इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

इकान्तिपुर डेस्क

काठमाडौँ — हमास र इजरायली सेनाबीचको तनाव बढिरहेका बेला इजरायलस्थित नेपाली राजदूतवासले इजरायलमा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले अपिल जारी गर्दै पछिल्लो अवस्थाले सबैलाई त्रसित तुल्याएको भए पनि नआत्तिन अनुरोध गरेकी छिन् ।

उनले लेखेकी छिन्, 'विगत केही दिनयता इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको सम्बन्धमा सबै जानकार नै हुनुहुन्छ। केही दिनदेखि जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको छ। यसले हामी सबैलाई त्रसित तुल्याएको छ। तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न हामी इजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।'

राजदूत शाक्यले साइरन बज्नासाथ सुरक्षति स्थानमा जान पनि सबैलाई अनुरोध गरेकी छिन् । उनले अगाडि लेखेकी छिन्, 'खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गर्दछौं।'

इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । इजरायली सेनालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।

हमासले जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै हजारभन्दा रकेट प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले ८ सय ५० वटा रकेट आफ्नो भूमिमा खसेको र प्रतिरक्षा प्रणालीले करिब २ सय रकेट गाजामै खसालिदिएको पनि बताएको छ । हमासले जेरुसेलममा रहेको अक्सा मस्जिदमा इजरायलका तर्फबाट आफूहरुलाई उक्साउने काम भएको र त्यो अहिले गाजासम्म आइपुगेको बताएको छ ।

बीबीसीका अनुसार ३८ घण्टाभन्दा लामो द्वन्द्वमा अहिलेसम्म ५३ जना प्यालेस्टिनी नागरिक र ६ जना इजरायली मारिएका छन् । त्यसमध्ये १४ जना प्यालेस्टिनी बालबालिका रहेको जनाइएको छ । इजरायली सेनाको आक्रमणमा परी हमासका एक जना कमान्डर पनि मारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्बन्धित समाचार

इजरायल-प्यालेस्टाइन द्वन्द्व झन् चर्कियो

इजरायली सेना र हमासबीच आक्रमण जारी

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो : ९ बालबालिकासहित कम्तीमा २० जना मारिए

प्रकाशित : वैशाख २९, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?