जसपाले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने

कुलचन्द्र न्यौपाने

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को शीर्ष नेताको बैठकले सोमबार हुने सरकारलाई विश्वासको मतको मतदानमा आफ्ना सांसदहरुलाई ह्विप जारी नगर्ने निर्णय गरेको छ ।

जसपाले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने

पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वत्रन्त्र छोड्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने स्पष्ट पारेका थिए । देउवासँगको भेटमा पनि ठाकुर र महतोले ओलीलाई विश्वासको मत नदिने तर त्यसपछि बन्ने सरकारलाई पनि समर्थन गर्न नसकिने जवाफ दिएका थिए । तर, शिर्ष नेताको बैठकले पक्ष विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद अपुग हुन्छन् ।

तर, एमालेकै माधवकुमार नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपालपक्षका सांसदहरुले राजीनामा दिए जसपाका सबै सांसदले ओलीलाई विश्वासको मत दिएपनि संख्या पुग्दैन । जसपामा हाल ३२ जना सांसद छन् । त्यसमध्ये पनि बाबुराम भट्टराई र उपेन्द्र यादवसमूह नयाँ गठबन्धनको पक्षमा छन् । विपक्षीमा रहेका कांग्रेस, माओवादी विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?