पालिकामै एचडीयू

परासी/रूपन्देही/नेपालगन्ज — अस्पतालमा भर्ना हुन नसकेरै संक्रमितको ज्यान जाने क्रम बढेपछि लुम्बिनी प्रदेशका स्थानीय सरकार उपचार र चिकित्सक टोलीको व्यवस्था गर्न जुर्मुराएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले १० बेडको एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सहितको अस्पताल निर्माण गरेको छ । त्यसमा अक्सिजन जडान गरिएका २० बेड पनि छन् । अस्पताल निर्माणका लागि नगरपालिकाले ७० लाख रुपैयाँ खर्च गरेको छ । 

पालिकामै एचडीयू

जिल्ला अस्पतालमा अक्सिजनजडित बेड नहुँदा यहाँका संक्रमितलाई रूपन्देही वा चितवन जानुपर्ने बाध्यता छ । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । सुनवल नगर प्रमुख भीमबहादुर थापाले अस्पतालमा अरू उपकरण पनि जडान गर्ने तयारी रहेको बताए । एचडीयूका लागि सर्वोत्तम सिमेन्ट प्रालिले आर्थिक सहयोग गरेको छ । ‘गम्भीर संक्रमितले मृत्युवरण गर्नुपर्ने अवस्था आयो,’ थापाले भने, ‘त्यसैले सुविधायुक्त उपचार केन्द्र स्थापना गरेका हौं ।’ नगरका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद न्यौपानेले जिल्लामै पहिलोपटक नगरपालिकाले एचडीयू जडान गरेर सेवा सुरु गरेको बताए । ‘आइसोलेसनमा एक जना चिकित्सक र ४० जना स्वास्थ्यकर्मी छन्,’ उनले भने, ‘चौबीसै घण्टा सेवा दिने हाम्रो तयारी छ ।’

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अक्सिजन र स्वास्थ्यकर्मीको अभाव रहेका बेला रूपन्देहीका पालिकाले भने अस्थायी अस्पताल बनाएर एमबीबीएस चिकित्सकसहितको सेवा प्रदान गरिरहेका छन् । त्यसबाट होम आइसोलेसनमा बसेका र न्यून लक्षण देखिएका संक्रमितको उपचार सहज भएको छ । यसै वर्ष एमबीबीएस पढाइ सकेका तिलोत्तमा–१४, मधवलियाका डा. विमल शर्मा सैनामैना नगरपालिकाले सञ्चालन गरिरहेको कोरोना अस्थायी अस्पतालमा कार्यरत छन् । गत वर्ष कोभिड–१९ कै बेला इन्टर्न पूरा गरेकाले अहिले डर नलागेको उनले बताए । अस्पतालमा ५० वटा बेड छन् । जसमध्ये तीनवटा मनिटरसहितका (एचडीयू) बेड हुन् । अन्यमा आवश्यकताअनुसार अक्सिजन जडान गरिएको छ । अस्पतालले आईसीयू वा भेन्टिलेटर चाहिने बिरामीलाई मात्र रेफर गरिरहेको छ । शर्मा ११ दिनदेखि लगातार संक्रमितको उपचारमा सक्रिय छन् । ‘पीपीईभित्रको गुम्साहट, भोक, तिर्खा बिर्सेर काम गरिरहेका छौं,’ उनले भने, ‘बिरामी निको भएपछि मिल्ने सन्तुष्टिले पीडा भुल्छौं ।’

देवदह नगरपालिकास्थित आइसोलेसनमा कार्यरत डा. किरण गुप्ता दिनरात संक्रमितको उपचारमा खटिरहेका छन् । पश्चिम नवलपरासीको रामग्राम–७ का उनको कोरोना उपचार अनुभव पहिलो हो । ‘महामारीले गम्भीर बनाउला, मृत्युको मुखमा पुर्‍याउला भन्ने लागेको थिएन,’ उनले भने, ‘बिरामीको चीत्कार सुन्दा पीडा हुन्छ ।’ आइसोलेसनमा पनि बिरामीको चाप छ । कुनै व्यक्तिलाई भर्ना गरेर उपचार गरिन्छ । केहीलाई तत्कालै रेफर गर्नुपर्ने हुन्छ । ‘यहीं आईसीयू, भेन्टिलेटर थप्न सके रेफर गर्नु पर्दैन,’ उनले भने, ‘एक्सरे र प्रयोगशाला हुने हो भने धेरैलाई यहीं निको बनाउन सकिन्छ ।’ आफूभन्दा नर्सले बढी तनाव सहनुपरेको उनले बताए । तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा खटिएका डा. विनोद बढईले गम्भीर लक्षण नदेखिएका बिरामी छिटो निको हुने बताए । ‘सकभर बिरामीलाई रेफर गर्न मन लाग्दैन,’ उनले भने, ‘धेरै लक्षण देखिएका बिरामीलाई सुविधा भएका अस्पतालमा पठाउँछौं ।’

तिलोत्तमामा दुईवटा अस्पताल सञ्चालनमा छन् । नगर प्रमुख वासुदेव घिमिरेले पालिकाले स्रोतबाट उपकरण खरिद गर्न चाहे पनि जनशक्ति अभाव हुँदा समस्या भएको बताए । ‘भवन र स्रोत साधन व्यवस्थापन गर्न तयार छौं,’ उनले भने, ‘जनशक्ति पूर्ति हुने हो भने आईसीयू बेड र अन्य सेवामा लगानी गर्छौं ।’ स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा चिकित्सकीय सेवा भएपछि सामान्य लक्षण भएका संक्रमितलाई सहज भएको छ ।

स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन सेन्टर र अस्थायी अस्पतालमा होम आइसोलेसनमा रहेर स्वास्थ्य समस्या भएका बिरामी आउँछन् । केही त्यहींबाट निको भई घर फर्कन्छन् । आईसीयू र भेन्टिलेटर आवश्यक पर्नेलाई रेफर गरिन्छ । कोरोना अस्पतालसरह सुविधा थप्ने हो भने आइसोलेसनमै धेरैको ज्यान जोगाउन सकिने चिकित्सकहरू बताउँछन् । सियारी गाउँपालिकाका डा. सागर न्यौपानेले बिरामी बचाउन स्तरीय मास्क, सिक्याब मेसिन, आईसीयू, भेन्टिलेटर खाँचो रहेको बताए । स्थानीय तहले सुरु गरेका अस्थायी अस्पताल र आइसोलेसन सेन्टरलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए ।

चिकित्सकसहित घरघरै

अक्सिजन र बेड अभाव रहेको जनाउँदै भेरी र नेपालगन्ज शिक्षण अस्पतालले भर्ना गर्न नसक्ने जनाएपछि संक्रमितको बिचल्ली भयो । त्यसपछि नेपालगन्ज उपमहानगरपालिकाले रामलीला मैदानस्थित नारी उत्थान केन्द्रमा आइसोलेसन अस्पताल बनायो । आइसोलेसन सेन्टरमा चाहिने अक्सिजन सिलिन्डर खोज्न नेपालगन्ज उपमहानगर प्रमुख धवलशमशेर राणा आफैं हिँडे । अस्पतालबाहेक क्षेत्रमा प्रयोग भएका सिलिन्डर संकलन गरिए । ‘अक्सिजनसहितको कोरोना वार्डमा चिकित्सक राखेर सेवा दिएका छौं । अहिले प्रत्येक वडालाई १०/१० लाख रुपैयाँ दिएका छौं,’ उपमहानगर प्रमुख राणाले भने, ‘आफैं अक्सिजन उत्पादन गर्न सक्दैनौं । गर्जो टार्न खटिएका छौं ।’

उपमहानगरले रामलीला मैदान, वडा ४ र वडा २० स्थित होटल ह्वाइटहाउसमा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । अस्पताल बिरामीले भरिएपछि नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजाल होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकसहित घरघरै पुगिरहेका छन् ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. पारस श्रेष्ठ, स्टाफ नर्स सुमन गिरीलगायतको टोलीले उक्त वडाका संक्रमितसित शनिबार भेटघाट गरेको हो । होम आइसोलेसनमा बसेकाको अक्सिजन लेभल नियन्त्रणमा राख्न दैनिक निगरानी आवश्यक हुने डा. श्रेष्ठले बताए । वडाध्यक्ष रिजालले संक्रमितलाई अक्सिमिटर, थर्ममिटर र आवश्यक पर्ने औषधि दिइएको बताए ।

प्रकाशित : वैशाख २७, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?