अहिलेको अवस्थामा जसपा सरकारमा जाँदा मधेश आन्दोलनको मर्म र भावनाप्रतिकूल हुन्छ : ठाकुर

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताएका छन् ।

अहिलेको अवस्थामा जसपा सरकारमा जाँदा मधेश आन्दोलनको मर्म र भावनाप्रतिकूल हुन्छ : ठाकुर

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको प्रतिक्रिया आएको हो ।

केन्द्रीय अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताप्राप्तिभन्दा पनि एजेन्डाको सम्बोधनको विषयमा केन्द्रित भएको बताएका छन् । उनले जसपा नेपाल केपी शर्मा ओली नेतृत्वको सरकार र वैकल्पिक सरकार दुवैमा सहभागी नहुने बताएका छन् ।

उनले अहिलेको अवस्थामै सरकारमा सहभागी हुनु भनेको पार्टीको उद्देश्य र मधेस आन्दोलनको मर्म र भावनाको प्रतिकुल हुने पनि बताएका छन् । साथै उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सकारात्मक ढंगले काम अगाडि बढाइरहेको पनि बताएका छन् ।

यसैबीच जसपाका स‌ंघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अहिले बल पार्टीहरुको कोर्टमा रहेको बताएका छन् । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्ने पनि उनले बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!'

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकिसकेकी छिन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रयास गरेका छन् तर बहुमत संख्या प्रस्ट नहुँदा वैकल्पिक सरकार बन्ने सुनिश्चितता भने देखिएको छैन ।

ओली पदमुक्त भएलगत्तै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका छन् । ओलीले विश्वासको मत गुमाउनासाथ देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्तिमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार निर्माणका लागि संविधानको धारा ७६ (२) को प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि मौका दिएपछि विपक्षीलाई आफ्नो पक्षमा बहुमत जुटाउने चुनौती बढेको छ । एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह वा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई तान्न सकेमात्रै विपक्षी गठबन्धनमा बहुमत पुग्न सक्छ । खनाल–नेपाल समूहले ओलीलाई विस्थापित गर्न विपक्षी गठबन्धनलाई सघाउने भन्दै सोमबार विश्वासको प्रस्तावमाथिको मतदानमा पार्टी ह्वीप उल्लंघन गर्दै अनुपस्थित भएका थिए ।

प्रकाशित : वैशाख २८, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?