२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विद्युत् आपूर्ति अवरुद्ध हुँदा अक्सिजन नपाएर ३ संक्रमितको मृत्यु

माधव ढुंगाना

भैरहवा — सुख्खा मौसमका कारण नदीमा पानीको सतह घट्दा विद्युत् उत्पादन कम भएकाले भैरहवा क्षेत्रमा आपूर्तीमा असहज थियो । यतिबेला हावाहुरीका कारण दिनहुँ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । कहिले केहीबेरमा विद्युत् आइहाल्छ, कहिले घण्टौंसम्म आउँदैन । सामान्य अवस्थामा केही समयको विद्युत् आपूर्तिले जनजीवनमा सामान्य असर पार्ने गरे पनि यतिबेला भने थोरै समयमात्रै विद्युत् आपूर्ति अवरोध हुँदा ठूलो मानवीय क्षति हुने गरेको छ । 

विद्युत् आपूर्ति अवरुद्ध हुँदा अक्सिजन नपाएर ३ संक्रमितको मृत्यु

कोभिड–१९ को विपद् जताततै मडारिइरहेको बेला विद्युत् आपूर्ति अवरुद्ध हुँदा यस क्षेत्रमा संचालित अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्द हुन्छ । जसले गर्दा अक्सिजन अभाव झन् चर्किन्छ र प्रत्यक्ष असर अक्सिजनको सहारामा उपचाररत बिरामीमाथि पर्ने गरेको छ ।

यस्तै घटना बुधबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोभिड–१९ का संक्रमित बिरामीले बेहोर्नु पर्‍यो । तीन संक्रमितले अक्सिजन अभावले ज्यान गुमाए । मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिला छन् । बुधबार बिहान भैरहवामा एकाएक हुरीबतास, मेघ गर्जनसहितको वर्षाले विद्युत् आपूर्ती बन्द भयो । जस कारण यहाँका तीनवटा अक्सिजन प्लान्ट अवरुद्ध हुन पुगे । केहीबेर अक्सिजन उत्पादन रोकियो ।

अक्सिजनको माग धेरै भएकाले अक्सिजन प्लान्टमा सिलिन्डर भरिनासाथ दौडाएर अस्पतालमा पुर्‍याइहाल्ने आपूर्ति प्रणाली अवरुद्ध हुन पुग्यो । जताततै अक्सिजन अभाव हुन थाल्यो । यहीबेला, भैरहवास्थित भीम अस्पतालमा अक्सिजन सकियो । स्वास्थ्यकर्मी हाइगुहार गर्न थाले । अस्पतालमा उपलब्ध अक्सिजन सकिएको र मौज्दात नभएकाले करिब ८ मिनेटसम्म अक्सिजन उपलब्ध हुन नसक्दा उनीहरुले ज्यान गुमाएका अस्पताल स्रोतले जनायो ।

यो यतार्थतालाई भने अस्पताल प्रशासनले ढाकछोप प्रयास गुरेको छ । ‘अस्पतालमा अक्सिजनको कमी देखेर आफन्तलाई अक्सिजन नपाएर मृत्य भएको लाग्न सक्छ’, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले भनिन्, ‘अक्सिजन सकिनासाथ आइसकेको थियो ।’

तर, कोभिड संक्रमितको उपचारमा संलग्न अस्पतालकै एक स्वास्थ्यकर्मीले भने नाम उल्लेख नगर्न आग्रह गर्दै ती बिरामीको हाइफ्लो (धेरै अक्सिजन चाहिने) बिरामी भएको र अक्सिजन नपाएपछि छट्पटाउँदै मृत्यु भएको बताए । ‘अक्सिजन सकिएपछि एकछिन त रुवाबासी नै मच्चियो’ उनले भने ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले उपलब्ध अक्सिजन सकिएको बेला परे पनि अन्तबाट सापटी ल्याइएको अक्सिजन जडान गर्दागर्दै उनीहरुको मृत्यु भएको बताए । रुपन्देहीमा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले दैनिक १ हजार १ सय ३० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गर्छन् । तर, रुपन्देहीका सबै अस्पतालमा उपचाररत कोभिड संक्रमितका लागि त्यो भन्दा धेरै परिमाणमा अक्सिजनको आवश्यकता पर्ने गर्छ ।

लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरीका व्यवस्थापक लेखनाथ भट्टराईले हावाहुरी र वर्षाका कारण पटक पटक गरेर विद्यत् अवरुद्ध हुँदा अक्सिजन उत्पादन गर्न नसकिएको बताए । ‘एक मिनेट विद्युत् आपूर्ती बन्द हुँदा उत्पादनको सामान्य अवस्थामा फर्किन प्लान्टलाई १५ मिनेटभन्दा धेरै समय लाग्ने गर्छ’, भट्टराईले भने, ‘यो बीचमा मैले विद्युत् कार्यालयमा फोन सम्पर्क गर्दै समस्या दर्शाउँदै आएको हुँ ।’

विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख जितेन्द्रकुमार झाले हावाहुरी र मेघगर्जनको समयमा पोल ढल्ने, रुखका हाँगा भाच्चिएर तारमा अड्किने भएकाले विद्युत् आपूर्तिमा अवरुद्ध हुने गरेको बताए । तर पनि, अक्सिजन उत्पादनलाई आधा घण्टाभित्र जसरी पनि विद्युत् उपलब्ध गराउँदै आइएको दाबी गरे ।

विद्युत्‌का कारण क्षमताअनुरुप अक्सिजन उत्पादन गर्न नसकिएको कम्पनीले जनाएपछि केही दिनअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विद्युत् प्राधिकरण र उत्पादकसहितको बैठक बसेको थियो । बैठकमा विद्युत् प्राधिकरणको तर्फबाट आधा घण्टाभित्र जसरी पनि अक्सिजन कारखानामा विद्युत् उपलब्ध गराउने सहमति भएको थियो । तर विद्युत् आउने जाने समस्या कायम रहेको अक्सिजन उत्पादकको गुनासो छ।

प्रकाशित : वैशाख २९, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?