अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ : नर्भिक अस्पताल- समाचार - कान्तिपुर समाचार

अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ : नर्भिक अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — थापाथलीस्थित नर्भिक अस्पतालले अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोटाअनुरुपको अक्सिजन पनि उपलब्ध हुन नसकेको बताएका छन् । 

फाइल तस्बिर

उनले भनेका छन्, ‘पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसागै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।’

निर्देशक सिंहले कोभिड–१९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्धेश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गरेको पनि बताएका छन् ।

असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनेर अस्पताल प्रयत्नशील रहेको पनि उनले बताएका छन् ।

प्रकाशित : वैशाख २९, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य संकटका बेला, सरकार कहाँ छ ?

अहिले अक्सिजन नपाएर औषतमा हरेक १० मिनेटमा नेपालीको ज्यान गइरहेको छ । निर्दोष जनताका ‘हत्या’ को जिम्मेवारी कसले लिने ? अहिले प्रमुख जिल्ला अधिकारीहरुलाई सबै कुराको जिम्मेवारी दिएर सरकार पन्छिन मिल्छ ?
जगदीश्वर पाण्डे

काठमाडौँ — भारतमा दुई महिना अघिदेखि कोरोना भाइरसको दोस्रो लहर फैलिन थाल्यो । भारतीयहरु उक्त दोस्रो लहर बेलायतबाट आफ्नो मुलुकमा छिरेको मान्छन् । 

राजधानीको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार आकस्मिक कक्षबाहिरै भुइँमा अक्सिजन लिइरहेका संक्रमित । अस्पतालका जनरल र आईसीयू सबै वार्ड भरिएपछि प्रांगणमै उपचार थालिएको हो । तस्बिर : किरण पाण्डे/कान्तिपुर

नेपालमा भने दोस्रो लहर भारतबाट छिर्यो । भारतमा दोस्रो लहर सुरु भए लगत्तै नेपालले त्यसलाई मध्येनजर गरेर पूर्व, पश्चिम र दक्षिणतर्फका करिब १८५० किलोमिटर खुला सीमाना नियमन गर्नु पर्ने हो ।

नेपालका स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद् र सुरक्षा निकायहरुले आ–आफ्नो च्यानलमार्फत् उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई यसको सचिवालयमार्फत् जानकारीसमेत गराएका थिए ।

सुरक्षा निकायका एक अधिकारीका अनुसार अहिलेको समयभन्दा अर्थात् वैशाख १६ गतेभन्दा ठीक एक महिनाअघि नै नाकाहरुलाई कडाइ गर्नुपर्ने सुझाव नेपाली सेनाले सीसीएमसीलाई दिएको थियो ।

‘तर सरकारले भारततर्फको के र कस्तो मोहले हो उक्त प्रस्तावलाई वास्ता गरेन । भारत रिसाउँछ कि भन्ने सोचेर पनि हुनसक्छ,’ एक सुरक्षा निकायका अधिकारीले भने, ‘जसले गर्दा नाकामा निगरानी गर्न ढिलाइ भयो । भारतबाट ओहोर–दोहोर बढी नै हुन थाल्यो ।

वैशाख १६ अघिका दुई साता त भारतले विदेश उडानमा कडाइ गरेपछि नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने भारतीयहरुको संख्या ह्वात्तै बढ्यो । नेपाल छाड्ने बेला पीसीआर पोजेटिभ हुने ठीक–ठाक बाला काठमाडौंका होटलमा बसे । पोजेटिभ भएर बिरामी परेपछि काठमाडौंका अस्पतालहरुमा भर्ना भए ।

नेपालमा भारतीयहरुको आवतजावत थाहा पाउन सरकारलाई कुनै पनि नाकामा पुग्नुपर्ने थिएन, बालुवाटार र सिंहदरबारबाट केही मिनेटकै दुरीमा रहेको लैनचौरस्थित भारतीय राजदुतावासअघि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन ओइरिएका भारतीयहरुको लाइनबाटै देखिन्थ्यो ।

उक्त कुराको ‘ज्ञान’ काठमाडौंका सिडिओ र सरकारी अधिकारीहरुलाई नभए पनि मिडियाहरुले सरकारी पदाधिकारीहरुलाई जानकारी हुनेगरी समाचार प्रसारण र प्रकाशन गरिदिएका थिए । नेपालको भन्दा ठूलो विमानस्थल, नेपालमा भन्दा झन्डै सय प्रतिशत बढी विदेशमा हवाइसेवा भएको भारतको नयाँदिल्लीबाट भारतीयहरु विमानमा नेपाल आएर तेस्रो मुलुकमा जाँदैछन् भन्ने देखेपछि त्यहाँ केही समस्या छ भन्ने बुझ्न सकिन्थ्यो ।

तर सरकारले आँखा चिम्लियो । सरकारले विमानस्थलबाट आएकालाई न क्वारेन्टिनमा राख्ने व्यवस्था गर्‍यो नत नाकाहरुमा क्वारेन्टिन, स्वास्थ्य जाँच, होल्डिङ सेन्टरलगायतका संरचना खडा गर्‍यो ।

आफ्नो मुलुकमा कोरोना बढेपछि भारतीयहरुले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक गए । भारतमा रहेका नेपालीहरु पनि घर फर्किए । उनीहरुको पनि स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने कुनै पनि प्रबन्ध मिलाइएन ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भनेर गठन गरिएको सीसीएमसी जहाँ उपप्रधानमन्त्रीको नेतृत्वमा अन्य नौ मन्त्रीहरु छन् । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हेरिरहन्छन् ।

तर सीसीएमसीले विगत एक वर्षमा काम गर्नेभन्दा पनि कहाँबाट आफूलाई फाइदा हुन्छ भन्नेमात्र हेरेर बसिरहृयो । सीसीएमसीको त्यही कारणले गर्दा नेपाली सेनाले सीसीएमसीमा सक्रिय रुपमा काम गर्नै छाडिदियो ।

२०७६ वैशाख १६ गते सीसीएमसीलाई सेनाको छाउनीस्थित व्यारेकभित्र सचिवालयसहित स्थापना गर्दा सेनासँग बढी जोडिएको थियो । त्यसबेला सीसीएमसी सञ्चालनमा सेनाले बढी भूमिका पनि खेलेको थियो । तर पछि सेनाले सुरक्षाको हिसाबमा दिएको एकपछि अर्को सुझावलाई नमानेपछि अहिले सेनाले सीसीएमसीलाई आवश्यक र प्रभावकारी सुझाव नै दिन छाडिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामी प्राविधिक परिस्थिति हेरेर सीसीएमसीलाई सुझाव दिन्छौं । किनकि रोगको समस्यालाई समाधान गर्न प्राविधिक रुपमा अघि बढ्नुपर्ने हुन्छ । स्वास्थ्यकर्मीहरुले पनि प्राविधिक रुपमा नै काम गर्छन् । तर बीचमा राजनीतिकर्मी भए । उनीहरुले कि त आफ्नो फाइदा हेर्छन्, नत्र कोही रिसाउँछ कि भन्ने डरले आवश्यक निर्णय समयमै गर्न सक्दैनन् । यसले गर्दा हाम्रोमा कोरोना भाइरस नियन्त्रणमा समस्या भयो ।’

अर्कोतर्फ कोरोना संक्रमित बिरामीलाई उपचार गर्न आवश्यक अक्सिजन नेपालमा पर्याप्त छ वा छैन भन्ने कुरा सीसीएमसीले नेपालका अस्पतालसँग मिलेर समन्वयन गर्नुपर्ने थियो कि थिएन ? सीसीएमसीका एक सदस्यमा स्वास्थ्य मन्त्री पनि हुन्छन् । त्यस अन्तरगतको सचिवालयमा स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्यलाई हेर्ने छुट्टै टिम पनि छ । यस्तोमा नेपालमा महामारीको दौरान कतिसम्म अक्सिजन चाहिन सक्छ भन्ने कुरा गृहकार्य गर्नुपर्ने थियो वा थिएन ?

भारतमा कोरोना संक्रमण बढेपछि दुई मुलुकबीचको नाका कडाइ गर्नुपर्ने विषयमा पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी र सरकार मौन रहेपछि अहिले नेपालमा डरलाग्दो स्वास्थ्य संकट आइपुगेको छ ।

अहिले अक्सिजन नपाएर हरेक १० मिनेटमा नेपालीको ज्यान गइरहेको छ । निर्दोष जनताका ‘हत्या’ को जिम्मेवारी कसले लिने ? अहिले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई सबै कुराको जिम्मेवारी दिएर सरकार पन्छिन मिल्छ ? स्वास्थ्य संकटका यस घडी, खै सरकार कहाँ छ ?

प्रकाशित : वैशाख २९, २०७८ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×