१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जगरनाथपुरको एउटै वडाका १ सय ७३ जनामा ज्वरो [फलोअप]

भूषण यादव

वीरगन्ज — घरैपिच्छे ज्वरो फैलिएको पर्साको जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि कोरोना परीक्षण थालिएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र सयौँभन्दा बढी ज्वरोका बिरामी देखिएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो ।

जगरनाथपुरको एउटै वडाका १ सय ७३ जनामा ज्वरो [फलोअप]

वीरगन्जबाट गएको टोली र गाउँपालिकाका स्वास्थ्यकर्मीले मंगलबार तीनवटा समूह बनाई जगरनाथपुर गाउँपालिका–५ चिलझपटीका दुईवटा टोलमा घर–घर पुगी बिरामीको विवरण संकलन गरेका थिए । स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साहले चिलझपटीमा १ सय ७३ जनालाई ज्वरो आएको बताए । साहका अनुसार जिल्लाबाट २५ वटा मात्र भीटीएम गएकाले २५ जनाको स्वाब संकलन गरिएको थियो । ११ जना शंकास्पद बिरामीको कोरोना एन्टिजेन परीक्षण गरिएको थियो जसमध्ये ७ जनामा पोजिटिभ देखिएको साहले जनाए । पीसीआर परीक्षणका लागि स्वाब नारायणी अस्पताल ल्याइएको छ ।

मध्याह्न चिलझपटी गाउँमा स्वास्थ्यकर्मी पुग्दा अधिकांश स्थानीयले घरको ढोका बन्द गरेका थिए । ‘कतिपयको हातमा अझै क्यानुला थियो,’ कान्तिपुरसँग फोनमा साहले भने, ‘वीरगन्ज लगेर आइसोलेसन वार्डमा राखिएला भनेर कतिपय शंकास्पद खेततर्फ भागेका थिए, धेरैलाई सम्झाई–बुझाई फर्कायौं ।’

१२ जना स्वास्थ्यकर्मी तीन समूह बनाई सबैको घर–घर पुग्ने प्रयास गरेका थिए । सामान्य ज्वरो मात्र आएका तर औषधि सेवन नगरेकालाई औषधि वितरण गरिएको थियो । ‘शंका नगरिएको व्यक्तिमा पनि कोरोना एन्टिजेन पोजिटिभ आएको छ,’ उनले भने, ‘मंगलबार नै गाउँपालिका बोर्डको आकस्मिक बैठक बसी वडा नम्बर ५ सिल गर्ने प्रस्ताव लगेका थियौँ तर वडाध्यक्ष अनुपस्थित हुँदा निर्णय हुन सकेन ।’

मंगलबार बिहान करिब ६ बजेको समयमा नारायणी अस्पतालमा एक सातादेखि उपचार गराइरहेका जगरनाथपुर गाउँपालिका– १ का ३५ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु भएको थियो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा कडा निमोनिया देखिएको थियो ।

जगरनाथपुरमा १० दिनमा ११ को मृत्यु : चार जनालाई कोराेना पुष्टि, बाँकीलाई पनि उस्तै लक्षण

जगरनाथपुर गाउँपालिकामा पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ४ जनाले मात्र कोरोना परीक्षण गराएका थिए । मृत्यु हुनेमा ७ जना एउटै टोलका छन् ।

गाउँपालिकाका स्वास्थ्य प्रमुख प्रभेन्द्रप्रसाद साहले सोमबार स्वास्थ्य कार्यालय पर्सा, नारायणी अस्पताललाई पत्राचार गरी गाउँमा सयौँको संख्यामा ज्वरोका बिरामी देखिएको जनाउँदै विज्ञसहितको चिकित्सक टोली खटाउन अनुरोध गरेका थिए । साहका अनुसार चिलझपटी टोलमा वैशाख २० देखि २७ सम्ममा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य शाखाका अनुसार मृत्यु भएका ४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि परीक्षण गरिएको थिएन ।

जगरनाथपुर–३ जमुनियाका श्रीकान्त यादव घरघरमा ज्वरोका बिरामी रहेकाले अवस्था भयभीत बनेको बताउँछन् । ‘गाउँपालिकाले न परीक्षण गर्न सकेको छ,’ उनले भने, ‘न त जनचेतना फैलाएको छ । ज्वरोका बिरामीले औषधिसमेत पाएका छैनन् ।’ गाउँपालिकाले हालसम्म आइसोलेसन सेन्टर पनि बनाएको छैन । यसबारे बुझ्न स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियालाई पटकपटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : वैशाख २९, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?