जगरनाथपुरमा १० दिनमा ११ को मृत्यु : चार जनालाई कोराेना पुष्टि, बाँकीलाई पनि उस्तै लक्षण

गाउँभरि कोरोनाकै जस्तो लक्षणका बिरामी भएकाले चिकित्सक पठाउन स्वास्थ्य प्रमुखको माग
भूषण यादव

वीरगन्ज — पर्साको जगरनाथुपर गाउँपालिका १ निवासी ३५ वर्षीय युवकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले गत वैशाख २१ मा नारायणी अस्पताल पुर्‍याए । एन्टिजेन परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि ती युवालाई आइसोलेसन वार्डमा राखेर उपचार थालियो ।

जगरनाथपुरमा १० दिनमा ११ को मृत्यु : चार जनालाई कोराेना पुष्टि, बाँकीलाई पनि उस्तै लक्षण

उपचारकै क्रममा मंगलबार बिहान करिब ६ बजे उनको मृत्यु भएको अस्पतालका कोरोना संयोजक डा.सरोज रोशन दासले जनाए । अन्य रोग नभएका ती युवकको कडा निमोनियाकै कारण मृत्यु भएको दासले बताए । ती युवकसहित जगरनाथपुर गाउँपालिकामा पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ४ जनाले मात्र कोरोना परीक्षण गराएका थिए । मृत्यु भएका ७ जना एउटै टोलका छन् ।

गाउँपालिका स्वास्थ्य प्रमुख प्रभेन्द्रप्रसाद साहले सोमबार स्वास्थ्य कार्यालय पर्सा, नारायणी अस्पताललाई पत्राचार गरी गाउँमा सयौँको संख्यामा ज्वरोको बिरामी देखिएको जनाउँदै विज्ञसहितको चिकित्सक टोली खटाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् । साहका अनुसार जगरनाथपुर गाउँपालिका– ५ चिलझपटीमा टोलमा वैशाख २० देखि २७ सम्ममा ७ जनाको मृत्यु भएको छ । ‘घरैपिच्छे सयौँको संख्यामा ज्वरोका बिरामी छन्,’ उनले भने, ‘जिल्लाबाट विज्ञ टोली पठाई उपचार तथा नियन्त्रणमा सहयोग गर्न पत्राचार गरेका छौँ ।’ स्वास्थ्य शाखाका अनुसार मृत्यु भएका ४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि उनीहरुको परीक्षण गरिएको थिएन् ।

जगरनाथपुर– ३ जमुनियाका श्रीकान्त यादवले घर घरमा ज्वरोका बिरामीका कारण अवस्था भयावह बनेको बताउँछन् । ‘गाउँपालिकाले न त परीक्षण नै गर्न सकेको छ,’ उनले भने, ‘न त जनचेतना नै फैलाएको छ । ज्वरोका बिरामीले औषधिसमेत पाएका छैनन् । गाउँपालिकाले हालसम्म आइसोलेसन सेन्टर पनि बनाएको छैन । कडा ज्वरो आए पनि कोरोना परीक्षण गरिएको छैन । स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियालाई पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार मंगलबार जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जगरनाथपुर गाउँपालिकामा पठाइएको छ । ‘स्वाब र एन्टिजेन परीक्षण गरिने छ,’ प्रजिअ घिमिरेले भने, ‘सिकिस्त विरामीलाई एम्बुलेन्समा राखेर वीरगन्ज ल्याउँछौँ ।’ गाउँमा आवतजावत कम गर्न गाउँपालिका प्रमुख र प्रहरीसँग समन्वय भइरहेको उनले जनाए ।

प्रकाशित : वैशाख २८, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?