सरकार गठनबारे समान धारणा बनाउने ढंगले अघि बढिरहेका छौं : डा. भट्टराई

काठमाडौँ — जनता समाजवादी पार्टीले नयाँ सरकार गठनबारे बिहीबार आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले नयाँ सरकार गठनबारे समान धारणा बनाउने विषयमा छलफल गरेको छ । 

सरकार गठनबारे समान धारणा बनाउने ढंगले अघि बढिरहेका छौं : डा. भट्टराई

बुधबार बसेको जसपाका शीर्ष नेताहरूको बैठकमा सरकार गठनलाई लिएर छलफल भएको थियो । सरकार गठनबारे अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षबीच विवाद छ ।

यादव र भट्टराई विपक्षी गठबन्धनसँग मिलेर बहुमतको सरकार बनाउनुपर्ने पक्षमा छन् भने ठाकुर र महतो सरकार गठनमा सहभागी नहुने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा पनि दुवै पक्षले फरक- फरक पक्षमा मत हालेका थिए । ठाकुर र महतो पक्षका सांसद तटस्थ बसेका थिए भने यादव र भट्टराई पक्षका सांसदले ओलीको प्रस्तावको विपक्षमा मत हालेका थिए ।

सरकार गठनलाई लिएर पार्टीभित्र विवाद कायमै रहेको बेला जसपाका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा सरकार गठनका विभिन्न विकल्पबारे विचार आएको भट्टराईले बताए ।

लोकतान्त्रिक पार्टी भएकाले फरक-फरक धारणा आउनु स्वाभाविक भएको भन्दै भट्टराईले छलफल जारी भएकाले भोलि बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । छलफलमा आएका विचारहरूमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकिकृत निर्णय गरिने उनले भनाइ थियो ।

'हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरू छन् । यो स्वाभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोली अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु,' भट्टराईले भने, 'छलफल जारी राख्छौ र भोलिसम्ममा एकीकृत विचार बनाउने प्रयासमा हामी छौं । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौं । अहिले निष्कर्षमा पुगिसकेका छैनौं । भोलि सम्ममा निष्कर्षमा पुग्छौं । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अघि बढीरहेका छौं ।'

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन्। उक्त समय बिहीबार राति ९ बजे सकिन लागेको छ ।

प्रकाशित : वैशाख २९, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?