गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ- समाचार - कान्तिपुर समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।


प्रकाशित : वैशाख २९, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा जेठ १३ सम्म निषेधाज्ञा थप

माधव ढुंगाना

भैरहवा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ । कोभिडको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा बढाइएको हो ।

बुधबारको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो । निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत्, दमकल, संचार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेकका साधन संचालन गर्न पाइने छैन । अतिआवश्यक बाहेकका पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत जनक थापाले बताए ।

खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दुध लगायतका दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि उद्योग व्यापार संगठन र सिद्धार्थ उद्योग वाणिज्य संघले व्यवस्था मिलाउने र कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने जनाइएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×