्रेटर, होम केयर किटहरु, एन्टिजेन टेष्ट किटहरुसहित डायग्नोस्टिक्स र व्यक्तिगत सुरक्षा उपकरण रहेका छन् । नेपालले ईयू नागरिक संरक्षण संयन्त्र पनि सक्रिय गरेको छ । जसको फिनल्यान्ड पहिलो सदस्य भनेको छ । उसले २० लाखभन्दा बढी सर्जिकल फेस मास्क, २ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय विनाइल जोडी ग्लोब्स र ३० हजार आइसोलेसन गाउन सहयोग गरेको छ ।

ईयूका क्राइसिस म्यानेजमेन्ट कमिसनर जानेज लेनेरिजले नेपालमा कोरोना भाइरसको संक्रमणले हरेक मिनेट देशभर वृद्धि भइरहेको उल्लेख गर्दै ईयूले महामारीविरुद्धको लडाइँमा नेपालसँग पूरा साथ दिने बताएका छन् । उनले ईयूले थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

ईयूका लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले कोरोना भाइरसविरुद्ध आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालयको समन्वयमा ईयूलाई आग्रह गरेको जानकारी दिए । ‘नेपालको बारेमा हामीले हिजो गएर त्यहाँको अध्यक्षलाई जानकारी गराएका थियौं । उहाँले सहयोग गर्छु भन्ने भएको थियो । छिटै सहयोगको प्रतिबद्धता आयो,’ उनले भने, ‘उनीहरुले थप सहयोगको लागि पनि प्रतिबद्धता गरेका छन् ।’

प्रकाशित : वैशाख २९, २०७८ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?