कोरोना संक्रमणबाट एमाले नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन- समाचार - कान्तिपुर समाचार

कोरोना संक्रमणबाट एमाले नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री श‌ंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

दोलखा 'ख' बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई‌ एमालेका पोलिटब्युरो सदस्यसम्म बनेका थिए ।

उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।

प्रकाशित : वैशाख २८, २०७८ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्

खनाल-नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे निर्णय गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ । मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।

फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ ।

परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

छलफलमा विश्वासको मतमाथि सोमबार संसद्‍मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । भुसालका अनुसार सोमबार संसद्‍मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ । ‘हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था थिएन । त्यसैअनुसार आइतबार संसद बैठकमा सहभागी नभएर सही निर्णय गरेको हाम्रो निश्कर्ष छ,’ भुसालले भने । आइतबार खनाल नेपाल समूहका २८ सांसद संसद बैठकमा अनुपस्थित भएका थिए ।

खनाल–नेपाल समूहको छलफलको प्रधानमन्त्री ओली नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष छ । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले एक ट्वीटमार्फत् भारतको रोजाई ओली भएको बताएको प्रसंग उल्लेख गर्दै समूहका एक नेताले भने, 'भारत त खुलै रुपमा ओलीको पक्षमा आएको छ । भारतको सत्तारुढ दलका नेताहरुले सार्वजनिक रुपमै त्यो कुरा प्रकट गर्न थालेका छन् ।'

प्रकाशित : वैशाख २८, २०७८ २१:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×