ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा गर्नुपर्छ : रावल 

काठमाडौँ — कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीको शपथ लिनबाट रोक्ने वातावरण बनाउनका लागि आफूहरूले राजीनामा दिनुपर्ने नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसद भीम रावलले बताएका छन् । 

ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा गर्नुपर्छ : रावल 

पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राख्दा प्रतिनिधिसभामा अनुपस्थित भएका यो समूहका सांसदले राजीनामा दिनुपर्ने रावलको भनाइ आएको हो । ट्विटरमार्फत बुधबार रावलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय अहित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ ।'

आफूहरूले राजीनामा गर्नु राजनीतिक रूपमा सहि निर्णय ठहरिने रावलको भनाइ छ । उनले भनेका छन्, 'यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।'

खनाल-नेपाल पक्षका प्रतिनिधिसभाका २८ सांसद २७ गते बसेको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए । उनीहरू अनुपस्थित हुँदा र अरु दलले विश्वासको मतको पक्षमा मत नदिँदा प्रधानमन्त्री ओलीले संसद्को विश्वास गुमाएका थिए ।

प्रधानमन्त्री ओलीले संसद्को विश्वास गुमाएर कामचलाउ भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूको गठबन्धनको सरकार गठनका लागि समय दिएकी छन् ।

नयाँ गठबन्धन सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा अघि सरे पनि उनको पक्षमा आवश्यक सांसद संख्या पुगेको छैन । जसपाको महन्थ ठाकुर पक्षले ओलीलाई सघाउने भएपछि देउवाको पक्षमा बहुमत नपुगेको हो । त्यसैले पनि आफूहरूले राजीनामा दिनुपर्ने रावलको धारणा आएको हो ।

प्रकाशित : वैशाख २९, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?