गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान- समाचार - कान्तिपुर समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन् । केही बेरअघिमात्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीविरुद्ध सोमबार अविश्वास प्रस्तावमा मतदानको प्रक्रिया सुरु हुँदै थियो । त्यसको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले राजीनामा दिएकाले हालसम्म उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिएकी छन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी छन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि सरकारले बैशाख १ को मध्यरातिबाटै चालु हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालीन स्थगीत गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो । उनले राजीनामा दिएका हुन् ।

प्रकाशित : वैशाख २६, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितका घरमै औषधि पुर्‍याउँदै राजविराज नगरपालिका

अवधेशकुमार झा

राजविराज — कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई राजविराज नगरपालिकाले आइतबारदेखि घरमै औषधि पुर्‍याउन सुरु गरेको छ । नगरप्रमुख शम्भुप्रसाद यादव संक्रमितका घर–घरमा आफैं पुगी औषधि वितरण थालेका हुन् । 

कोरोना संक्रमण पुष्टि भए पनि अवस्था सामान्य रहेका कारण होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण सुरु गरिएको हो । वितरित औषधिमा सिटामोल, भिटामिन बी, सि, डि र इ, जिंक चक्की र जीवनजल छन् । एकजना संक्रमितलाई करिब एक हजार रुपैयाँ बराबरको औषधि वितरण गरिएको मेयर यादवले बताए ।

‘संक्रमित रहेका घरमा अन्य मानिससमेत कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाले बाहिर निस्कनसक्ने अवस्था नरहेको, केही घरमा परिवारका सबैजना संक्रमित भएका कारण कोही औषधि लिन नसक्ने भएकाले हामीले नै औषधि पुर्‍याउने प्रयास गरेका हौं,’ यादवले भने ।

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि राजविराज नगरपालिकामा मात्र एक २५ जना संक्रमित भएका छन् । तीमध्ये १ सय १५ जना होम आइसोलेसनमै रहेको नगरपालिकाले जानकारी दिएको छ । आइतबार नै गजेन्द्रनारायण सिंह अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पनि राजविराज नगरपालिकाले ती औषधिहरु दिएको छ । अस्पतालमा अहिले २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसैबीच सोमबारबाट राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैय्याको कोभिड अस्पताल समेत संचालनमा आउने भएको छ । अहिले कोरोनाका बिरामीहरुका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा २५ शैय्याको एचडियु युनिटमात्र रहेको थियो । ‘संक्रमित बढ्दै गएकाले साइकृष्णामा पनि शैय्या थप गरि सञ्चालनमा ल्याउन लागिएको हो,’ गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले भने ।

प्रकाशित : वैशाख २६, २०७८ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×