कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राष्ट्रिय सभाका उम्मेदवारलाई चिन्ह प्रदान, देवकोटालाई कलम, थापालाई सूर्य

सुवास विडारी

मकवानपुर — राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

राष्ट्रिय सभाका उम्मेदवारलाई चिन्ह प्रदान, देवकोटालाई कलम, थापालाई सूर्य

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ । देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ ।

‘हामीले अन्तिम नामावलीसमेत प्रकाश गरेका छौं ’, सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले भने । उनका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘चुनाव चिन्ह प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेका छौं ।’, पौडेलले काठमाडौंबाटै मतपत्र छापिएर आउने बताए ।

पौडेलले हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् । उपनिर्वाचनमा प्रदेशसभाका एक सय १० र स्थानीय तहका २३८ गरी कुल ३४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

प्रकाशित : वैशाख २९, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?