कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अक्सिजन र आईसीयू कुर्दाकुर्दै मृत्यु

रुपन्देही, नेपालगन्ज — अक्सिजन र आईसीयू नपाएर कोरोना संक्रमितले ज्यानै गुमाउने क्रम बढेको छ । बुटवलमा मात्रै पछिल्लो २४ घण्टामा आकस्मिक कक्षमा कुरिरहेका ८ जनाको मृत्यु भएको छ ।

अक्सिजन र आईसीयू कुर्दाकुर्दै मृत्यु

त्यसैमध्येका एक हुन् रूपन्देहीको बुटवल–१२ का ६३ वर्षीय पुरुष । उनलाई गत वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएकाले परिवारजनले घरमै अक्सिजन चढाएर उपचार थाले । त्यसले नधानेपछि भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । त्यहाँ धेरै संक्रमितलाई भुइँमा सुताएर अक्सिजन चढाइएको थियो । को संक्रमित, को कुरुवा छुट्याउन सकिने स्थिति थिएन । ‘यस्तो भद्रगोलमा कसलाई गुहार्ने, अलमल पर्‍यौं,’ उनका भाइ सुरेन्द्र आचार्यले भने, ‘इमर्जेन्सीमा संक्रमित र कुरुवाको ताँती थियो ।’

भुइँमै खाली ठाउँ र एक सिलिन्डर अक्सिजन खोजेर दाइको उपचार सुरु गराएको आचार्यले सुनाए । ‘अक्सिजन चढाएपछि पनि दाजुको स्वास्थ्यमा सुधार देखिएन,’ उनले भने, ‘त्यसपछि डाक्टर र नर्सले आईसीयू खाली नरहेकाले कतै व्यवस्थापन गरेर लैजान सल्लाह दिए ।’ बिरामीको स्वास्थ्य गम्भीर भइसकेको थियो । ‘आईसीयूका लागि जिल्लाभरका अस्पतालमा

फोन गरें,’ आचार्यले भने, ‘कतै आईसीयू नपाएपछि दाइलाई बचाउन सकिएन ।’ हाइफ्लो अक्सिजन आवश्यक परेका बेला सिलिन्डरले नधानेको उनले बताए । ‘आईसीयूमा हाइफ्लो अक्सिजन हुने रहेछ,’ उनले भने । यहाँस्थित कोरोना विशेष अस्पतालमा सोमबारदेखि मंगलबार मध्याह्नसम्म १० जनाले ज्यान गुमाएका छन् ।

चिकित्सकका अनुसार तीमध्ये आठ जनाले आईसीयू बेडको प्रतीक्षामा आकस्मिक कक्षमै प्राण त्यागेका हुन् । सबैले सामान्य बेडसमेत पाएनन् । भुइँमै अक्सिजन चढाइएको थियो । ज्यान गुमाएकाहरू रूपन्देही, कपिलवस्तु, नवलपरासी र प्यूठानका रहेको अस्पतालले जानकारी दिएको छ । बुटवल–११ का ३६ वर्षीयको युवकको आईसीयू बेडका लागि हारगुहार गर्दागर्दै मृत्यु भएको उनका भतिजले बताए । ‘अंकललाई सोमबार राति अस्पताल पुर्‍याएका थियौं,’ उनले भने, ‘अक्सिजन चढाउँदा पनि सुधार नभएपछि आत्तिएर नर्सलाई भन्यौं, नर्सले आईसीयू चाहिने बताउनुभयो, कतै नपाएपछि त्यहीं मृत्यु भयो ।’

आईसीयू चाहिने बिरामीलाई डिस्चार्ज गर्न नमिल्ने र आफन्तले विकल्प खोजी गर्दा पनि नपाएपछि उपचारकै क्रममा मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘धेरै होम आइसोलेसनबाट गम्भीर भएर आउँछन्,’ उनले भने, ‘तत्काल आईसीयू बेड हुँदैन ।’ उनका अनुसार आकस्मिक कक्षबाहिर अक्सिजन नपाएर छटपटाइरहेका, पीडा सहन नसकेर उफ्रिरहेका दृश्य देखिन्छन् । यस्ता बिरामीलाई आईसीयू नपुर्‍याउँदै मृत्यु हुने क्रम बढेको उनले बताए ।

‘अक्सिजन दिइरहेका बेला सकिने र अर्को सिलिन्डर जडान गर्न अस्पतालमा मौज्दात नहुने समस्याले पनि संक्रमितको ज्यान जोखिममा छ,’ उनले भने । आईसीयू कक्षमा एकैपटक धेरै सिलिन्डर जोडेर पाइपबाट बिरामीलाई अक्सिजन आपूर्ति गरिने भएकाले केही समय धानिने गरेको डा. गौतमले बताए । अक्सिजन अभाव टार्न स्वास्थ्यकर्मी नै उद्योगमा खटिने गरेका छन् । ‘त्यसले पनि अभाव कम भएको छैन,’ डा. गौतमले भने, ‘सोमबार रातिबाट अभाव भयो, मंगलबार बिरामी छटपटिए ।’ उनका अनुसार कोरोना विशेष अस्पतालमा हरेक दिन गम्भीर अवस्थामा आउने १० देखि १२ जना आईसीयूको पर्खाइमा हुने गरेका छन् । आईसीयूमा रहेका व्यक्ति डिस्चार्ज वा कसैको मृत्यु भए मात्रै यस्ता बिरामीले पालो पाउने गरेको चिकित्सकले बताए ।

कोरोना उपचार भइरहेका रूपन्देहीका कुनै अस्पतालमा अहिले जनरल बेड खाली छैन । मंगलबार दिउँसोसम्म कोरोना अस्पतालमा ६३ संक्रमित थिए । तीमध्ये १६ जना आईसीयूमा र ३६ जना एचडीयूमा छन् । मंगलबार ११ जना आईसीयू खाली हुने प्रतीक्षामा थिए । अर्कोतर्फ अक्सिजन आपूर्ति रोकिएपछि आईसीयूका संक्रमितलाई समेत प्रवाह कम गराइएको छ । मंगलबार बिहान अक्सिजन सिलिन्डर आपूर्ति रोकिएपछि कतिपय सिकिस्त बिरामीको अक्सिजन मास्क निकाल्नुपरेको डा. गौतमले बताए । ‘मंगलबार बिहानदेखि अक्सिजन आपूर्ति गर्ने उद्योगहरूमा कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘उनीहरूले तोकिएको अक्सिजन लिएर मात्रै अस्पताल फर्कनुपर्छ ।’

भैरहवास्थित भीम अस्पताल परिसरमै संक्रमितको बिजोग छ । त्यहाँका बरन्डा, रूखको छाया, शौचालयका पेटी जताततै बिरामी पल्टिएका देखिन्छन् । सामान्य बेड खाली नरहेकाले उनीहरूलाई खाली ठाउँमा ओछ्यान लगाएर अक्सिजन चढाइएको छ । भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन हम्मे परिरहेका बेला नयाँ संक्रमित थपिने क्रमले समस्या बढेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । ‘दिनमा तीन सय सिलिन्डर अक्सिजन खपत हुन थाल्यो,’ उनले भने, ‘हामीसँग २ सय ५६ सिलिन्डर मात्र छ ।’ सिलिन्डर खाली हुनासाथ भरेर ल्याउने गरिएको उनले बताए ।

भीम अस्पताल बाहिर खुला ठाउँ रहेकाले त्यहीं अक्सिजन जोडेर दिनमा १५ संक्रमित बस्ने गरेका छन् । डा. पोखरेलका अनुसार आकस्मिक कक्षमा तीन दिनसम्म राखेर सार्नुपर्ने बिरामीको आईसीयू नपुर्‍याउँदै मृत्यु भइरहेको छ । मंगलबार अस्पतालमा ६८ बिरामी थिए । भैरहवाकै युनिभर्सल शिक्षण अस्पतालले अक्सिजन अभाव देखाई १ सय ७० बेड घटाएर १ सयमा झारेको छ । तिनमा ८८ बिरामी छन् ।

अस्पतालको आकस्मिक कक्षमा कोरोनाका बिरामी नराख्ने, आईसीयू र एचडीयूका डिस्चार्ज भए वा मृत्यु भए मात्रै खाली राख्ने गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘हामीले पटकपटक अनुरोध गर्‍यौं, सूचना निकाल्यौं तर आवश्यक अक्सिजन व्यवस्थापन सम्भव भएन,’ उनले भने, ‘अन्यत्र सिकिस्त भएपछि यहाँ रेफर गरिने बिरामीलाई आकस्मिकबाट अर्को वार्डमा सार्न नपाउँदै मृत्यु हुने भएकाले अस्पतालमा मृत्यु संख्या धेरै देखिने गरेको छ ।’ आकस्मिक कक्षमा दुई दिन राख्दा नै बिरामीको ज्यान जाने गरेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले एक सातामा ७२ संक्रमितको मृत्यु भइसकेको जनाएको छ । संक्रमणको दर कहिले घट्ला भनेर भन्न सक्ने परिस्थिति नरहेको प्रदेश स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताए । ‘मन्त्रालयले जारी गरेको स्वास्थ्य सन्देश, घरघरमा सकिएर राखिएका खाली सिलिन्डरलाई आईसीयूमा व्यवस्थापन र १५ दिनजति मानिस घरदेखि बाहिरै ननिस्कने गरे संक्रमण ओरालो लाग्थ्यो कि,’ उनले भने, ‘यहाँ भएका स्वास्थ्य सामग्रीको उचित प्रयोगले संक्रमण घटाउन सहयोग गर्छ ।’

आईसीयू बेड १८, बिरामी ७५

बाँकेको कोरोना उपचार केन्द्र भेरी अस्पतालमा जम्मा १८ वटा आईसीयू बेड छन् । स्वास्थ्य अवस्था निकै जटिल भइसकेका कोरोनाका बिरामीका लागि १५ वटा भेन्टिलेटर छन् । त्यहाँ भर्ना भएकामध्ये करिब ७५ कोरोना संक्रमितलाई उच्च श्रेणीको आईसीयू बेड आवश्यक रहेको चिकित्सकले बताए । आईसीयू बेड खोज्दै मंगलबार ल्याइएका बर्दियाका ४० वर्षीय पुरुषले अस्पताल परिसरमा एम्बुलेन्समै प्राण त्यागे । उनलाई तत्काल आईसीयू आवश्यक थियो ।

नेपालगन्जका भेरी र नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका १५ संक्रमितको मंगलबार ज्यान गयो । चिकित्सकका अनुसार ‘क’ श्रेणीको आईसीयूमा क्यापसहितको फूल अक्सिजन दिन मिल्ने मोनिटर राखिएको हुन्छ । सामान्य आईसीयूमा अक्सिजनसहितको लाइन दिइएको हुन्छ । कोरोनाको संक्रमण बढेसँगै भेरीमा करिब दुई सय बेडमा पाइपबाट अक्सिजन पुर्‍याउने प्रयास गरिएको छ, जसलाई आईसीयू भनिएको छ ।

उच्च श्रेणीको आईसीयूमा राख्नुपर्ने बिरामीलाई सामान्य आईसीयूमा राख्दा मृत्युको संख्या बढेको छ । ‘कोरोना बिरामी मर्नुको प्रमुख कारण थामिनसक्नु संक्रमण बढ्नु र अस्पतालले अक्सिजनको माग धान्न नसक्नु नै हो,’ भेरी अस्पतालका डा. बद्री चापागाईंले भने, ‘खासमा हामीसँग आईसीयू बेड १८ वटा हुन् । कोभिडको संक्रमण बढेसँगै दुई सय बेडमा पाइपबाट अक्सिजन पुर्‍याउनु सानो कुरा होइन ।’ उनले अस्पतालले धान्न नसकेर बिरामीलाई सामान किनाउनुपर्ने अवस्था आउन सक्ने जनाए । ‘तर पनि क्यापजस्ता सास फेर्ने मास्क र सर्किट अस्पतालले निःशुल्क दिँदै आएको छ । यसको मूल्य ७ देखि ८ हजार रुपैयाँसम्म पर्छ,’ डा. चापागाईंले भने, ‘मुख्य कुरा बिरामीको ज्यान जोगाउन अक्सिजनसहितको आईसीयू बढाउन आवश्यक छ ।’

भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले कोरोनाको संक्रमणअघि जस्तो सीमित आईसीयूले हाल काम नचल्ने बताए । ‘अस्पताल भर्ना भएका ९९ प्रतिशत कोरोना संक्रमित छन् । हिजोजस्तो ६ बेडको आईसीयूले अब पुग्दैन,’ उनले भने, ‘सबै बेडलाई आईसीयू बनाउन सम्भव पनि छैन । त्यसैले कोरानाका बिरामी राखिएका बेडमा सकेसम्म अक्सिजन जोडिएको छ ।’ उनले इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गर्नुपरेको बताए । ‘आईसीयूको वर्गीकरण हुन्छ । तर यो महामारीमा अब कुनलाई आईसीयू बेड मान्ने ?’ डा. रिसालले भने, ‘अक्सिजन जोडिएको बेडलाई आईसीयू मान्नुपर्ने अवस्था आएको छ ।’ अस्पताल भर्ना नपाएर छटपटिरहेका बिरामीलाई अक्सिजन जोडिएको बेडले राहत दिएको छ । तर बढी अक्सिजन चाहिने बिरामीको भने सामान्य बेडमा ज्यान जाने गरेको चिकित्सहरू स्वीकार गर्छन् ।

कोरोनाका लागि १ सय ४२ बेडको अस्पताल मानिएको भेरीमा २ सय १० बेड पुर्‍याइएको छ । अस्पतालका हरेक कुनाकाप्चामा बेड थप्दै २ सय ४९ जना संक्रमितको उपचार गरिँदै छ । अस्पतालका प्रमुख डा. प्रकाश थापाले पीसीआर परीक्षण नगराई घरमै बस्ने र अवस्था क्रिटिकल भएपछि मात्र अस्पताल पुग्ने हुनाले पनि मृत्युदर बढिरहेको बताए । समयमा अक्सिजनसहितको बेड नपाउँदा भर्ना भएका बिरामीले ज्यान गुमाउने अवस्था आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

अस्पतालले लिक्विड अक्सिजनका लागि १५ दिनअघि अनुरोध गरे पनि मंगलबारसम्म उपलब्ध भएको छैन । अस्पतालमा दिनमा ४ सय ५० वटा ठूला सिलिन्डर खपत भइरहेको छ । बाँकेमा रहेका दुईवटा अक्सिजन सप्लायर्सले पश्चिम नेपालकै ठूला अस्पतालमा अक्सिजन सिलिन्डर निर्यात गरिरहेका छन् । बाँकेका दुई ठूला अस्पतालमा मंगलबार मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामा ६ जना बर्दिया, ५ जना बाँके र एक जना रुकुम पूर्वका छन् ।

प्रकाशित : वैशाख २९, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?