नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम'

काठमाडौँ — नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम' दिएको छ ।

नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको 'अल्टिमेटम'

आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टी एकतालाई जोगाउने, सहमतिका आधारमा पार्टी चलाउने मुख्य जिम्मेवारी अध्यक्षकै रहेको निष्कर्ष बैठकको रहेको छ ।

प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु सहभागी बैठक झण्डै साढे ३ घण्टा चलेको थियो । अध्यक्ष ओलीबाट आफूहरुले भनेबमोजिम नभए कठोर निर्णय लिइने नेता भट्टराईले बताए । 'हामी भोलि बिहान ९ बजेसम्म पर्खन्छौं । अध्यक्ष केपी शर्मा ओलीको जवाफ आएपछि राजीनामा दिनुपर्ने, 'फ्लोरक्रस' के गर्ने भन्ने निर्णयमा पुग्नेछौं,' उनले भने, 'ओलीले सबै माग पूरा गर्नुभयो भने हामी सरकारको पक्षमा विश्‍वासको मत दिन्‍छौं ।'

नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वास मत लिँदै छन् । जसका लागि संसद् अधिवेशन दिउँसो १ बजेका लागि आह्वान भएको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध ओलीले पार्टीमा एकलौटी गरेको र सच्याउन नमानेको भन्दै नेपाल पक्षका सांसदहरु राजीनामा दिने मुडमा आइतबार दिँउसो संसद् सचिवालय सिंहदरबारमा भेला भएका थिए । तर ओलीले आफ्नो समूहको प्रतिनिधित्व गराउँदै नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई नेता नेपालसँग छलफल गर्न सिंहदबार पठाएका थिए । नेता नेपाल, नेम्वाङ् र पौडेलबीच छलफलपछि सांसदहरुको राजीनामा रोकिएको हो ।

ओली पक्षीय नेताहरुसँगको छलफलपछि नेता नेपालले आफू निकटका सांसदहरुको बैठक सिंहदरबारमै बसाएका थिए ।

प्रकाशित : वैशाख २६, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?