कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'उपेन्द्र यादवदेखि प्रचण्ड र देउवासम्मको नियत जसपा फुटाउने देखियो'

'माधव नेपालको राजीनामा वा समर्थनमा वैकल्पिक सरकार बन्ने अवस्था देख्दैन' 
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै सत्ता राजनीति अर्को सरकार गठन गर्ने र गर्न नदिने जोडघटाउमा प्रवेश गरेको छ । संसद्को विश्वास गुमाएर ओली कामचलाउ प्रधानमन्त्री भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि ३० गते साँझ ९ बजेसम्मको समय दिएकी छन् । 

'उपेन्द्र यादवदेखि प्रचण्ड र देउवासम्मको नियत जसपा फुटाउने देखियो'

अहिलेको अवस्थामा सरकार गठन गर्ने प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत छैन । त्यसैले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । अहिले विपक्षमा रहेका दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक सांसदको संख्या पुग्ने आधार देखिँदैन त्यस्तो अवस्थामा तीन दल मिल्नुपर्ने अवस्था छ । तर, निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्रको विभाजनले त्यो संख्या पुग्ने देखिँदैन ।

प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तटस्थ रहेको थियो । अर्कोतिर अध्यक्ष उपेन्द्र यादवको पक्षले भने प्रधानमन्त्री ओलीको विपक्षमा मत जाहेर गर्‍यो । उक्त मतविभाजनपछि जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राष्ट्रपतिलाई सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको विज्ञप्ति जारी गरे । त्यसले मतविभाजनका बेला चर्किएको जसपामा झनै विभाजनको दरार परेको छ । जसको प्रतिबिम्ब अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा पनि देखिएको छ ।

यस्तो अवस्थामा वैकल्पिक गठबन्धन र नयाँ सरकार, जसपाको एकता के हुन्छ अनि मुलुकको राजनीति कता जान्छ भनेर जसपामा अध्यक्ष ठाकुरलाई समर्थन गर्दै आएका वरिष्ठ नेता राजेन्द्र महतोसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिपक्षी दलहरू नयाँ सरकार गठनको तयारी गरिरहेका छन् । अब नजर संसद्को चौथो ठूलो दल जसपातिर छ । तर, प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा जसपा विभाजित देखियो । यस्तो अवस्थामा रहेको जसपा अब के गर्छ ?

सरकार गठनको प्रक्रियामा हामी छैनौं । जुन वैकल्पिक गठबन्धन सरकार बनाउने कुरा भइरहेको छ त्यसमा हामी सामेल छैनौं । जसपा सामेल छैन । कुनै व्यक्ति जाँदैमा पार्टी गएको मानिँदैन ।

संविधानको धारा ७६ (२) अनुसारको सरकार गठन गर्नका लागि पार्टी चाहिएको हो । त्यसैले विभाजन भएर जाँदा त्यो गठबन्धन हुन सक्दैन । कांग्रेस र माओवादी मिलेर पुग्छ भने सरकार बनाए भइहाल्यो । जसपा त्यसमा रहँदैन । जसपा नरहेसम्म गठबन्धन बन्न सक्दैन भन्ने मलाई लाग्छ ।

हामी वैकल्पिक गठबन्धनको सरकारमा सामेल छैनौं भनेर राष्ट्रपतिलाई जानकारी गराउँदै हुनुहुन्छ भन्ने चर्चा छ, त्यस्तो प्रक्रियामा जाँदै हुनुहुन्छ हो ?

आवश्यकता पर्‍यो भने हामी राष्ट्रपतिलाई पत्र लेख्छौं । जसपा कुनै गठबन्धनमा सामेल भएको विज्ञप्ति जसरी उपेन्द्र यादवले निकाल्नुभयो, त्यसरी राष्ट्रपतिकहाँ गठबन्धन बनाएर जसपा पनि जाने भनियो भने त्यतिबेला हामी राष्ट्रपतिलाई भन्छौं- जसपा गठबन्धनमा छैन है । कुनै व्यक्तिको इच्छा होला सरकारमा जाने तर जसपाको होइन ।

जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बसेर ओलीलाई नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनाउन सघाइरहेको भन्ने पनि छन्, त्यस्तै हो ?

ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनाउनु पर्छ र ? यति मात्रै बुझ्नुस् यो कि उपेन्द्र यादवले जुन पार्टी फोडेर गठबन्धन सरकार बनाउने प्रयास गर्‍यो त्यो अस्वीकृत हो, असहमति हो र घोर आपत्तिजनक हो । पार्टी फोड्ने काममा देउवा र प्रचण्डसमेत संलग्न भएकाले हाम्रो घोर आपत्ति छ ।

पार्टी फोडेर सरकार बनाउने जुन कामहरू गरिएको हो इन्डिया र चीनले त गरे गरे उहाँहरू (देउवा र प्रचण्ड) पनि त्यसमा संलग्न भइहाल्नुभयो । जबकी हामीले पहिले नै देउवाजीलाई भेटेर मनेका थियौं, जसपा सरकारमा जाने कुनै निर्णय, कार्यक्रम छैन, हामी जाँदैन । तर पनि हिजो संयुक्त हस्ताक्षर गर्नुभयो ।

संसद्‍मा हिजो देखिएको विभाजन र संयुक्त वक्तव्यपछि जसपाका शीर्ष नेताहरूबीच छलफल भएको छ कि छैन ?

यो सरकार गठन गर्नेबारेमा कहिल्यै केही पनि छलफल भएको छैन । अहिले त्यसको जरुरी नै छैन । जसपा सरकारमा गइरहेको छैन । सरकारमा जाँदा पनि जाँदैन । गठबन्धनमा जाँदैन । र त्यो गठबन्धन बन्दैन।

कांग्रेसले सरकार गठनबारे विपक्षी दलहरूको बैठक बोलाएको छ त्यसमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

उपेन्द्र यादवलाई बोलाए भइहाल्यो । उहाँ (देउवा)लाई काम चलिहाल्यो नि । जसपालाई फोडेपछि उहाँलाई पुगिहाल्यो । किन उहाँले हिजो सिग्नेचर गर्नुभयो ? शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिले उपेन्द्र यादवसँग किन हस्ताक्षर गर्नुभयो ? जबकी हामीले पूर्वजानकारी गराइसकेका थियौं ।

पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुर र म गएर उहाँलाई चार दिन अगाडि जानकारी गराएको हो । तर पनि पार्टी फुट्नुपर्छ भनेर हस्ताक्षर गर्ने ? यै हो ? उहाँलाई भनेको थिए, हाम्रो पार्टी नफोडिदिनुहोला । उहाँले फोडे फोडोस् न ठिक छ । तर तीन दिनमा त पार्टी फुट्दैन । उपेन्द्रजी र देउवाजीको त्यो आश पनि पूरा हुनेवाला छैन । निर्वाचन आयोगमा प्रक्रिया पूरा गर्न त तीन महिना लाग्छ । तर नियत त देखियो नि ! उपेन्द्र यादवदेखि लिएर प्रचण्ड र देउवासम्मको नियत पार्टी फुटाउने देखियो ।

जसपा एकीकृत हुन नसकेर अरुले पार्टी फुटाउन लाग्यो भनेर आरोप लगाउँदै हो कि ?

यो भन्न मिल्छ ? कुनै व्यक्तिलाई आकांक्षा होला, महत्वाकांक्षा होला, सत्तालिप्सा होला । अर्को पार्टीको नेता भएपछि, पहिल्यै सतर्क गराइसकेपछि बुझ्नु पर्दैन ? बुझ्नुपपर्थ्यो उहाँले । हामीले भन्यौं कि सिंगो जसपा आएपछि गठबन्धन हुने हो । तर भनाइ र गराइमा फरक देखियो । हिजो उपेन्द्रलाई प्रयोग गरियो र फुट्ने काम भयो ।

गठबन्धन सरकार गठन नभए त मुलुक चुनावतिर नै जान होला नि है ?

त्यसमा हामीलाई नजोड्नुस् । मिडियाले त्यसमा हामीलाई नजोड्नुस् । हामीप्रति अरु पार्टीको नेताले के गरेको त्यो हामीले हेर्ने हो । हामी माग र मुद्दाको लागि एकता गरेको हो, सरकारको लागि थोरै हो ? हामी माग, मुद्दाको लागि सरकारसँग कुरा गरिरहेको हो । कतिलाई यो कुरा पचेको छैन । कसलाई गर्ने सबै उही त हो, देउवा होस्, ओली होस्, प्रचण्ड होस् सबै उस्तै त हो ।

त्यसो भए माग र मुद्दाका लागि एक भएका तपाईंहरू सत्ताका लागि फुट्नुहुने भयो ?

सत्ताका लागि फुट्ने प्रयास गरेको देखियो । त्यस्तोलाई कारबाही हुन्छ । पार्टी फोरुवालाई पार्टीले कारबाही गर्छ । पार्टी फुटाउन हुँदैन, मिल्दैन । वैकल्पिक शक्ति निर्माण गर्ने, शोषित उत्पीडित जनताको लागि, बहुल राष्ट्रिय राज्य निमार्णका लागि, राष्ट्रिय मुक्ति आन्दोलन, सुशासन, समृद्धि, अधिकार, पहिचानलगायतका लागि हामीले गठन गरेको पार्टी हो । त्यत्रो मिहिनेत गरेर पार्टी गठन गरियो तर कुर्सीका लागि अस्ति पनि दौडिदौडी केपी ओलीसँग गएको होइन उपेन्द्र यादव ? आन्दोलनको एजेन्डा थियो, जबसम्म माग पूरा हुँदैन सरकारमा नजाने । अनि दुई बुँदे गरेर दौडीदौडी गए । हामी भन्दै थियौं नजाऊ, एउटा माग पनि पूरा गर्दैनन् । आखिर गरेनन् ।

आज त हामी सरकारमा छैनौं तर घुँडा टेकाएर माग पूरा गराइरहेका छौं । माग पूरा गरेन भने हुँदैन भनिरहेको हो । त्यत्रो जनतासँग बेइमानी गर्नु हुँदैन । आन्दोलनमा मान्छे सहादत भएको छ, मरेको छ अनि त्यसको रगतसँग बेइमानी गर्ने ? त्यत्रो कार्यकर्ता अपांग भएको छ, अर्कोको नोक्सान भएको छ । ६ महिनासम्म आन्दोलन भएको थियो । नाकाबन्दीको अपजस भोग्नुपरेको थियो मधेसले, देशको जनताले दुःख पाएको थियो, किन गरिस् नाकाबन्दी भनेको थियो हामीलाई । त्यो त मिसनको लागि थियो नि । देश र जनतालाई तकलिफ हुने अनि आन्दोलन गर्ने चाहिँ सबैथोक छोडेर कुर्सीका लागि केपी ओलीसँग गएको होइन ? अहिले देउवाकहाँ दौडेको होइन कुर्सीका लागि ? खाली कुर्सीका लागि पैदा भएको हो ? यो हुन सक्दैन ।

जसपा फेरि दुई भागमा विभाजन हुने हो ?

होइन । जसपा कुनै खास उद्देश्यको लागि एकता भएको हो । कसैको सत्ता स्वार्थको लागि कोही पनि फुट्ने वाला छैन । उपेन्द्र यादवको सत्ता लिप्साको लागि यो पार्टीको हिमाल, पहाड, तराई, मधेसका हजारौं कार्यकर्ता पार्टी फोड्न तयार छैन । सत्ताको लागि पार्टी विभाजन गर्न कोही नेता, कार्यकर्ता तयार छैन ।

जसपालाई नै सरकारको नेतृत्वको अवसर आयो भने के गर्नुहुन्छ ?

त्यो त हाम्रो एजेन्डा नै बनिसकेको छैन । यसमा फेरि सत्तालिप्सा देखाउनुहोला तर त्यो हाम्रो एजेन्डा बनिसकेको छैन । हाम्रो सानो पार्टी हो, सत्ताको नेतृत्वका लागि कसैले प्रस्ताव गर्‍यो भने त्यतिबेला पार्टीमा छलफल गरौंला । अहिले त देउवा आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा गरिरहेका छन् अनि कहाँ जसपालाई नेतृत्वको कुरा आयो ? अनि हामी मौकामाथि चौका हान्न जाने ?

जसपाको तपाईंहरूको पक्षले सरकारलाई समर्थन नदिने हो भने विपक्षी गठबन्धनले अर्को विकल्पका रूपमा एमालेको झलनाथ खनाल र माधव नेपालतिर हेरिरहेको देखिन्छ । त्यता गठबन्धन बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

यो गठबन्धन सरकार माधव नेपाल पक्षको समर्थन वा राजीनामाले बन्दैन । माधव नेपालको न समर्थन न राजीनामाले यो सरकार बन्न सक्छ । यो गठबन्धन सरकार बन्नलाई पार्टी चाहिएको हो । र, पार्टीको बहुमतको सदस्य चाहिएको हो । माधव नेपाल भनेको पार्टी होइन । पार्टी बनाउनुपर्‍यो माधवजीले ।

पार्टी बनिसकेपछि मात्रै उहाँको संख्या काम लाग्छ, संविधानको धारा ७६ (२) अनुसारको सरकार बन्नको लागि । पार्टी बनाउन तीन महिना लाग्छ, तीन दिनमा हुँदैन त्यो हामीलाई थाहा छ । निर्वाचन आयोगले तीन महिना लाइदिन्छ, कानुन त्यस्तै छ गर्ने के त ! त्यसैले माधव नेपालको राजीनामा वा समर्थनमा यो वैकल्पिक सरकार बन्ने अवस्था देख्दैन ।

त्यसोभए जनता कोरोनाको मारमा परिरहेका बेला राजनीतिक दलहरू सत्ताको गोटी यता र उता गर्नमै व्यस्त हुने भए है ?

यहीँ त भइरहेको छ । जनता मरिरहेको छ, यहाँ कुर्सीको लागि लडाइँ भइरहेको छ । यो तीन सालदेखि के भइरहेको छ ? कम्युनिस्ट पार्टीलाई जनताले त्यत्रो मत दिएको यसैका लागि हो ? कम्युनिस्ट पार्टीलाई मत अधिकार, सुशासनको लागि दिएको थियो नि, तर कुर्सीको लडाइँ गरेको होइन ? कोरोना भएको एक साल भयो, जनता मरेको मर्‍यै छ, यिनीहरू लडेको लड्यै छ । अहिले पनि त्यै भइरहेको छ ।

अहिलेको अवस्थामा जसपा फुटको औपचारिक घोषणा हुन बाँकी हो कि एकताको आश कतै बाँकी छ ?

फुटको त सम्भावना देख्दैन । पार्टी फुटाउनेलाई पो कारबाही गर्ने हो । कसैको सत्ता स्वार्थको लागि पार्टी कसले फुटाउछ ? कुन जनता जान्छ त्यता ? कोही जानेवाला छैन त्यस्ताका पछि ।

प्रकाशित : वैशाख २८, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?