गण्डकीमा को बन्ला मुख्यमन्त्री ?

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए राजीनामा, नयाँ सरकार बनाउन सत्तापक्ष र विपक्षी मोर्चा आ–आफ्नै रणनीतिमा

पोखरा — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै गण्डकीमा नयाँ सरकार गठनको कसरत सुरु भएको छ । सरकार गठनका लागि सत्तापक्ष र विपक्षी मोर्चा आआफ्नै रणनीतिमा सक्रिय छन् । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । कोरोना संक्रमण भएकाले उनी आइसोलेसनमै छन् । 

गण्डकीमा को बन्ला मुख्यमन्त्री ?

प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनको आह्वान गरेकी छन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । गण्डकी प्रदेशसभामा एउटै मात्र दलले सरकार गठन गर्न सक्ने अवस्था छैन ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले वैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमाथि वैशाख १५ मा मतदान हुने कार्यसूची रहेकामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालीन स्थगन गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने तय भएको थियो ।

राजीनामा दिँदै मुख्यमन्त्री गुरुङले प्रतिपक्षी दललाई समेत विश्वास लिई सरकार सञ्चालन गर्ने संस्कार विकास गर्दै तीन वर्षमा प्रदेशवासीलाई अनुभूति हुने गरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला बनाएको बताएका छन् । प्रदेशमा स्थिरता नचाहने र विकासविरोधी तत्त्वहरूको अराजनीतिक चलखेल हुनुका साथै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलबाट समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना भएकाले मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको उनले जनाएका छन् । ७ पृष्ठ लामो राजीनामा वक्तव्यमार्फत उनले तीन वर्षमा भएका उपलब्धिको फेहरिस्त सार्वजनिक गरेका छन् ।

एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले अब पनि बहुमत जुटाउने कोसिस रहने बताए । ‘विधि र प्रक्रियाअनुसारै अघि बढ्ने हो । त्यसमा को पास र फेल हुन्छ, पछि नै थाहा हुन्छ,’ उनले भने । प्रदेशसभामा ठूलो दल एमालेका २७ सांसद छन् ।

अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दल नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको थियो तर मुख्यमन्त्री गुरुङको राजीनामासँगै त्यो प्रस्ताव निष्क्रिय भएको छ । विपक्षी मोर्चाबाट सरकार बनेको खण्डमा पोखरेल नै मुख्यमन्त्री हुनेछन् । उनले सोमबारै चारदलीय गठबन्धनबाट ३१ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष जाने बताए । ‘मुख्यमन्त्री गुरुङ संसद्मा अविश्वास प्रस्ताव फेस गर्न नसकेर भाग्नुभयो,’ उनले भने, ‘अझै पनि चलखेल गर्न सकिन्छ कि भन्ने मानसिकतामा रहेको पायौं ।’

माओवादी केन्द्रका संसदीय दल नेता हरिबहादुर चुमानले राजीनामा छलछाम र षड्यन्त्रका रूपमा पनि आएको हुनसक्ने उल्लेख गर्दै सोमबारै आफ्नो गठबन्धनले बहुमत पुर्‍याउने दाबी गरे । ‘राष्ट्रिय जनमोर्चाका ३ सांसदको समर्थन रहने भनेरै हामीले अविश्वासको प्रस्ताव अघि सारेका थियौं, अब पनि यो कायमै रहन्छ,’ उनले भने । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले अविश्वास प्रस्ताव पारित हुने देखेर मुख्यमन्त्री गुरुङले राजीनामा दिएको बताए । ‘अब चारदलीय गठबन्धनबाटै सरकार बन्छ,’ उनले भने ।

जनमोर्चाले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने निश्चित छ । राजमोका तीन सांसद छन् । गुरुङ सरकारलाई विश्वासको मत दिएको राजमोलाई दुवैतर्फबाट (गुरुङ सरकार र विपक्षी गठबन्धन) मन्त्रीको अफर आइरहेको छ । तर जसलाई समर्थन गरे पनि सरकारमा नजाने राजमोको अडान कायमै छ ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?