१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाबुराम-उपेन्द्र समूहले विश्वासको मतको विपक्षमा मतदान गर्ने

बबिता शर्मा

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।

बाबुराम-उपेन्द्र समूहले विश्वासको मतको विपक्षमा मतदान गर्ने

आइतबार संघीय परिषद् अध्यक्ष भट्टराईको निवासमा बसेको शीर्ष ६ नेताहरुको बैठकले पार्टीले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने सर्वसम्मतिले निर्णय गरेको थियो ।

त्यसलगत्तै त्यहीं बसेको भट्टराई र यादवपक्षका नेताहरुको अनौपचारिक बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

‘तटस्थ रहन चाहनेले तटस्थ रहन पायो । विश्वास भएकाहरुले विश्वासको मत दिन पनि पायो । हामीले विश्वासको मतको विपक्षमा मतदान गर्छौं । त्यसबारे पहिला नै निर्णय गरिसकेका छौं,’ श्रेष्ठले भने, 'हामीले किन विश्वास गर्दैनौं भने प्रधानमन्त्री केपी ओली इतिहासमा नै सबैभन्दा धेरै पश्चगामी दृष्टिकोण भएको, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातीक, समावेशिता, धर्मनिरपेक्षलगायतका परिवर्तनका एजेण्डाहरुको विपक्षमा उभिदैं आएको हुँदा उहाँलाई विश्वासको मत दिन सक्दैनौं ।’

आफ्नो पक्षका १८ सांसदले विपक्षमा मतदान गर्ने श्रेष्ठले बताए । उनका अनुसार बैठकमा महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर, भट्टराई र यादव पक्षले तटस्थ बस्न नहुने अडान लिएपछि सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने सर्वसम्मतिले निर्णय भएको हो ।

एमालेको माधवकुमार नेपालपक्षका सांसदले राजीनामा दिएभने जसपाले पक्षमा मतदना गरे पनि ओलीले विश्वासको मत संख्या नपुग्ने निश्कर्षपछि सांसदहरुलाई विवेक प्रयोग गर्ने निर्णय भएको हो । नेता श्रेष्ठका अनुसार यो निर्णयले जसपा विभाजन हुनबाट रोकिएको छ । बैठकपछि भट्टराईले भनेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं ।’

उता पूर्वराजपा पक्षका एक नेताले केही सांसदले विश्वासको पक्षमा मतदान गरे पनि अधिकांश सांसद तटस्थ बस्ने जानकारी दिए ।

आइतबार बिहान जसपा अध्यक्ष र वरिष्ठ नेता महतोले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शीर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने तर तटस्थ बस्ने बताएका थिए ।

देउवासँगको भेटमा पनि ठाकुर र महतोले ओलीलाई विश्वासको मत नदिने तर त्यसपछि बन्ने सरकारलाई पनि समर्थन गर्न नसकिने जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्‍मा एमालेका १ सय २१ सांसद छन् । विश्वासको मत पाउन १ सय ३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् । नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले राजीनामा दिएमा एमालेको सांसद संख्या पनि घट्ने छ ।

प्रकाशित : वैशाख २६, २०७८ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?